भेडा च्याङ्ग्राको मूल्य बढ्यो
म्याग्दी, २८ असोज । दसँैतिहारलाई लक्षित गरी बजारमा ल्याइएका भेडा च्याङ्ग्राको मूल्य बढेको छ ।
चाडपर्वका समयमा बजारमा हुने मासुको मागलाई पूर्ति गर्न हिमालपारिको जिल्ला मुस्ताङबाट ल्याइएका भेडा च्याङ्ग्राको मूल्य बढेपछि सर्वसाधारणका लागि दसैँ खर्चिलो बन्ने भएको छ ।
मुस्ताङबाट ७०० भेडा च्याङ्ग्रा ल्याउँदै गरेका सिन्धुपाल्चोकका कृष्ण कुँवरले गतवर्ष भन्दा यसवर्ष गोठबाटै रु दुई हजारका दरले बढी मूल्य तिर्नु परेको बताउनुभयो । तिब्बतबाट आयात नभएको र मुस्ताङका विभिन्न स्थानमा पालिएका भेडा च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणबाट मरेपछि मूल्य बढेको हो ।
बेनीमा ४५ वटा च्याङ्ग्रा बिक्री गर्न ल्याउनुभएका छोसेरका भेडापालक कृषक छेप्टेङ गुरुङले प्रतिओटाको रु २० देखि रु २२ हजारसम्ममा बिक्री गरेको बताउनुभयो । गत मङ्सिरदेखि फागुनसम्म परेको हिमपात र चिसोका कारण पकेट क्षेत्रमा चार हजार भेडा च्याङ्ग्रा मरेका थिए ।
यो वर्ष म्याग्दीमा मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ र घमी गाविसका किसानले पालेका भेडा च्याङ्ग्रा बजारमा भित्र्याइएको छ । नेपाल खाद्य संस्थान, म्याग्दी, पर्वत, बाग्लुङ र कास्की क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडा च्याङ्ग्रा बजारमा ल्याउन सुरु गरिसकेका छन् ।
मुस्ताङबाट करिब २० हजार भेडा च्याङ्ग्रा ल्याइने बताइएको छ । गतवर्ष कम्तिमा रु १५ देखि रु १७ हजारसम्म परेको भेडा च्याङ्ग्राको मूल्य यसवर्ष बढीमा रु २३ हजारसम्म पर्ने बेनीमा भेडा च्याङ्ग्रा ल्याउनुभएका अम्मर बस्नेतले बताउनुभयो ।
उच्च हिमाली भेगमा पालिएका भेडा च्याङ्ग्राले विषेश गरी लेकाली जडीबुटी खाने भएकाले दसैँतिहार जस्ता पर्वमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडा च्याङ्ग्राको माग बढी हुने गर्दछ ।
रासस
0 comments:
Post a Comment