Saturday, October 17, 2015

गरिबी निवारण कोषलाई एकीकृत बनाउन जोड

काठमाडौँ, २९ असोज । गरिबी निवारण कोषले गरिबी निवारणका प्रयासलाई अझै बढी एकीकृत र समन्वयात्मकरुपमा लैजानुपर्नेमा जोड दिएको छ ।

गरिबी निवारणका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा कोषले आज प्रेस विज्ञप्ति जारी गरी विभेद तथा असमानतालाई अन्त्य गर्न र विपन्न वर्गका उत्पादकत्वलाई बढाउन सकारात्मक विभेदको नीतिलाई महत्व दिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको हो ।

कोषका कार्यकारी निर्देशक नहकुल केसीले विज्ञप्तिमा भन्नुभएको छ–‘‘कोषले गरिबी निवारणका प्रयासलाई अझै बढी एकीकृत र समन्वयात्मकरुपमा लैजानुपर्ने खाँचो      छ ।’’ उहाँले पछिल्ला वर्षमा नेपालले गरिबी निवारणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै महिला स्वास्थ्य तथा प्रजनन्, बाल मृत्युदर, प्राथमिक शिक्षामा पहुँच तथा गरिबी निवारणको क्षेत्रका उपलब्धि प्रशंसायोग्य रहेको बताउनुभएको छ ।

सहस्राब्दी विकासका लक्ष्यबाट अगाडि बढ्दै विश्व समुदायले स्वीकार गरेको दिगो विकासका लक्ष्यमध्ये सन् २०३० सम्म सबैखाले गरिबीको अन्त्य गर्ने लक्ष्य लिइएको र दिगो आर्थिक विकासका लागि गरिबी निवारणका प्रयासलाई अझ बढी सशक्त र प्रभावकारी बनाउनुपर्नेमा कोषले जोड दिएको निर्देशक केसीले उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५३ देखि हरेक वर्ष अक्टुबर १७ लाई गरिबी निवारणका लागि अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आइएको छ । हाल देशका ५५ जिल्लामा कार्यरत कोषले २७ हजार सामुदायिक संस्थाहरुमार्फत सात लाखभन्दा बढी विपन्न घरधुरीलाई समेटेको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive