Friday, October 16, 2015

कोइरालाको हठले सबै गुमायो कांग्रेसले नाँच्न नजान्ने, देउवामाथि दोष ?

काठमाडौं । संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रमुख दल नेपाली कांग्रेस मुलुकको राजनीतिक वृत्तमा एक्लिएको छ । २० महिना अघि दुई तिहाइ बहुमतद्वारा प्रधानमन्त्री पदमा निर्वाचित कांग्रेस सभापति सुशील कोइराला आइतबार भएको मतदानमा भारी मतले पारजित भएका छन् । दोस्रो ठूलो दल एमाले, तेस्रो ठूलो दल एमाओवादी र चौथो ठूलो दल राप्रपा नेपाललगायत १५ वटा राजनीतिक दलको समर्थनमा उम्मेदवार बनेका खड्गप्रसाद ओलीसँग कोइराला पराजित भएपछि मुलुकको राजनीतिक दृश्य परिवर्तन भएको छ । कांग्रेस एकातिर अन्य दलहरू अर्कातिर भएका छन् । प्रधानमन्त्री पदमा कोइरालाको पराजयसँगै नेपाली कांग्रेसले राष्ट्रपति, सभामुखलगायत पदसमेत गुमाउने भएको छ ।

प्रमुख दलहरूको सहमतिद्वारा जारी भएको संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू तर्जुमा नभएसम्मका लागि संविधान निर्माणमा संलग्न शक्तिहरू एकै ठाउँमा रहून् भन्ने अपेक्षा जनताले गरेका थिए । संविधान निर्माणका लागि भएको १६ बुँदे सम्झौताका बेला पनि आगामी आमनिर्वाचनसम्म सँगै जाने भद्र सहमति भएको थियो । यो सहमति कोइरालाले नै तोडेको आमचर्चा छ । प्रधानमन्त्री पदका पराजित उम्मेदवार कोइरालाले यो भद्र सहमतिबारे सार्वजनिक रूपमा कुनै टीका–टिप्पणी नगरे पनि कांग्रेसको आन्तरिक बैठकमा भने ओलीलाई प्रधानमन्त्री बनाउने विषयमा कुनै भद्र सहमति नभएको र एमालेले झुट बोलेको बताएका थिए । भद्र सहमतिमा संलग्न भएका कोइरालाले नै पार्टीको बैठकमा कुनै सहमति नभएको बताएपछि प्रधानमन्त्री पदमा उम्मेदवारी दिनुबाहेक नेपाली कांग्रेससँग अर्को विकल्प थिएन । कुनै सहमति नभएको कुरा सभापतिले नै आधिकारिक बैठकमा राखेपछि संसद्मा एक तिहाइभन्दा बढी बहुमत भएको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा भाग लिनुबाहेक अर्को विकल्प थिएन । जनादेश भनेको पनि त्यही हो । तर संविधान निर्माणको जस पाएका र संविधान निर्माणपछि राजीनामा दिने घोषणा पटक–पटक गरेका कोइरालाको विकल्पमा नेपाली कांग्रेसले अर्को उम्मेदवार प्रस्तुत गर्नुपथ्र्यो । प्रधानमन्त्री बन्ने उचाइ भएका र अन्य पार्टीको पनि समर्थन आर्जन गर्नसक्ने नेताहरूको कमी नेपाली कांग्रेसमा थिएन । तर प्रधानमन्त्री कोइरालाले एक तिरले दुई सिकार गर्ने महत्वाकांक्षा राखे । मधेसी दलहरूलाई समर्थनमा ल्याइदिन्छौं भन्ने बाह्य शक्तिको आश्वासन र एमाले–कांग्रेसको सहकार्य टुटाइदिने एमाओवादी रणनीतिको सिकार कांग्रेस सभापति कोइराला बने ।

कांग्रेस–एमालेबीचको सहकार्य नटुटाएसम्म आफूले चलखेल गर्न नसकिने भएकाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खतरनाक रणनीतिमा लागेका थिए । संविधान निर्माणका क्रममा देखापरेको तीन दलबीचको एकता नटुटाएसम्म मधेसी दलमार्फत राखिएको आफ्नो माग पूरा हुन सम्भव नभएको निष्कर्षमा भारत पुगेको थियो । यी दुवै रणनीतिको सिकार कोइराला बने । आफ्नो पार्टीबाट अर्कोलाई अवसर दिनुभन्दा आफैं बलिमा चढ्न कोइराला तयार हुनुको परिणाम नेपाली कांग्रेसका लागि निकै दूरगामी हुने देखिएको छ । ८० वर्षको उमेर पुग्न लागेका कोइरालाले जिन्दगीको अन्तिम क्षणमा आफ्नो साह्रा प्रतिष्ठालाई दाउमा थापेर पराजय हासिल गरेका छन्, तर उनको यो पराजय व्यक्तिगत मात्रै होइन । नेपाली कांग्रेसको जनाधारमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ । सहमति र सहकार्यको राजनीतिमा नेपाली कांग्रेस बाधक बनेको प्रचार सुरु भएको छ ।

आफू उम्मेदवार बन्नुबाहेक कुनै विकल्प नै नभएका कारण कोइरालाले यो दुर्घटना गराएका होइनन् । अन्तर्राष्ट्रिय परिस्थितिका कारण मुलुकले ओलीको पनि विकल्प खोजेको थियो । एमालेले ओलीबाहेक अर्कोलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दा नेपाल र भारतबीचको वर्तमान गतिरोध हट्ने विश्वासमा अन्तर्राष्ट्रिय जगत थियो, तर एमालेले हठ प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय जगतले ओलीको विकल्पका लागि कांग्रेसको मुख ताकेको हो । यस्तो परिस्थितिमा कांग्रेसले पनि कोइरालाको विकल्प खोज्ने निर्णय गर्नसकेको भए सर्वश्व गुमाउनुपर्ने अवस्था थिएन र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नेपाली कांग्रेसको हातमा आउने सम्भावना थियो । त्यो सरकारले मधेसी समस्या पनि सजिलै समाधान गर्नसक्ने अवस्था थियो । यस्तो अवस्थामा कांग्रेसले संविधान निर्माण गरेको जस मात्रै होइन, मुलुकलाई ट्रयाकमा ल्याएको जस पाउने पनि अवसर रहन्थ्यो , तर कोइरालाको वृद्ध हठका कारण कांग्रेलले अल्पकालीन मात्रै होइन, दीर्घकालीन क्षति बेहोर्नुपरेको छ । तराई मधेसको परम्परागत भोट बैंक नेपाली कांग्रेसले संविधान निर्माणकै क्रममा गुमाइसकेको थियो भने प्रधानमन्त्रीको निर्वाचनका क्रममा नेपाली कांग्रेसले पहाडी क्षेत्रको सेन्टिमेन्ट पनि गुमाएको छ । आसन्न संकटको भुमरीमा पार्टीलाई पर्न नदिन वरिष्ठ नेता शेरबहादुर देउवाले करिब सयजनाको उपस्थिति रहेको केन्द्रीय समितिको बैठकमै सभापति कोइरालालाई सोधेका थिए– ‘ओलीलाई प्रधानमन्त्री बन्न समर्थन गर्ने भद्र सहमति भएको हो कि होइन, तपाई आफैं प्रधानमन्त्रीको उम्मेदवार हो कि होइन ? त्यसमा तपाईंले स्पष्ट पार्नोस्, अनि मात्रै बैठकको एजेन्डा तयार गरेर छलफल अघि बढाउन सहज हुन्छ ।’ तर जवाफमा कोइरालाले भने– ‘केही पनि सहमति भएको छैन, यो सबै अफवाह हो ।’ कोइरालाले यति भनिसकेपछि देउवाले थप कुरा गर्ने अवस्थै रहेन ।

पहिले ठूलो दल कांग्रेसले छाडेर दोस्रो ठूलो दल एमालेलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर बैठकमा अरुले कुरा राख्ने सम्भावना नै रहेन । जसले यस्तो कुरा राख्छ, उसैको पार्टी राजनीति समाप्त हुनसक्ने परिस्थिति निर्माण भयो । ओलीलाई बनाउन भारत नमानिरहेको अवस्थामा कांग्रेसले नै प्रधानमन्त्री पाउने सम्भावना रहेको कुरा कोइराला निकटस्थहरूले बैठकमा राख्न थालेपछि त्यहाँ फरकमतको कुनै गुन्जायस नै रहेन । खासगरी कोइरालाको नेतृत्वमा मन्त्री बनेकाहरूले ओलीको नेतृत्वको सरकारमा पनि मन्त्री बन्न पाउने सम्भावना थिएन । त्यसै कारण उनीहरू पनि ‘न रहे बाँस, न बजे बाँसुरी’ को अवस्थामा पार्टीलाई पु¥याउन कोइरालालाई उकास्न थाले । त्यही उक्साहटमा लागेको कोइरालाको वृद्ध हठले नेपाली कांग्रेसलाई क्षति पुगेको हो । उनको हठमा सहयोग पु¥याउनेहरूमा आनन्दप्रसाद ढुंगाना, मिनेन्द्र रिजाल, रामशरण महत, नरहरि आचार्यलगायत थिए ।

देउवामाथि दोष ?
गत शुक्रबार बेलुकी भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधि र भारतीय राजदूत रञ्जित रायले बालुवाटारमा प्रधानमन्त्रीसँगै शेरबहादुर देउवाले समेत भेटघाट गरेको भनी विभिन्न अनलाइन र सामाजिक सञ्जालमा आएको कुराको देउवाले खण्डन गर्नुभएको छ । आफू केन्द्रीय समितिको बैठकपछि करिब ७ बजेतिर बालुवाटारबाट निस्केपछि भोलिपल्ट शनिबारको बैठकमा मात्र गएको जानकारी उहाँले दिनुभएको छ । नाँच्न नजान्नेले आँगन टेडो देखेझै कोइरालाको पराजय पचाउन नसकेकाहरुले देउवाले फसाएको आरोप लगाउँदै हल्ला मच्चाएका छन् । यस्तो हल्ला गर्नेहरुले कोइरालाको हुर्मत लिन खोजेको पत्ता पाउन सकेका छैनन् । पार्टी सभापति एवम् प्रधानमन्त्रीसमेत भएका कोइरालालाई कसैलाई फसाएर फस्ने कुरा आफै उडन्ते हो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive