संविधान संशोधन प्रक्रिया सहजरुपमा अगाडि बढोस् – उपसभापति पौडेल
काठमाडौँ, २९ असोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अघिल्लो सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रक्रिया सहज रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को बिहिवारको बैठकलाई सम्बोधन गर्दै उहाँले तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्ने मनसायका साथ अघिल्लो सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावलाई दुईतिहाइ मतका आधारमा पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
भूकम्पपीडित जनतालाई राहत दिन र पुनःनिर्माणको काम अगाडि बढाउन सरकार सफल हुने विश्वास व्यक्त गर्दै उहाँले सुशासन कायम गर्दै प्रशासन यन्त्रमा मनोबल बढाउन सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकको अर्थतन्त्र बर्बाद भएको भन्दै उपसभापति पौडेलले अर्थतन्त्रलाई माथि उठाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सात प्रदेशको सङ्घीय प्रदेश बनेसँगै स्थानीय तहमा पुनःसंरचनाको जरुरी रहेको भन्दै उपसभापति पौडेलले भन्नुभयो– “राज्यको पुनःसंरचना भएरमात्रै हुँदैन, संस्कार र संस्कृतिको पुनःसंरचना गर्नुपर्छ, सामन्ती चरित्रमा पुनःसंरचना गर्नुपर्छ ।”
तराई मधेसमा रहका जनताले आफू पक्षपातमा परेको हो कि भन्ने भावना विकास भएको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारलाई गुण र दोषका आधारमा विरोध वा समर्थन गर्ने उहाँको प्रष्टोक्ति थियो ।
0 comments:
Post a Comment