Thursday, October 15, 2015

धनगढी नगरमा बस्ती विकास, सहरी योजनासम्बन्धी मार्गदर्शन लागू

धनगढी, २८ असोज । गत वैशाखमा गएको भूकम्पपछि सरकारले स्वीकृत गरेको ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन–२०७२’ धनगढी उपमहानरपालिका क्षेत्रमा लागू गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको बुधबार बसेको विशेष नगरपरिषद् बैठकले यो मार्गदर्शन पारित गरेसँगै उपमहानगर क्षेत्रमा यो बस्ती विकास सहरी योजना र भवन निर्माणसम्बन्धी मार्गदर्शन, २०७२ लागू भएको हो ।

नगरपरिषद्को बैठकबाट पारित गराएर मात्र यो मार्गदर्शन कार्यान्वयनमा लैजानुपर्ने व्यवस्था रहेको परिप्रेक्ष्यमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि यसअघि सम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था सामान्य हुन नसकेकाले ढिलो गरी विशेष नगरपरिषद्को बैठक आयोजना गरी मार्गदर्शन पारित गर्नु परेको बताइएको     छ ।

धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठको अध्यक्षतामा बसेको विशेष नगरपरिषद् बैठकमा मार्गदर्शनले व्यवस्था गरेको मापदण्डका विषयमा कार्यकारी अधिकृत श्रेष्ठ र इन्जिनियर द्विजराज भट्टले जानकारी दिनुभएको थियो ।

धनगढी उपमहानगर क्षेत्रमा रहेका सडकको चौडाइ कति हुने भन्ने बारेमा समेत छलफल भएको बैठकमा राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी, सर्वसाधारणलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा धनगढी बजार क्षेत्रलाई बीचमा पार्ने गरी वरिपरि चक्रपथ बनाउनेसम्बन्धी तयार पारिएको प्रस्तावका बारेमा समेत छलफल भएको थियो । इन्जिनियर भट्टले धनगढीलाई आकर्षक र व्यवस्थित सहर बनाउन १, २, ३, ५, ६, ७, ८ र १३ नं वडाका केही क्षेत्र समेटिने गरी चक्रपथ निर्माणको योजना तयार पारिएको बताउनुभयो । साबिकको धनगढी नगरपालिकालाई नजिकका उर्मा र फूलबारी गाविससमेत गाभेर हालै सरकारले धनगढी उपमहानगरपालिका बनाएको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive