एमालेमा मन्त्री हुन चाहनेको लर्को वामदेव फेरि र्याल काढ्दै
काठमाडौं । एमालेको तर्फबाट पटक–पटक सरकारको नेतृत्व गरेका वामदेव गौतमले चौथोपटक पनि र्याल काढेका छन् । गृहमन्त्रीका रूपमा चौतर्फी आलोचित बनेका गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग अब अन्तिम पटकका लागि मौका दिन आग्रह गरेका बालकोट निकट स्रोतको दाबी छ ।
स्रोतका अनुसार, बालकोट पुगेर गौतमले ‘अब पार्टीमा पनि मेरो कार्यकाल यति हो, फेरि सरकारमा पनि हुन्न । यसपटक तपाईंको नेतृत्वमा बसेर काम गर्न इच्छा छ’ भन्दै मन्त्री हुने इच्छा देखाएका हुन् । एमालेले गृह मन्त्रालय नपाउने निश्चित भए पनि उनले ऊर्जा मन्त्रालयतर्फ ध्यान केन्द्रित गरेका छन् । बालकोट स्रोतका अनुसार गौतमले प्रथम उपप्रधानमन्त्रीसहित कृषि या ऊर्जा मन्त्रालय पनि रोजेका थिए । गौतमले यसपटक आफ्नोतर्फबाट थप दुईजनालाई मन्त्री बनाउन अध्यक्ष ओलीसँग माग गरेका छन् । गौतमलाई मन्त्री बनाए पार्टीमा विद्या भण्डारीलाई कार्यबाहक दिने सजिलो हुने भएकाले पनि अध्यक्ष ओलीले छलफल अघि बढाएको बुझिएको छ ।
सांसद नभएका नेतालाई मन्त्री बन्ने बाटो संविधानले नै रोकेपछि एमालेमा पदाधिकारीबाट दुई नेतालाई मन्त्रिपरिषद्मा सामेल गर्न र अरु तलका नेताहरूलाई स्थान दिने मनस्थिति ओलीले बनाएका छन् । पार्टी उपाध्यक्ष भीम रावललाई मन्त्री हुन नदिन सुदूरपश्चिमका ओली समूहकै कार्यकर्ता अहोरात्र खटिएका छन्, तर ओलीले उनलाई सन्तुलन मिलाउन पनि सरकारमा लैजान सक्ने बताइन्छ ।
बाजुराका कर्णबहादुर थापादेखि दार्चुलाका गणेशसिंह ठगुन्ना, कैलालीका मोहनसिंह राठौर, बैतडीका दामोदर भण्डारीसमेत सुदूरपश्चिमबाट सधैं भीम रावललाई मात्रै मौका दिने भन्दै चर्को लबिङमा लागेका छन् । उपमहासचिव विष्णु पौडेललाई मन्त्री बनाउने कसरत भएको छ । माधव नेपाल र ओलीबीचको दूरी घटाउन मुख्य भूमिका खेलिरहेका पौडेललाई दिने मन्त्रालयबारे कुरा भइसकेको स्रोतले जनाएको छ । एमालेले अर्थ मन्त्रालय पाउने भएका कारण माधव नेपाल प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डेको पल्लाभारी छ । पाण्डे अर्थमन्त्री बन्ने निश्चित भएपछि महासचिवमा आफूसँग प्रतिस्पर्धा गरेका कारण ईश्वर पोखरेलले उनलाई रोक्न कोसिस गरिरहेको स्रोतले जनाएको छ ।
त्यसैगरी, माधव नेपालले त्यतिबेला आफूलाई अर्थमन्त्री बनाएनन् भनेर गुनासो गर्दै आएका स्थायी समिति सदस्य शंकर पोखरेल पनि पाण्डेको बाटोमा तगारो बन्ने बताइन्छ । नेपाल समूहबाट भीम रावल र पाण्डेमध्ये एकजना रोज्दा ओलीको रोजाइमा रावल पर्ने देखिएको छ । तराईबाट धनुषाका शत्रुघन महतोलाई मन्त्री बनाउन लबिङ भइरहेको छ । स्थायी समिति सदस्य सत्यनारायण मण्डलको व्यक्तित्व खासै नभएको र उनको तराईमा प्रभाव नभएका कारण प्रत्यक्षतर्फबाट निर्वाचित महतोका पक्षमा मधेसी सांसदहरूले लबिङ गरिरहेका छन् । त्यस्तै, महोत्तरीका रामदयाल मण्डलले नेताहरूसँग भेटघाट गरिरहेका छन् । नागेन्द्र चौधरी, वंशीधर मिश्र पनि लाइनमा छन् । मध्यपश्चिमबाट पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले मन्त्री बन्ने अवसर पाए भने अरुको बाटो बन्द हुनेछ ।
चौधरी ग्रुप, सिभिल ग्रुपलगायतका विभिन्न निजी कम्पनीका वैतनिक वकिलका रूपमा कार्यरत झापाका अग्निप्रसाद खरेल कानुनमन्त्री बन्न चाहन्छन्, तर सो मन्त्रालय अरु दललाई पर्ने सम्भावना बढी छ । नयाँ पुस्ताको तर्फबाट भन्दै भानुभक्त ढकाललाई मन्त्री बनाइने बुझिएको छ । माधव नेपालका तर्फबाट यसपटक पशुपति चौलागाईंले मौका पाउने छन् । दार्चुलाका गणेशसिंह ठगुन्ना र झापाकै दीपक कार्कीलाई मन्त्री बनाउन केन्द्रीय सदस्य हिक्मत कार्की लागेका छन् । महिलाबाट थममाया थापाको सम्भावना देखिएको छ भने जनजातिबाट नवलपरासीका बैजनाथ थारुका लागि विष्णु पौडेलले बल गरिरहेको स्रोतले जनाएको छ ।
0 comments:
Post a Comment