Friday, October 16, 2015

मुढा बुनेर दसैँ खर्च जुटाउँदै कैदीबन्दी

इलाम, २९ असोज । इलाम कारागारका कैदीबन्दी यतिबेला मुढा बुनेर दसैँ खर्च जुटाउन व्यस्त छन् ।

कारागारमा रहेका ८० जना कैदीबन्दीले मुढा बनाएर बिक्री गरिरहेका छन् । कारागारभित्रै कैदीलाई मुढा बुन्ने व्यवस्था मिलाइ दिएपछि दसैँका लागि उनीहरु घरखर्च पठाउन थालेका छन् ।

कारागारमा रहेका पाँचथर नागीका उमेश हिङ्नाम, इलाम नगरपालिका–९ का प्रेम अधिकारीले मुढा बुनेर दैनिक रु २०० देखि रु ३०० कमाई गरिरहेका छन् “परिश्रम गरेअनुसारको आम्दानी राम्रै छ” अधिकारीले भन्नुभयो । मुढाबाट भएको रु पाँच हजार आम्दानी भर्खरै दसैँका लागि घर पठाएको उहाँले बताउनुभयो ।

कारागार प्रमुख दुर्गाप्रसाद दुलालले कैदीबन्दीलाई आम्दानी गर्न मुढा बुन्ने अवसर दिलाई दिएको र यतिबेला अधिकांश कैदीबन्दी मुढा बुनेर दसैँ खर्च जुटाउन लागिपरेको बताउनुभयो ।

जीतपुर–६ का मनबहादुर मगर, सिद्धिथुम्का–९ का प्रेमवाला राई, इरौंटार–७ का धनकुमार राईलगायतका कैदीबन्दी मुढा बुन्ने काममा लागिपरेका छन् । “दिनभर बेकम्मा भएर बस्नुभन्दा सीप पनि सिकिने, दसैँ खर्च पनि हुने भएकाले मुढा बुन्न व्यस्त छु,” धनकुमार राई भन्नुहुन्छ । मुढाको कुँडुलो बनाएर धागो लगाउने काम गर्ने गरेको उहाँले बताउनुभयो ।“डाइनिङ टेवल बनाएको एक सेटको रु छ हजारदेखि रु १८ हजारसम्म बिक्री गर्ने गरेका छौँ” उहाँले भन्नुभयो । कैदीबन्दीले मुढाका साथै ढाकी, डाला पनि बनाउने गरेका   छन् ।

मुढा बुनेर दैनिक रु ३०० सम्म आम्दानी हुने कैदीबन्दीहरु बताउँछन् । यहीबाट कमाएको केही पैसा घरखर्चका लागि उनीहरुले पठाउने गर्नुभएको छ ।कोही बाँसको सिन्का चिर्ने, मुढाको कुँडुलो बनाउने, कोही फेदमा टायर लगाउँछन् । एक सय जना पुरुष र २५ महिला गरी १२५ जनाको क्षमता रहेको कारागारमा अहिले ३४० जना कैदीबन्दी छन् ।

यहाँ उत्पादन भएको मुढा इलाम, पाँचथर, काठमाडौँ, विराटनगर, भारतको विभिन्न सहरसम्म पु¥याउने गरेको कारागारका कर्मचारी प्रदीप न्यौपानेले बताउनुभयो । कैदीबन्दीले बनाएको मुढा आकर्षक, टिकाउ र गुणस्तरीय हुने भएकाले यहाँको मुढाको माग धेरै रहेको कारागार शाखाले जनाएको छ ।

एउटा मुढा बनाउन अधिकतम रु ३०० सम्म खर्च लाग्ने कैदीबन्दी बताउँछन् । यहाँ बनाइएका मुढा रु २०० देखि रु ६०० तथा डाइनिङ टेबल रु छ हजारदेखि रु १८ हजारसम्म पर्ने कैदीबन्दी बताउँछन् ।

कैदीको सीप विकासका लागि जिल्ला घरेलु तथा साना उद्योग विकास समितिले कैदीबन्दीलाई विभिन्न समयमा मुढा बुन्ने, ढाकाका कपडा बनाउने तालिमसमेत प्रदान गर्दै आएको छ । सुधार गृहका रूपमा रहेको यो कारागार मुढा उत्पादनका लागि देशकै नमुना भएको कारागारले जनाएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive