Friday, October 16, 2015

वार्ता औपचारिकताका लागि मात्र भएको छ – डा. शिवजी यादव, प्रमुख सचेतक संघीय समाजवादी फोरम नेपाल

० सरकार र मधेसी मोर्चाबीचको वार्ताले खासै सुखद समाचार दिन सकेन, किन ?

– वार्ताका नाममा सरकार र ठूला तीन दलले आन्दोलनलाई तुहाउन खोजेका हुन् । सुरुमा पटक पटक आव्हान गर्दा मोर्चा वार्तामा आएन भनेर उनीहरुले प्रचारबाजी गरे । अनि हामीले आन्दोलनमै बसिरहेका साथीहरुलाई वार्ता कमिटी बनाएर कााठमाडौं पठायौं, तर यसबीचमा प्रमुख तीन दलका तर्फबाट गठित वार्ता टोलीले नै वास्ता गरेको छैन । दुई दिन वार्ता बस्यो, त्यसपछि बसेन । यसरी सहमतिमा कसरी पुग्न सकिन्छ । यसकारण प्रमुख दलहरु नै वार्ता प्रति सकारात्मक छैनन् । यो वार्ता केवल औपचारिक मात्र भएको छ ।

० वार्ता टोलीबाट तपाई आशावादी हुनुहुन्न ?

– आशावादी हुने कसरी ? तपाई नै भन्नुहोस् न वार्ता –वार्ता भनियो, हामीले वार्ता टोली गठन ग¥यौं पनि, तर यतिबेला उनीहरुले नै वास्ता गरेका छैनन् । अब त झन् सरकार गठनको खेल सुरु भइसकेको छ । वार्ता टोलीकै सदस्यहरु पर्टीकै काममा व्यस्त हुनुहुन्छ । मोर्चाका तर्फबाट गठित वार्ता टोलीका सदस्य साथीहरु वार्ताका लागि कुरेर बस्नुपरेको छ । यति बेला त प्रमुख दलहरुको वार्ता टोली बढी सक्रिय हुनुपर्ने हो तर यहाँ त उनीहरुलाई नै वास्ता छैन । कसरी हामी उनीहरु वार्ताबाट सहमति निकाल्न गम्भीर छन् भनेर विश्वास गर्ने ? सुरुमा हामीलाई दोष देखाउँदै हुनुहुन्थ्यो । अहिले हामी वार्तामा आयौं उहाँहरु नै वार्ताबाट भागेजस्तो देखिन्छ ।

० ढिलो चाँडो वार्ताबाटै निकास निकाल्नु पर्ने बाध्यता छ, कसरी कुरा मिल्ला ?

– वार्ताको विकल्प छैन । हामी वार्ता विरोधी हुँदै होइनौं । आज पनि हाम्रो वार्ता टोली काठमाडौंमा बसिररहेको छ । म त के भन्छु, वार्ता गरिराख्नुपर्ने कुरा नै थिएन । हामीले हाम्रा मागहरु प्रष्टसँग राखिसकेका छौं । ति मागहरु सरकारले पूरा गरिदिए भइ हाल्यो नि । हामीले आज कुनै नयाँ मागहरु राखेर आन्दोलनमा गएका होइनौं । अन्तरिम संविधानमा जुन कुरा उल्लेख भएका थिए, ति हुबहु अहिलेको संविधान पनि उल्लेख गर्न‘प¥यो भन्ने हाम्रो माग हो । हिजो सहमति भएर कार्यान्वयमा समेत गइसकेका विषयहरुलाई उखेलेर फाल्नु कतिसम्मको बेइमानी होला, तपाई आफै भन्नुहोस् न । हामीसँग जे सहमति भएको थियो, त्यो कार्यान्वयन होस् हामी आन्दोलन फिर्ता लिन्छौं, वार्ता गर्नैपर्दैन, सबै कुरा मिल्छ ।

० तपाईहरु सीमांकनमा कुरा नमिलि हुँदैन भन्नुहुन्छ । यो त संघीय आयोगबाट टुंगो लगाउने भनिसकेका छन् नि ?

– यो विषय कुनै वार्ता टोलीबाट मात्र समाधान हुँदैन । म प्रष्ट पार्न चाहन्छु । यो उच्च राजनीतिक नेतृत्वबीच बसेर गम्भीर छलफल गरेर टुंग्याउन सकिन्छ । तर सीमांकनको विषयमा उहाँहरु कुरै गर्न मान्नुहुन्न । यो वार्ता टोलीमा छलफल गरेर मात्र हुँदै हुँदैन ।

० तपाईहरु एक पछि अर्काे माग थप्दै जानुहुन्छ । अनि कसरी सहमति हुन्छ ?

– हामीले प्रष्टसँग हाम्रा मागहरु राखेका छौं । हामीले राखेका कुनै पनि मागहरु नयाँ होइनन् । हिजो यिनै दलहरुले सहमति गरेर अन्तरिम संधिानलेसमेत ग्रहण गरिसकेको विषय हो । तर आज नयाँ संविधानमार्फत् जनताका मुद्दालाई संस्थागत गर्न‘पर्ने बेला हामीले आन्दोलनबाट प्राप्त गरेका उपलब्धीहरु भने नसमेट्ने र अधिकार कुण्ठित गर्न‘ भनेको त मधेसी जनजातीहरुमाथिको अपमान हो । झन् अधिकारविहीन बनाउने काम हो । पहिला पनि आयोग बनेको थियो । त्यो आयोगले दिएको प्रतिवेदन कार्यान्वयन नभएको त हामी सबैलाई थाहा नै छ । अनि यति बेला अब बन्ने आयोगले दिने प्रतिवेदन कार्यान्वयन हुन्छ भनेर कसरी विश्वास गर्ने ?

० दशैं तिहार, छठ लगायतका ठूला पर्वहरु नजिकिदै छन् । तपाईहरुको आन्दोलनले चाडवाड समेत मान्न नपाइने जस्तो अवस्था छ । अब आन्दोलनको स्वरुप बदल्ने बेला भएन ?

– हामी बाध्य भएर आन्दोलनमा गएका हौं । यो कुनै रहर होइन । कुनै बार्गेनिङ नगरे हुन्छ कि यो बीचमा चाड आयो पर्व आयो भनेर । नेपाली जनतालाई इमोसनल बनाएर, सेन्टिमेण्टल बनाएर आन्दोलन तुहाउने प्रयास भइरहेको छ । तर हामी आन्दोलन रोक्दैनौं । हामी एक दुई दिनमा आन्दोलनलाई थप प्रभावकारी र सशक्त कसरी बनाउने भनेर छलफल गर्दैछौं । यो हाम्रो अधिकारको लडाई हो । पटक पटक आन्दोलन गर्न‘भन्दा अब यसैलाई निर्णायक बनाउने हाम्रो मिसन हो ।

० तपाईहरुको आन्दोलनलाई देखाएर भारतले नाकाबन्दी नै लगाइसक्यो । देशलाई नै असफल बनाउने यो कस्तो आन्दोलन हो ?

– अहिले सीमामा आन्दोलन गर्न‘ बाध्यता हो । हामीलाई प्रशासनले लखेट्दै बोर्डरमा पुगाएको हो । बोर्डर बन्दाले हामीलाई समस्या छैन होला ? दुख त हामीलाई पनि छ । हामी झन् त्यही सीमा नजिकै बस्ने मान्छे हौं । आज काठमाडौंलाई मात्र होइन् मधेसमा समस्या छ । अहिले सम्म सरकार गम्भीर नहुने, दलहरु गम्भीर नहुने , प्रसासन, सेना प्रयोग गरेर आन्दोलन कमजोर बनाउन खोज्दै छन् । हामी हाम्रो सुरक्षाका लागि पनि सीमामा बस्नुपर्ने अवस्था आयो । राज्य यसरी सञ्चालन हुन्छ ? आन्दोलन त्यहाँ गरेर हामीहरु घरमा जान सक्ने अवस्था छैन ।

० तपाईको आन्दोलनमा भारतको सहयोग छ भन्छन् नि ?

– अब यसमा म धेरै टिकाटिप्पणी गर्दिन । हामीलाई सहयोग मिल्ने गरी भारत या अरु कुनै देशले बोल्यो भने हामी त्यसलाई छिमेकी या विदेशीको हाई हाई गछौं, आफु अनुकूल भएन भने त्यो हस्तक्षेप हुन्छ । माओवादी आन्दोलनलाई शान्तिपूर्ण अवस्थामा ल्याउन भारतले सहयोग गर्दा त्यो हस्तक्षेप नहुने, अनि मधेसी जनताको मागलाई कमजोर बनाउन भारतको सहयोग भनेर भ्रमहरु सिर्जना गर्दै आन्दोलनलाई कमजोर बनाउन खोज्ने ? यो आन्दोलन आममधेसी नागरिकहरु आन्दोलन हो । मधेसी जनताको स्वाभिमानको आन्दोलन हो । यसलाई कुनै देशको रंग दिएर आन्दोलन कमजोर बनाउने सपना कसैले नदेखे हुन्छ । आज दुई महिनादेखि मधेसी जनताहरु आन्दोलनमा छन् । यो राज्यले त विभिन्न हत्कण्डा अपनाएर आन्दोलनलाई कमजोर बनाउन खोजेकै हो नि । त्यसमा असफल भएपछि अहिले भारतको सहयोग छ या भारतको निर्देशनमा आन्दोलन भयो भनेर आन्दोलनकारी शक्तिको बद्नाम गर्ने गलत बाटो अपनाईरहेको छ । म भन्न चाहन्छु कि छलफल र संवादबाटै निकास निकालौं । हामीलाई आन्दोलन गर्ने रहर छैन ।

० ३५ बुँदे संशोधन प्रस्ताव पेशबारे मोर्चामा विमति देखियो । किन ?

–यसबारे मलाई पनि धेरै कुरा थाहा छैन । ३५ बुँदे कहाँबाट आयो कसले ल्यायो ? तर यो मोर्चाको प्रस्ताव होइन ।

० कहिलेसम्म आन्दोलन गर्न‘हुन्छ ?

– जबसम्म हाम्रा मागको सुनुवाई हुँदैन तवसम्म आन्दोलन रोकिन्न । हामी आन्दोलनलाई थप शसक्त र प्रभावकारी बनाउँदै राज्यलाइ हाम्रा माग सम्बोधन गर्न बाध्य बनाउँछौं । हामी अब केही समय थप दुख सहन तयार छौं, तर अब कुनै पनि सम्झौतामा यो आन्दोलन रोकिन्न । कसैले बार्गेनिङ गर्न छोडे हुन्छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive