आज दलहरूबीच सहमति कायम हुन नसके सभामुख र उपसभामुखको निर्वाचन शुक्रबार
काठमाडौँ, २८ असोज । व्यवस्थापिका–संसद्को सभामुख र उपसभामुखमा दलहरूबीच सहमति कायम हुन नसके यही असोज २९ गते शुक्रबार ती पदका लागि निर्वाचन हुने भएको छ ।
व्यवस्थापिका–संसद्को बुधवारको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले निर्वाचनबारे बैठकलाई जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाएर प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।
सभामुख र उपसभामुखका लागि दलहरूबीच सहमति कायम गर्न आज बिहीबार ३ बजेसम्मको समय प्रदान गरिएको छ । सहमति हुन नसकेको खण्डमा असोज २९ गते दिउँसो ३ बजे सभामुखको र सोही दिन अपराह्न ५ बजे उपसभामुखको निर्वाचन गराइने जानकारी राजवंशीले दिनुभयो ।
प्रमुख राजनीतिक दलबीच संविधान जारी गर्ने सन्दर्भमा भएको सहमतिलाई नयाँ संविधानले अनुमोदन गरेपछि सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो ।
नयाँ संविधान जारी भएको २० दिनभित्रै सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नयाँ सभामुख र उपसभामुखको निर्वाचन र चयन प्रक्रियाका लागि बहालवाला सभामुख र उपसभामुखबाट राजीनामा दिने काम बुधवारनै भइसकेको छ ।
बैठकमा दुवैको राजीनामासम्बन्धी पत्रहरू पढेर सुनाइको थियो । यसअघि बैठकमा ज्येष्ठ सदस्य राजवंशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।
सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशित
व्यवस्थापिका–संसद् सचिवालयले सभामुख र उपसभामुख पदको निर्वाचन कार्यक्रम बुधवार सार्वजनिक गरेको छ । संसद्को अन्तरिम कार्यविधि बमोजिम सभामुख र उपसभामुख पदमा राजनीतिक सहमतिमा निर्वाचन सम्पन्न गर्न आज बिहीबार ३ बजेसम्मको समयावधि तोकिएको छ ।
राजनीतिक सहमति हुन नसके सभामुख पदको निर्वाचन असोज २९ गते शुक्रबार ३ बजे र उपसभामुख पदको निर्वाचन पनि सोही दिन ५ बजे गर्ने गरी निर्वाचनको मिति र समय निर्धारण गरिएको छ ।
सहमतिमा हुने निर्वाचनका लागि आज ११ः३० देखि २ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा प्रस्ताव दर्ता गर्ने तथा त्यसरी दर्ता भएको प्रस्ताव बमोजिमको नामावली प्रकाशित गर्ने समय २ः३० बजेसम्मका लागि तोकिएको छ ।
सहमतिका आधारमा सभामुख र उपसभामुख निर्वाचित भएको घोषणा गर्ने समय भोलि नै दिनको ३ बजेका लागि तय गरिएको छ ।राजनीतिक दलहरूबीच ती दुवै पदमा सहमति कायम हुन नसकेमा बहुमतीय आधारमा सभामुख र उपसभामुख पदका लागि असोज २९ गते ११ः३० बजेदेखि २ बजेसम्म उम्मेदवारका प्रस्ताव दर्ता हुनेछन् ।
दर्ता भएका प्रस्ताव बमोजिम नामावली प्रकाशन गर्ने समय सोही दिन २ः३० बजेसम्मका लागि तोकिएको छ ।सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तुत गर्ने तथा समर्थकले समर्थन गर्ने र दर्ता भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने समय असोज २९ गते ३ बजेका लागि तय गरिएको छ । उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सोही दिन अपराह्न ५ बजे निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचन कार्यतालिका संसद् सचिवालयले बुधवार प्रकाशित गरेको छ ।
0 comments:
Post a Comment