कपडा खरिदमा मुछिए एआईजी
काठमाडौं । नेपाल प्रहरीले संगठनका लागि आवश्यक पर्ने लत्ताकपडा खरिदमा चरम अनियमिता गरेको पाइएको छ । प्रशासन महाशाखाका प्रमुख एआईजी वीरेन्द्रबाबु श्रेष्ठको मिलमतोमा व्यापारीहरूले करोडौंको लत्ताकपडा समयमै दिएका छैनन् । जसका कारण मुलुकभरका प्रहरीले भनेको समयमा सामान नपाउने स्थिति सिर्जना भएको हो ।
नेपाल प्रहरीले अघिल्लो आर्थिक वर्षमा नेपाल प्रहरीका कर्मचारीकालागि मागेको एक लाख ५० हजार मिटर सर्टको कपडाका लागि टेन्डर गरेको थियो । प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी श्रेष्ठ, प्रबन्ध शाखाका डीआईजी श्यामसिंह खड्का र सोही विभागका प्रहरी निरीक्षक तिलबहादुर कँुवरको मिलेमतोमा टेन्डर दिए पनि नेपाल प्रहरीले अहिलेसम्म सामान पाउन सकेको छैन । एआईजी श्रेष्ठ बढुवालगत्तै प्रशासन विभागको प्रमुख भएका थिए । उनकै समयमा भएको कपडाको टेन्डरमा ठेकेदार कम्पनीहरूले समयमै कपडा नबुझाउनुको पछाडि मिलेमतो रहेको प्रधान कार्यालय स्रोतले बताएको छ ।
प्रशासन विभाग प्रमुख एआईजी श्रेष्ठले आफू विवादमा पर्नेगरी जय सलिना इन्टरप्राइजेज प्रा.लि.लाई प्रतिमिटर दुई सय ८० रुपैयाँमा खरिद गर्नेगरी सो प्रा.लि.लाई टेन्डर दिएको भए पनि अहिलेसम्म सर्टको कपडा उपलब्ध गराएको छैन । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार सो कम्पनीले गत असार मसान्तभित्र एक लाख ५० हजार मिटर कपडा उपलब्ध गराउनुपर्नेमा अहिलेसम्म ५० हजार मिटर कपडा मात्रै उपलब्ध गराएको छ । कपडा नबुझाईकन कम्पनीले एक लाख ५० हजार मिटर कपडाको भुत्तलानी गत असारमै लिइसकेकाले पनि एआईजी श्रेष्ठ अप्ठ्यारोमा परेका हुन् । उक्त सर्टको कपडा खरिद गर्न १३ वटा कम्पनीले आवेदन गरेका थिए । साकम्बरी ट्रेडर्सले प्रतिमिटर एक सय ६८ रुपैयाँमा टेन्डर भरेको भए पनि जय सलिना इन्टरप्राइजेजलाई दुई सय ८० रुपैयाँमा खरिद गर्न अनुमति दिइएकाले उनीमाथि अनुसन्धान हुने बुझिएको छ । त्यस्तै, पाइन्टको कपडा खरिद गर्ने ठेक्का प्लस प्वाइन्टले पारेको थियो भने उलन सर्टको कपडा खरिद गर्ने अनुमति सांग्रिला टेड्रर्सले पाएको थियो ।
प्लस प्वाइन्टले अन्य प्रतिस्पर्धी कम्पनीले भन्दा बढी रेट तोकेको भए पनि उसैलाई सो टेन्डर दिइएको थियो । जेएमबीडी टेड्रर्सले सो कपडा प्रतिमिटर ६ सय ६५ रुपैयाँमा दिने कबोल गरेको भए पनि विभागले भने आठ सय ५० रुपैयाँ कबोल गरेको प्लस प्वाइन्टलाई दिएको थियो । उलन सर्टको कपडा खरिद गर्ने अनुमति पाएको सांग्रिला टेड्रर्सले प्रतिमिटर ६ सय ४१ रुपैयाँमा खरिद गरेको भए पनि अहिलेसम्म ती सामान प्रहरीको भण्डारण शाखामा दाखिला भएको छैन । जबकि अहेड टेड्रर्सले सो कपडा प्रतिमिटर चार सय ९१ रुपैयाँमा खरिद गर्ने गरी टेन्डर बिड गरेको थियो, तर उसलाई अयोग्य ठहर गरी सांग्रिला टेड्रर्सलाई बढी मूल्यमा ठेक्का दिइएको प्रहरीको टेन्डर रेकर्डबाट देखिन्छ ।
पछिल्लो समय नेपाल प्रहरीको लत्ताकपडा खरिदमा मुकेश अग्रवाल, नेपाल प्रहरीका पूर्व सई ज्ञानेन्द्र बस्नेत र वीरेन्द्र श्रेष्ठले प्रशासन विभाग, प्रबन्ध शाखा र गुणस्तर तथा नापतौल विभागका इन्जिनियरलाई सेटिङ मिलाएर आफ्नो अनुकूलको ठेक्का सदर गर्ने गरेको ती अधिकारीले दाबी गरे । नेपाल प्रहरीका सबै युनिटले प्रयोग गर्ने नीलो चुस्ताको कपडा अहिले नेपाल प्रहरीसँग छैन । गत आर्थिक वर्षमा नेपाल प्रहरीले दुई लाख ५० हजार मिटर खरिद गर्न टेन्डर आह्वान गरेको थियो । सो टेन्डरमा १३ वटा फर्म र कम्पनीले प्रतिस्पर्धा गरेकोमा सबैभन्दा कम मूल्यांकनमा परेको साकम्बरी प्रा.लि.लाई सो ठेक्का नदिई तीन सय ७१ रुपैयाँ कबोल गरेको सांग्रिला टेक्सटायललाई दिइएको थियो । सोही वर्ष सोही कपडा खरिद गर्न भएको टेन्डरमा छानिएको कम्पनीले दुई सय ६६ रुपैयाँमा सो कपडा खरिद गर्ने भनेर टन्ेडर बिड गर्दा कपडाको मूल्य बढी भयो भन्दै रि–टेन्डर आह्वान गरेको थियो । तीन वर्षयता नेपाल प्रहरीको लत्ताकपडा टेन्डरमार्फत उपलब्ध गराउँदै आएको सांग्रिला टेक्सटायल प्रा.लि.का सञ्चालकहरू अग्रवाल, बस्नेत र श्रेष्ठले आफ्नै स्वामित्वमा विभिन्न नाममा कम्पनी दर्ता गर्ने र टेन्डर बिड गर्दा आफ्नै कम्पनीले सबैभन्दा बढी मूल्य र सबैभन्दा कम मूल्यमा टेन्डर हाल्ने गरेका छन् । त्यस्तै, स्लिपिङ ब्याग १७ हजार पिस, नीलो ज्याकेट १७ हजार पिस, प्रहरीले बोक्ने झोला १५ हजार पिस टेन्डरबाट खरिद गर्ने जिम्मा पाएका कम्पनीले सामान नबुझाए पनि अग्रमभुक्तानी पाएका छन् ।
0 comments:
Post a Comment