Friday, October 16, 2015

एमाले बैठक : राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षीसँग मिलेर अघिबढ्ने

काठमाडौँ, २८ असोज । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग मिलेर अघि बढ्नुपर्ने ठहर गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले काँग्रेससँगको सहयात्राका बारेमा आवश्यक छलफल र समन्वयका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ ।

बैठकपछि स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले ‘भद्र सहमति’ तोडिएर प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्रीको चयन भएको अवस्थामा पनि काँग्रेससँग मिलेरै राष्ट्रिय समस्याको समाधान गर्नुपर्नेमा पार्टीले जोड दिएको बताउनुभयो ।संविधान जारी हुनु पूर्व एमालेलाई प्रधानमन्त्री र काँग्रेसलाई राष्ट्रपतिको जिम्मेवारी बाँडफाँड गर्नेबारेमा प्रमुख दलबीच ‘भद्र सहमति’ भएको बाहिर आएको थियो ।

बैठकले रिक्त सभामुख र उपसभामुखको निर्वाचनका सन्दर्भमा अन्य दलसँगको समन्वय र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई नै दिएको छ । बैठकमा मुलुकको वर्तमान अवस्थाबारे प्रधानमन्त्री ओलीले समग्र जानकारी गराउनुभएको थियो । बैठकले विद्यमान आपूर्ति व्यवस्थापनको समस्या सम्बोधनका लागि उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ । सोही सन्दर्भमा छिमेकी भारतसँग सीमामा जारी अघोषित नाकाबन्दीलगायतका विषयमा वार्ता गर्न उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा यही साता भारतको भ्रमणमा जाने बैठकमा जानकारी गराइएको छ । थापालाई सरकारले भारतसँगको वार्ताका लागि गठित समितिको संयोजक पनि तोकेको छ । एमालेले पेट्रोलियम पदार्थको अभावका समयमा जनताले देखाएको धैर्यप्रति आभार प्रकट गरेको छ ।

मन्त्री चयनको मापदण्डमा छलफल

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि ठोस निर्णय भएन । नेता पाण्डेका अनुसार मन्त्री चयनको मापदण्डबारे छलफल भएको र विधि र प्रक्रियाबाट निर्णय गर्न जोड दिइएको छ । बैठकले प्रधानमन्त्री ओली र नयाँ मन्त्रीलाई कार्यकालको सफलताको कामना गर्दै बधाई पनि दिएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive