उपत्यकाका दरबारमा पूर्ववत् रुपमै दसैँको पूजा
काठमाडौँ, २८ असोज । उपत्यकामा अवस्थित हनुमानढोका, पाटन र भक्तपुर दरबारका केही संरचना भूकम्पले भत्काए पनि दसैँ घरमा खासै क्षति नभएका कारण दसैँको पूजा पूर्ववत् सञ्चालन गरिएको छ ।
प्राचीनकालदेखि आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिन विधिवत् घटस्थापना गरी जमारा राख्दै दसैँभित्र फूलपाती भित्र्याउने, बलि दिने, कालरात्रि गर्नेदेखि कोजाग्रत पूर्णिमासम्मका विभिन्न संस्कृति यस वर्ष पनि पूर्ववत् रुपमा सोही स्थानमै सञ्चालन गरिनेछ ।
हनुमानढोका दरबार हेरचाह कार्यालयका प्रमुख सरस्वती सिंहका अनुसार हनुमानढोका दरबारको दसँै घरमा खासै क्षति नभएका कारण विगतमा जस्तै यस वर्ष पनि सोही स्थानमा दसैँको विशेष पूजा सञ्चालन भइरहेको छ ।
दरबारमा घटस्थापना गरिसकिएको जानकारी गराउँदै उहाँले अन्य फूलपाती भित्र्याउने, कालरात्रि गर्ने, फूलपातीका दिन तलेजुको मूर्तिलाई मूल चोकमा ल्याउने र दसैँको दिन मूर्तिलाई पुनः मन्दिरमा नै लैजाने, आश्विन शुक्ल चतुर्दशीमा बलि पूजा गर्ने र कोजाग्रत पूर्णिमाका दिन जमरा सेलाउने कार्य पूर्ववत् नै सञ्चालन हुने उहाँले बताउनुभयो
भक्तपुर दरबारमा पनि पूर्ववत् रुपमा दसैँको पूजा सञ्चालन भइरहेको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुुभयो । “प्राचीनकालदेखि पूजाआजा हुँदै आएको दसैँ घरमा नै यस वर्ष पनि पूजा भइरहेको छ,” उहाँले भन्नुभयो, “भूकम्पका कारण दसैँ घर र यस आसपासको परिसर खासै प्रभावित बनेको छैन ।” पाटन दरबारमा पनि दसैँको पूजा पुरानै ठाउँमा भइरहेको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले बताउनुभयो ।
0 comments:
Post a Comment