प्रहरी चौकीको अभावमा तस्करी मौलायो
जनकपुरधाम, २८ असोज । असुरक्षाका कारण सीमा क्षेत्रमा रहेको प्रहरी चौकी हटाइएपछि दक्षिणी धनुषामा तस्करी बढ्दै गएको छ ।
प्रहरी चौकी नभएको मौका छोपी धनुषाका तस्करले सीमावर्ती भारतीय बजारबाट दैनिक लाखौँ रुपैयाँका सामानहरु तस्कर गर्ने गरेको रहस्य खुलेको छ । अहिले सीमावर्ती भडडिया, दुहवी, ठाढी झिझा, चोरा कोयलपुर, तिनकौरिया, गिद्धा र इनरवाबाट प्रहरी चौकी हटाइएपछि तस्करी मौलाउन पुगेको हो ।
केही दिनअगाडि धनुषा तारापट्टिका सुरेश भन्ने एक व्यक्तिले भारतबाट लुकाइछिपाई दुई ट्र्याक्टर रासायनिक मल ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय खजुरीले पक्राउ गरेको थियो । सीमावर्ती भारतको हरणे बजारबाट मात्रै दैनिक ५० लाख रुपैयाँभन्दा बढीको सामान तस्करी भई धनुषा भित्रिने गरेको स्थानीय व्यापारीले बताउँछन् । करिब ६० वटा पसल रहेको हरणे बजारबाट मात्रै तस्करले दिनमा करिब ४०० बोरा चिनी, खानेतेल, चामल, दाल लगायतका उपभोग्य सामान नेपाली भूभागमा तस्करी गर्ने गरेको स्थानीय भारतीय व्यापारी राधेश्याम चौधरीको भनाइ छ ।
हरणे बजारका थोक बिक्रेता रामप्रकाश साह, रामसागर, रामचन्द्र जस्ताबाट तस्करले रातिको समयमा ट्र्याक्टरबाट तस्कर गर्ने गर्दछन् । सीमा क्षेत्रमा खटिने दुबैतर्फका प्रहरीलाई कमिसन खुवाएर तस्करहरुले आफ्नो धन्दा चलाएको स्थानीय व्यापारीको भनाइ छ । अहिले भडडियामा रहेको प्रहरी चौकी असुरक्षाको कारण अन्यत्र सारिए पनि धनौजीमा सशस्त्र प्रहरी बलको कार्यालय रहेको छ । यहाँ पनि तस्करी नघटेको स्थानीयवासी बताउँछन् ।
तस्करहरुले हरणे बजारबाट भडडियाको बाटो हुँदै खिरखिरिया टोल, अकौरा, बहुअर्वाको बाटो हुँदै सामान नेपाल भित्र्याउँछन् । फुटकर तस्करले एलपी ग्यास, पेट्रोल मोटरसाइकलमा राखी तस्करी गर्ने गरेका छन् । केही हदसम्म तस्करी भइरहेको स्वीकार्दै सशस्त्र प्रहरी बल (बिओपी) धनौजीका सशस्त्र प्रहरी निरीक्षक साजिन्द्र श्रेष्ठले भने जनपथ प्रहरी नभएको र असुरक्षाको स्थिति विद्यमान रहेकाले सशस्त्र प्रहरी अहिले अधिकांश समय ब्यारेक भित्रै बस्ने गरेको जवाफ दिनुभयो ।
प्रहरी चौकी नभएको मौका छोपी प्रहरी चौकी ठाढी झिझाअगाडि रहेको रेल्वेका काठको लिक समेत चोरेर लाने गरेको महिनाथपुरका स्टेसनका मास्टर ज्योतिषप्रसाद मोहरानले बताउनुभयो । हाल आन्दोलनको कारण सिमेन्ट, बालुवा, गिट्टी, छड लगायतका निर्माण सामग्रीको अभाव भएपछि रेल्वे लिक विस्तारको सम्पूर्ण कार्य दुई महिनादेखि ठप्प रहेको छ ।
वीरेन्द्र कर्ण
0 comments:
Post a Comment