Friday, October 16, 2015

नाकाबन्दी कायम रहे नेपालको १० खर्ब बच्ने

काठमाडौं । सरकारी रेकर्डअनुसार वस्तु आयातबापत नेपालबाट भारतमा वर्षको आठ खर्ब रुपैयाँ जाने गरेको छ । रेमिटेन्सबापत तीन खर्ब ५० अबै रुपैयाँ जाने गरेको छ । तर यो रेकर्ड भरपर्दो नभएको व्यापारीहरू बताउँछन् । उद्योग वाणिज्य महासंघका एक सदस्यका अनुसार वास्तविक मूल्यभन्दा ६० प्रतिशतसम्म कम भन्सार मूल्यांकन गरेर भारतबाट व्यापारीहरूले सामान आयात गर्दछन् । साथै वास्तविक परिमाण भन्दा आधा कम मुल्यांकन गरिन्छ । जसका आधारमा आठ खर्ब रुपैयाँको सामान आयात भएको देखिएको हो । वास्तवमा १२ देखि १६ खर्ब रुपैयाँको सामान भारतबाट आयात हुन्छ ।

यसैगरी, तराईमा बस्नेहरूमध्ये आधाजसोले भन्सारको रेकर्डमा नरहने गरी सामान ल्याउने गरेका छन् । उनीहरूले हरेक उपभोग्य वस्तुहरू सिधै भारतको बजारबाट खरिद गर्दछन् । यस्तै, रेमिटेन्स पनि तीन खर्ब ५० अर्ब भारत जाने भनेको बैंकिङ च्यानलमार्फत हो । हुण्डी र व्यक्तिगत रूपमा त्यो भन्दा धेरै रकम भारत पलायन हुने गरेको छ । त्यसैले अहिलेको नाकाबन्दीबाट पाठ सिक्दै आत्मनिर्भर हुने कोसिस गरेमा वर्षको १० खर्ब रकम विदेसिनबाट जोगिने विज्ञहरू बताउँछन् । यति रकम जोगाउन सके मुलुकले १० वर्षभित्रै भारतलाई उछिन्न सक्ने ठहर विज्ञहरूको छ । राणाकालीन समयमा भारतसँग नेपालको व्यापार नाफामा हुने गथ्र्यो ।

मुलुकबाट यति ठूलो रकम भारत जान थालेको पञ्चायती शासनको प्रारम्भ भएदेखि मात्रै हो । त्यसअघि भारतबाट आयात गरिने वस्तुभन्दा भारतमा निर्यात गरिएको वस्तुहरू दोब्बर बढी हुन्थ्यो । २०१६ सालमा तत्कालीन जननिर्वाचित सरकारले ल्याएको बजेट हेर्दा त्यतिबेला भारतसँग वार्षिक दुई करोड २० लाख १५ हजार रुपैयाँ व्यापार नाफा भएको देखिन्छ । २०४६ सालमा तत्कालीन अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेले ल्याएको बजेट हेर्दा भारतसँग व्यापार घाटा १२ अर्ब रुपैयाँ पुगेको देखिन्छ । यसैगरी, आर्थिक वर्ष १९७०÷१९७१ र १९७७÷१९७८ मा नेपालबाट भारततर्फ निर्यात हुनेमा सबैभन्दा बढी धान चामल रहेको देखिन्छ ।

यी दुई आर्थिक वर्षमा क्रमशः एक करोड ५९ लाख ३६ हजार रुपैयाँ र एक करोड ९२ लाख १४ हजार रुपैयाँको चामल नेपालबाट भारत निर्यात भएको तथ्यांकले देखाउँछ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको अभिलेखअनुसार २०२५ सालको दशकसम्म नेपाल धान चामल निर्यातमा विश्वकै चौथो मुलुक रहेको थियो । तर, गएको आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको चामल भारतबाट आयात भएको छ । उक्त तथ्यांकअनुसार २०४० सालसम्म चामलको निर्यात उच्च रहे पनि आयातीत वस्तुहरूको परिमाण बढ्न थालेपछि भारतसँग व्यापार घाटा सुरु भएको हो ।

राणाकालमा भारतमा चामल निर्यात बढी हुन्थ्यो भने कपासका सामानहरू, नुन, चिनी, मरमसलालगायतका वस्तुहरूको आयात उच्च हुन्थ्यो । अहिले सवारीसाधन, पेट्रोलियम, फलाम तथा स्टिलजन्य वस्तुहरू, चामल, कृषि उत्पादनलगायतका वस्तुहरूको आयात उच्च रहेको छ । राणा तथा पञ्चायतकालमा विलासी वस्तुहरूको आयात निकै कम हुन्थ्यो । पछिल्लो समय मुलुकमा विलासी वस्तुहरूको आयात बढिरहेको छ । सन् २००४ सालमा मुलुक विश्व व्यापार संगठनको सदस्य भएपछि मुलुकको व्यापार घाटा झनै उच्च भएको छ ।

राजनीतिक परिवर्तनसँगै मुलुकमा औद्योगिक विकास हुन नसक्दा आयातित वस्तुमा भर पर्नुपरेको हो । यस्तो बेलामा तेस्रो मुलुकबाट सामान आयात गर्नुभन्दा भारतबाट सामान आयात गर्दा सस्तो पर्ने हुँदा अधिकांश सामानहरू भारतबाट ल्याउन थालियो । भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दरका कारण डलरको भाउ बढ्दा पनि भारतीय सामानहरू नेपाल ल्याउँदा सस्तो पर्छ । यसले पनि भारतबाट बढी सामान आयात गरिएको हो ।

मुलुकमा केही उद्योगहरू खुले पनि अधिकांश आयातीत कच्चा पदार्थमा भर पर्नुपर्छ । यी उद्योगहरूले निर्यातभन्दा पनि आयात व्यापारलाई बढाउने काम गरे । नेपालमा निर्यात गर्ने ठूला उद्योगहरू नगन्य मात्रामा रहेका छन् । मुलुकमा उद्योगै नखुलेका भने होइनन् । केही उद्योगहरू यस्ता छन्, जसले आयात प्रतिस्थापन गर्न सफल भएका छन् ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive