अस्पतालको गुरुयोजना अन्तिम चरणमा
इलाम, २९ असोज । इलाम अस्पतालको स्तरवृद्धिसँगै यसलाई स्वास्थ्यको हब बनाउने लक्ष्यका साथ सुरू गरिएको अस्पतालको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला अस्पताल हाल २५ श्ययाबाट वृद्धि भई ५० श्ययासँगै इलाम अस्पतालको रूपमा चिनिएको छ ।
सरकारबाट ५० शै्यया अनुमति पाइसकेको अस्पतालको स्तरोन्नतिका लागि जग्गा पर्याप्त नरहेको गुरुयोजना निर्माण कार्य दलका संयोजक सिनियर इञ्जिनियर सुरेश नेम्बाङले बताउनुभयो । “इलामलाई स्वास्थ्यको हब बनाउने लक्ष्यका साथ गुरुयोजना बनाउन थालिएको र अहिले केही जग्गा अपुग भएको छ, कार्यदलका संयोजक नेम्बाङले भन्नुभयो ।”
अस्पतालको स्वामित्वमा रहेको ३२ रोपनीमध्ये केही भिरालो र खोल्सी भएकाले आवश्यक संरचना विस्तारका लागि जग्गा अभाव भएको हो । इलाम अस्पतालका रूपमा कार्यान्वयन भएपछि यहाँ विशेषज्ञसहित १६ जना चिकित्सक रहने जनाइएको छ । “अहिले भएको भवनले नयाँ उपकरण राख्न स्थान पुग्दैन” उहाँले भन्नुभयो “उपयोगका दृष्टिले कतिपय भवन भत्काएर नयाँ बनाउनुपर्ने देखिएको छ ।” प्रत्येक भवनमा पुग्न सडक बनाउनुपर्ने गुरुयोजनामा उल्लेख गरिएको छ ।
अस्पतालको पुरानो भवन भत्काएर इमर्जेन्सीसहितको ट्रमा सेन्टरको रूपमा विकास गर्न कार्यदलले गुरुयोजनामा समेटिएको छ । इलाम अस्पतालको स्तरोन्नतिका लागि भौतिक संरचना बनाउन रु २५ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ । गुरुयोजनामा भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ । स्तरोन्नतिका लागि प्राथमिकता निर्धारण गरेर चार चरणको कार्यक्रम प्रस्ताव गरिएको छ ।
एकैपटक बनाउँदा स्रोत साधनको अभाव हुने भएकाले यस्तो प्रस्ताव गरिएको हो, उहाँले भन्नुभयो । इलाम अस्पतालमा पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सर्वसाधारणले सेवा लिइरहेका छन् ।
0 comments:
Post a Comment