छमेकी भारतबाट यस्तो व्यवहार पाउनु परेकोमा हामीलाई खेद छ – ईश्वर पोखरेल, महासचिव–नेकपा एमाल
० प्रतिस्पर्धी पार्टीसंँगै सरकारमा बस्न सकिंदैन संसदीय व्यवस्थामा ?
– यस्तो तर्क म पहिले देखि नै सुन्दै छु । यो एउटा सामान्य अवस्थामा अभ्यास गरिरहेको संसदीय प्रणालीको अवस्थामा हामी छैनांै । एउटा यस्तो विषेश स्थितिबाट हामी गुज्रिराखेका छौं जसमा मुलुकका प्रमुख जिम्मेवार पार्टीहरु सहमतिका साथ अघि जान जरुरी छ । जस्तो भनौं संविधान जारी त भयो तर कार्यन्वयनको लागि दलहरु एकताबद्ध भएर जानुपर्ने आवश्यकता छ एक । दोस्रो यो संविधान अन्र्तगत पुरै ऐन कानुनहरु बनाउनु पर्नेछ । सहमतिका साथ जानुपर्ने छ । तेस्रो कुरा भनेको हामीले भूकम्प पछिको पुर्ननिर्माणको ठूलो अभियानको कुरा गरेका छौं । म प्रष्ट भन्न चाहन्छु यसमा पनि कुनै दल विशेषको स्वार्थको कुरा गरेर मात्रै हुँदैन दलहरुको बीचमा एउटा स्पष्ट समझदारी हुनुपर्दछ । र चौथो कुरा भनेको आज हामी भारतीय पक्षबाट, तपाईंहरु अघोषित नाकाबन्दी भन्नु हुन्छ म भने घोषित नै भन्छु, यस्तो अवस्थामा पनि हामीले हाम्रा छिमेकीसँग जहाँबाट हामीलाई अलि थिचोमिचो जहाँबाट हामीलाई अलि अन्याय भएको जस्तो लागिरहेको छ, नेपालका राष्ट्रिय शक्तिहरु एकताबद्ध भएर आफू माथि परिआएको कुरा बताउने र छिमेकीहरुसित अलि खुलस्त ढंगले कुरा गर्न जरुरी छ । यसको लागि नेपालका राष्ट्रिय शक्तिहरु एकताबद्ध हुन अत्यन्त जरुरी छ । राष्ट्रियतामाथि परेको आघातका बेलामा कांग्रेस, एमाले, माओवादी भनेर बस्न मिल्दैन ।
० तर मधेशीले नाकाबन्दी आपूmहरुले गरेको भारतले होइन भन्दै छन् नि ?
– ठिकै छ । उहाँहरुकै कारणले भए पनि, हामी भारतको पक्षसंँग आफूलाई स्पष्टसंँग राख्नुपर्दछ । रक्सौलमा ५०÷१०० जनाले ढुंगामुढा गर्लान् त्यो अलग कुरा हो तर काँकडभित्ता बाट आउने कुरामा किन बाधा ? नेपालको इलाकामा त समस्या त्यस्तो केही भएको होइन, नेपालको इलाकामा त सुरक्षाको हिसाबले हामी त्यो कुरा जिम्मा लिन्छौ भनेर भनिराख्दा उतैबाट पेट्रोल भर्न नदिने पेट्रोल भरेका गाडीहरु आउन नदिने, उतैका सुरक्षाकर्मीले रोक्ने अनि दिनदिनै अलग अलग वक्तव्य जारी गर्ने कुरा हामी देख्दैछौं । यो सबै कुरा के हो भने आजको दुनियाँमा घोषित रुपमा “मैले नाकाबन्दी गरें” भन्ने कुरा त्यो असोभनीय हुन्छ । विश्व जनमतले पनि धिक्र्काछ र भारत जस्तो लोकतान्त्रिक भनिएको मुलुकलाई यो उचित हुँदैन । त्यसैले यदि भारतले नाकाबन्दी नगरेको हो भने हाम्रा ट्यांकरमा तेल किन भरिन्न ? हाम्रा ट्रकलाई नाकामा लामबद्ध राखेर किन रोकिराखेका छन् त ? यसको जवाफ भारतले दिने हो कि मधेशी नेताहरुले ?
० तर अहिलेसम्म भारतीय प्रधानमन्त्रीसँग सम्वाद गर्ने वातावरण बनेको छैन नि ?
– यो त तपाईले ठिकै भन्नुभयो । यो कमजोरी हाम्रो पक्षबाट भएको होला । ति कार्यकारी पदमा बसेका जिम्मेवारहरुको भूमिका प्रभावकारी भएन होला । यो अलग कुरा हो । एउटा स्वतन्त्र सार्वभौम मुलुकको हैसियतले जसरी हामीले छिमेकी भारतबाट व्यवहार पाउनुपर्ने हो त्यो नभएकोमा हामीलाई खेद छ । दोस्रो कुरा यो त मानवता विरुद्धको अपराधिक तहमा पर्ने कामहरु भएका छन् । भारतीय भूमिमा नेपालीमाथि हमला भएको छ, उसका हातका औंला काटिएका छन् तर त्यहाँ उपस्थित भारतीय सुरक्षाकर्मी मुकदर्शक बनेको छ । औषधी अभावले लाखौं नेपाली उपचार गर्नबाट वन्चित भएका छन् । भारतले औषधीका गाडी समेत रोकर यसरी अत्यावश्यक सामग्रीमा रोक लगाएर कुहिएका आलू र केरा पठाएर हामीले नाकाबन्दी गरेका छैनौं भन्न कत्तिको जायज छ ?
० अन्तराष्ट्रिय अदालतमा जाने विचार छ त अब ?
– हैन, अहिले हामी यति मात्रै भन्न सक्छौं कि हामी कुटनीतिक पहल र प्रयत्न जहाँजहाँ प्रभावकारी भएका छैनन् त्यो ठाउँमा लग्नेछौं । हामी त्यसमा केन्द्रित हुन्छौं । अहिलेको आवश्यकता भनेको दुई देशबीचको सम्बन्ध सुधार्ने हो । शंका भएका कुरालाई प्रष्ट्याउने समय हो । तर एउटा प्रजातान्त्रिक, हाम्रो छिमेकी मुलुककले गरेको यस किसिमका व्यवहारलाई म यति मात्रै भन्छु कि हामीले दुःख त पाएका छौं तर यी सबैले भारतीय पक्षलाई पनि कुनै फाइदा गरेको छैन ।
० अहिले केबल ओली कि ओयलको चर्चा छ, तपाई के भन्नु हुन्छ यस बारेमा ?
– के भन्छौ भने हाम्रो देशमा संविधान कसरी बनाउने ,हाम्रो देशको कार्यकारी प्रमुख को हुन्छ भन्ने कुरा यहीँका जनता, यहीँका राजनीतिक पार्टीले टुंगाउने हो । कुनै बाहिरी पक्षले अनुचित रुची राखेर हात घुसाउने त हैन होला नि ? चर्चा जसको भए पनि समस्याको समाधान हामी आपैmले गर्ने हो । अहिलेको अवस्थामा हामी एकआपसमा लडाई गर्ने होइन बरु एकजुट भएर भारतको नाकाबन्दी विरुद्ध आवाज उठाउनुपर्दछ । नेपालको आन्तरिक अवस्था ठीक नभएको भारतले आरोप लगाइराखेको बेलामा हामी त्यो कुरालाई भूmठो सावित गर्न जुट्नुपर्छ ।
० नयाँ प्रधानमन्त्रीको पदमा कांग्रेसले नै फेरि पनि नेतृत्व गर्ने इच्छा राखेको थियो नि ?
– होइन, कांग्रेसका सभापतिले बाहिर के भन्नु भयो त्यो अलग कुरा हो । वास्तवमा कांग्रेसको नेतृत्वमा सरकार बनिरहेको बेलामा दोस्रो ठुलो पार्टी भएको कारणले एमालेले संविधान जारी गर्ने बेलासम्म कांग्रेसले नेतृत्व गर्ने त्यसपछि नेकपा एमालेको नेतृत्वमा सरकार बनाउनको लागि सहयोग गर्ने भन्ने सहमति भएको हो । त्यस आधारमा पनि अब एमालेकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने पार्टीको जोड थियो । सहमति गरेको कुरा पालना नगर्दा बहुमतीयमा जानुपरेको हो ।
० तर त्यो सहमति भएको छैन भनेर कांग्रेस सभापतिले भन्नुभएको थियो नि ?
– म उहाँले भनेको कुरालाई पनि अन्यथा लिन्न किनभने उहाँले साँच्चै कांग्रेसको पक्षमा सहमतिको स्थिति भयो भने त हामी दाबि गर्छौ भन्ने आशयबाट बोल्नु भएको हो । त्यसैले म त्यसलाई अन्यथा लिन्न । दोस्रो भनेको नेकपा एमाले दोस्रो ठूलो दल जसले औपचारिक ढंगले निर्णय गरेर व्यवस्थापिका संसदमा भएका राजनीतिक दलका नेतृत्वलाई औपचारिक रुपमा अनुरोध गरेका थियौं । अर्काे कुरा अहिले संविधान निर्माण गर्ने सन्र्दभमा हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसरी एउटा नेतृत्वदायी निर्णायक भूमिका खेल्नु भयो त्यो सबैले बुझेका छन् । यो संकटको बेलामा त्यस्तो व्यक्तिको नेतृत्वमा सरकार बन्दा मुलु्लाई संकटबाट निकाल्न सकिन्छ भन्ने विश्वास व्यक्त गरेर नै एनेकपा माओवादी र अन्य साना दलले समर्थन जनाएका छन् ।
0 comments:
Post a Comment