Friday, October 16, 2015

राष्ट्रिय लिग फुटबल : झापा चौथो स्थानमा

काठमाडौँ, २९ असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहिवार भएको खेलमा मोफसलको टोली झापा फुटबल क्लबले शसस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहिवार भएको सो प्रतियोगितामा झापाले एपिएफलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यसअघि नै उपाधि होडबाट बाहिरिसकेको झापाले जारी प्रतियोगितामा २७ अङ्क जोड्दै लिगको चौथो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।
त्यसैगरी २३ अङ्क जोडेको एपिएफ भने लिगको पाँचौ स्थानमा छ । दुवै टोलीले समान १६/१६ खेल पूरा गरिसकेका छन् ।

प्रतियोगितामा पहिलो अग्रता भने एपिएफले लियो । खेल सुरुवाती १३ औँ मिनेटमा गणेश लावतीले पहिलो गोल गरे । त्यस्तै एपिएफका लावतीले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै झापाका खेलाडी कर्ण लिम्बुले एक गोल फर्काए । उनले खेलको १५ औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै झापा कै अर्का खेलाडी दिनेश कार्कीले खेलको पहिलो हाफको ३८ औैँ मिनेटमा थपेको एक गोल नै झापाको लागि निर्णायक गोल सावित भयो ।

शुक्रबार उपाधि दाबेदारको रुपमा रहेको त्रिभुवन आर्मी क्लबले लिगको सातौ स्थानमा नेपाल प्रहरी क्लबको सामना गर्नेछ । पन्ध्र खेल खेलेका आर्मीको ३० अङ्क छ भने समान खेलबाट दोस्रो स्थानमा रहेको मनाङको ३१ र पहिलो स्थानको थ्रीस्टारको ३२ अङ्क छ ।

तीन राष्ट्रिय कीर्तिमान

यसैगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७२ अन्तर्गत उन्नाइसौँ राष्ट्रिय पौडी प्रतियोगितामा थप तीन राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

सातदोबाटोस्थित पौडी पोखरीमा भएको खेलमा नेपाली सेनाका शिरिष गुरुङले ४०० मिटर फ्रिस्टायल र २०० मिटर व्यक्तिगत मिड्लेमा थप दुई राष्ट्रिय कीर्तिमान कायम गरे । त्यस्तै अर्को कीर्तिमान भने महिला चारगुणा १०० मिटर फ्रिस्टायल रिलेमा कायम भयो ।

सेनाका गुरुङले कीर्तिमान राख्ने क्रममा ४०० मिटर फ्रिस्टायलमा चार मिनेट ३६.७८ सेकेन्डको समय निकाले । उक्त दूरीमा उनकै नाममा २०१३ मा काठमाडाँैमा भएको दोस्रो एनएसए कपमा चार मिनेट ४७.३८ सेकेन्डको समय थियो ।

उक्त दूरीमा सेनाकै देवेश मानन्धर र दिपेश चौधरी क्रमशः दोस्रो र तेस्रो भए । त्यस्तै दुई मि व्यक्तिगत मिड्लेमा उनले दुई मिनेट २७.०३ सेकेन्डका साथ दूरी पूरा गरे । यस विधामा उनकै नाममा सन् २०१३ मा भएको एनएसए कपमा नै दुई मिनेट ३०.२५ सेकेन्डको समय खर्चेको थियो ।

उक्त विधामा पनि सेनाको नै वर्चस्व रह्यो । प्रतियोगितामा दोस्रो कृपा कार्की भइन् भने र तेस्रो स्थानमा रुपेश चौधरी रहे । गुरुङले दुई राष्ट्रिय कीर्तिमानसहित थप ६ स्वर्णपदक प्राप्त गरे । उनले प्रतियोगिताको पहिलो दिन एक राष्ट्रिय कीर्तिमानसहित ६ स्वर्ण पदक प्राप्त गरेका थिए ।

त्यसैगरी बिहिवारनै भएको अर्को खेलमा चारगुणा १०० मिटर रिलेमा मध्यमाञ्चलका जितज्वाली महर्जन, तिसा शाक्य, ओसिना भारती र रसिका पौडेलले पाँच मिनेट ०८.९४ सेकेन्डको समयमा दूरी पूरा गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाए ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive