नयाँ संविधान जारीपछि नयाँ प्रधानमन्त्रीको चयन एकछिनपछि सुरु हुँदै
काठमाडौँ, २४ असोज । नेपालको नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री पदको निर्वाचन अहिले केही बेरमा व्यवस्थापिका–संसद् भवन बानेश्वरमा सुरु हुँदैछ ।
सो पदको प्रतिस्पर्धामा संसद्मा सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेसका सभापति सुशील कोइराला र दोस्रो दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली उत्रनुभएको छ । गत मङ्सिर महिनामा सम्पन्न संविधानसभाको निर्वाचनमा पहिलो दलमा नेकाँ र दोस्रो दलमा नेकपा (एमाले)लाई जनताले निर्वाचित गराएका थिए ।
नयाँ संविधान लेखनमा दुई दलबीच रहँदै आएको मित्रवत् सम्बन्धमा प्रधानमन्त्रीको कुर्सी कसले प्राप्त गर्ने होडसँगै केही सङ्कुचित बनाइदिएको छ । दुवै नेताले लोकतन्त्रको अभ्यासका लागि दलको निर्णयअनुसार आफूहरू प्रतिस्पर्धामा उत्रेको बताएका छन् ।
लोकतान्त्रिकको अति सुन्दर पक्ष चुनावी मैदानमा जसले हारे वा जिते पनि एकअर्कालाई सम्मानका साथ सहयोग र समर्थन गर्ने बचन उहाँहरूले दिइसक्नुभएको छ । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसद् बैठक अहिले ११ बजेका लागि डाकिएको छ ।
संसद्को बैठकमा प्रधानमन्त्रीको पदमा उम्मेदवारी दर्ता गराउनुभएका उम्मेदवार, प्रस्तावक र समर्थनकर्ताले आ–आफ्नो धारणा राखिसकेपछि मतदान प्रक्रिया सुरु हुनेछ ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका सभापति कोइरालालाई पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा प्रस्तावक र उपसभापति रामचन्द्र पौडेल समर्थक बस्नुभएको छ ।
त्यस्तै एमालेका अध्यक्ष ओलीलाई एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक रहेर सघाउनुभएको छ भने राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत १७ दलको समर्थन रहेको छ ।
0 comments:
Post a Comment