Friday, October 16, 2015

संविधान जारी भएपछि मुलुक नयाँ राजनीतिक दिशातर्फ– नेता नेपाल

काठमाडौँ, २९ असोज । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपालको संविधान अत्यन्तै लोकतान्त्रिक र समावेशी भएकाले गौरव गर्नुपर्ने बताउनुभएको छ ।व्यवस्थापिका–संसद्को आजको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान जारी भएपछि मुलुकले नयाँ राजनीतिक दिशा प्राप्त गरेको उल्लेख गर्नुभयो ।

संविधान जारी र नयाँ सरकारको गठनपछि भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी क्रमशः हट्दै गएको उल्लेख गर्दै उहाँले आगामी दिनमा आपूर्तिलगायतमा देखिएको समस्या समाधान गर्न सरकार सफल हुने बताउनुभयो ।

दलबीच रहेको अविश्वास र दूरी पनि कम हुने विश्वास व्यक्त गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले विगतका सहमति पालना नगरेर राजनीतिक दलका नेताले अहिले पनि गल्ती गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “गल्ती सच्याउने अझै पनि समय बाँकी छ । त्यसलाई सबै दलले आत्मसात् गर्नुपर्छ ।”

तराई मधेसमा विभिन्न राजनीतिक दलले जारी राखेको आन्दोलनको प्रसङ्ग जोड्दै नेता नेपालले आन्दोलन र अविश्वासले समस्याको समाधान नगर्ने भएकाले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न उहाँले आन्दोलतरत दललाई अडान छाडी संवादमा आउन आग्रह गर्नुभयो ।

हतारमा निर्णय गर्ने फुर्सदमा पछुताउने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्दै उहाँले मुलुक र जनताको भावना विपरीत गएर निर्णय गर्ने अधिकार कोही कसैलाई नभएको बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै एकीकृत नेकपा (माओवादी)का नेता अग्निप्रसाद सापकोटाले नयाँ संविधानको सही तबरले व्याख्या गर्ने र अत्यावश्यक कानुन निर्माण गरी संविधान सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणलाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गर्दै उहाँले त्यसमा सबै राजनीतिक दलको सार्थक सहयोगको जरुरी रहेको  बताउनुभयो ।

भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दीले मुलुक आक्रान्त भएको उल्लेख गर्दै उहाँले त्यसलाई गम्भीररुपमा लिएर समस्याको समाधान गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

“कहिले नाकाबन्दी खुलेको भनेर खबर आउँछ, कहिले फेरि पनि नाकाबन्दी जारी छ भन्ने पनि आउँछ, यो लुकामारी के हो, प्रष्ट हुनुपर्छ । भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने पारवहनलगायतका अधिकारको सम्मान गरिनुपर्छ ।”

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । आगामी चार वर्षभित्र विद्युत् भार कटौतीको अन्त्य गर्न र काठमाडौँ उपत्यकामा देखिएको खानेपानीको समस्या समाधान गर्न माग गर्नुभयो ।

मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सांसद जितेन्द्रनारायण देवले राजनीतिक दलबीच भएको १६ बुँदे र आठ बुँदे सम्झौतालाई कोसेढुङ्गा भएको बताउँदै पूर्णरुपमा कार्यान्वयन गर्न माग गर्नुभयो ।

तराई मधेसमा देखिएका समस्यालाई राजनीतिक रुपमा सम्बोधन गर्न सबै राजनीतिक दल जिम्मेवार भएर लागिपर्न आग्रह गर्नुभयो ।

नेकपा (माले)का अध्यक्ष सिपी मैनालीले सबै राजनीतिक दलले सहमतिका आधारमा मुलुकले भोग्नुपरेको समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । तराई मधेसमा देखापरेको समस्या र पारवहनलगायतका विषयमा देखिएको समस्या र अघोषित नाकाबन्दीलाई तत्काल अन्त्य गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता दीपक बोहोराले वार्ता र संवादमार्फत तराई मधेसमा देखिएको समस्याको समाधान गर्न र देशलाई स्वावलम्बी बनाउन सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र भारतबीच लामो समयदेखि मैत्रीपूर्ण र रोटीबेटीको सम्बन्ध भएको भन्दै उहाँले पछिल्लो दिनमा देखिएका समस्या समाधान गर्न ठन्डा दिमागले सोच्नुपर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुलुकमा देखिएका विभिन्न समस्याको समाधान गर्ने प्रतिबद्धता नेकपा (एमाले)का तर्फबाट व्यक्त भएकाले आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकारमा सहभागी हुनुभएका नेता अनुभवी र पुराना भएकाले नयाँ सोच र इच्छाशक्तिका आधारमा अगाडि बढ्नुपर्ने, नयाँ संविधानको सहज कार्यान्वयन गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो । भूकम्प गएको छ महिना बित्दासमेत जनताले राहत नपाएको उल्लेख गर्दै उहाँले विगतमा गरेका गल्ती तथा कमजोरीलाई सच्याएर अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।

नेकपा (संयुक्त)का सांसद जयदेव जोशीले उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्रीको शनिबारदेखि हुन लागेको भारत भ्रमणका क्रममा राष्ट्रिय हितको पक्षमा आवाज उठाउन र पारवहनलगायतका विषयमा देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)का सांसद शिवलाल थापाले मुलुकमा देखिएका विभिन्न समस्या समाधान गर्न वर्तमान सरकार सफल हुने र प्रतिपक्षी दललेसमेत सकारात्मक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल परिवार दलका सांसद एकनाथ ढकालले सामाजिक सद्भाव, अमनचयन कायम गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गर्दै तराई मधेसमा देखिएको असन्तुष्टिलाई उचित सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजवादी जनता पार्टीका सांसद प्रेमबहादुर सिंहले संविधानको सफल कार्यान्वयन गर्न र पारवहनलगायत विभिन्न विषयमा देखिएको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष ध्यान दिने बताउनुभयो ।

नेपाल जनता दलका सांसद हरिचरण साहले संविधानको सफल कार्यान्वयन नभई प्रमुख दलबीचमा सहमति र सहकार्य आवश्यक भए पनि सरकार निर्माणका क्रममा दुई कित्तामा विभक्त भएर मुलुक र जनताको चाहना विपरीत गएको उल्लेख गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का सांसद श्याम श्रेष्ठ (काभ्रेपलाञ्चोक)ले मुलुकले भोग्नुपरेको समस्यालाई सम्बोधन गर्न विगतका सहमतिलाई इमान्दार भएर कार्यान्वयन गर्न, मधेसी, जनजाति, आदिवासी, महिला र थारु समुदायको भावनालाई सम्बोधन गर्न र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र तय हुनेछ भन्ने विश्वास दिलाउनु आवश्यक रहेको बताउनुभयो ।

स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले सत्तापक्ष र प्रतिपक्षमा देखिएको दूरी घटाएर मुलुकलाई सार्थक दिशामा अगाडि बढाउन वर्तमान सरकारको नेतृत्व सफल हुने र मुलुकले भोग्नुपरेको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

दलित जनजाति पार्टीका सांसद यशोदाकुमारी लामाले मधेसी, जनजाति, आदिवासी, थारु, दलित समुदायको भावनालाई सम्बोधन गरेर समस्याको समाधान गर्न वर्तमान सरकार सफल हुने धारणा राख्नुभयो ।

सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले जानकारी गराउनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज २९ गते शुक्रबार(आज) अपराह्न १५ बजे बस्नेछ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive