Sunday, October 11, 2015

जंगली गधा जस्तो पो भयो कि हाम्रो प्रजातन्त्र ? – कमल कोइराला

‘कविरा गरीबको ना सताइए, जाकी मोटी हाय † मरे बैलके चामसे लोहा भष्म होजाय ††’ सन्त कविरदास भन्ने धेरै पुराना हिन्दीका प्रसिद्ध कवि हुन् । उनको जन्म सन् १४४० अर्थात् आजभन्दा ५७५ बर्ष पहिले भारतमा भएको थियो । मैले उनको माथि लेखेको दोहा अर्थात् दुई हरफे कविताको अर्थ के हो भने गरीब दु:खीहरूलाई कहिले पनि सताउनु हुँदैन किनभने उनीहरूलाई कष्टमा पार्ने बलियाहरूका विरुद्ध केही गर्न सक्दैनन् र केवल मोटो श्वास फेरेर सहन्छन् ।

तर, कमजोर र दु:खीलाई सताउनेहरूको पनि भलो चाहिं हँुदैहुँदैन । जीवनभर अरुको हलो जोतेको गोरुको मरेपछिको छालाले गाउँका गरीब कामीहरूको फलाम गलाउने आरनमा हावा दिन्छ र फलाम भष्म पार्छ । भारत हामीभन्दा भौगोलिक, सैनिक, आर्थिक र जनसंख्याका हिसाबले धेरै ठूलो छ । आज भारतले नेपालमाथि आर्थिक नाकाबन्दी गरी नेपाली जनतालाई कष्टमा पार्दा हामी नेपाली कष्ट र चिन्ताको मोटो श्वास फेर्ने काम गरेर दिनरात काटिरहेका छौं । तर, हामी नेपालीलाई ठूलो कष्टमा पार्ने ठूलो र बलियो छिमेकी भारतले पनि आम नेपाली जनताको सद्भावना गुमाइरहेको छ । र, नेपालको नयाँ पुस्ताले पनि पुराना पुस्ताहरूले झैं एकपटक फेरि आफ्नो जीवनकालमा माटो जोडिएको छिमेकी भारतको आर्थिक नाकाबन्दी र यसको दु:खद परिणामहरूको तीतो अनुभव गर्न पाए ।

२०७२ असोज १३ गते (३० सेप्टेम्बर) चीनका राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्र संघको महासभामा नेपाल र भारत दुवैको नाम नलिई भने–‘ठूला, बलिया र धनीले कमजोर र गरीबलाई पेल्न मिल्दैन ।’ त्यत्ति पढ्न पाउँदा पनि दक्षिणको छिमेकीको नाकाबन्दीले दु:खकष्टमा परेका नेपाली जनताको मनमा राहतका साथै भविष्यको आशा संचार भयो कि हाम्रो देशसँग माटो जोडिएको अर्काे ठूलो देश पनि छ र त्यो पनि आर्थिक रुपले आज विकसित छ । यसैबर्ष १२ बैशाख २०७२ मा ठूलो भँुइचालाको मारले हामी नेपाली ठूलो कष्टबाट राहतको श्वास पनि फेर्न पाएका छैनौं । त्यसैबखत डेढ महिना जति भयो र विशेषगरी नेपालको संविधानसभाबाट संविधान अनुमोदित भएपछि भारतले नांगो रुपले प्रस्तुत हुँदै नेपालको आर्थिक र पारवहन नाकाबन्दी सुरु गरेर नेपालीले भोगेको प्राकृतिक पीडापछि छिमेकीको बज्रप्रहारले दैनिक जीवनमा अर्को पीडा भोग्न बाध्य हुनुपर्‍यो । काठमाडौंस्थित भारतीय राजदूत रञ्जित रे ले झूटपछि झन् झूट बोल्दै भने ‘भारतले नाकाबन्दी गरेको होइन । सीमाक्षेत्रमा अशान्ति र धर्ना भएकाले यातायात अवरोध भएको हो ।’

वि.सं.२०२८ मा नेपालको अंगीकृत नागरिकता लिएका राजेन्द्र महतो मार्का आफ्नै मुखले ‘भारतवादी’ भन्ने ब्यक्तिलाई नेपालका जनताले अस्वीकृत गरी चुनाव हराएका व्यक्तिहरू आज भन्दैछन् कि यो नाकाबन्दी भारतले होइन हामीले गरेका हौं । अंगीकृत नागरिक राजेन्द्र महतो गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा पटक पटक भ्रष्टाचारको ठूलो अखडा रहँदै आएको आपूर्ति मन्त्री भएर आयल निगममा प्रशस्त लूटको सिकार गर्ने मौका पाएका व्यक्ति हुन् । वि.सं.२०७० मा चुनाव हारे, तर यी अंगीकृत नागरिक भन्दैछन् कि हिजो भारतबाट आएका अंगीकृतले पनि राष्ट्रपति र प्रधानमन्त्री हुन पाउनुपर्छ । राष्ट्रपति र उपराष्ट्रपति दुवै आज तराईका मधेशी नै छन् । एकजना यादव र अर्का मैथली झा ब्राहमण हुन् ।

रञ्जित रे ले र राजेन्द्र महतो मार्का व्यक्तिहरूले भनेको भारतले नाकाबन्दी गरेको होइन भन्ने झूटको सबैभन्दा ठूलो उदाहरण काकडभिट्टा भन्सार हो जहाँ एउटा मुसाले पनि धर्ना दिएको छैन र प्रदर्शन गरेको छैन । तैपनि भारतको सीमा सशस्त्र बल(एसएसबी) र भारतीय कस्टम कर्मचारीहरूले नयाँदिल्लीको आदेश बमोजिम नेपाल छिर्ने सबै सामान रोकेका छन् । र, हिजो भारतबाट छिरेर कुनै प्रकारले नागरिकता लिएको व्यक्तिलाई पनि सर्वाेच्च शासक हुन पाउनुपर्छ भनि आन्दोलन गर्दैछन् ।

जर्मन मूलका ब्यक्ति हेनरी किसिन्जर अमेरिकामा धेरै ठूला र लोकप्रिय परराष्ट्र मन्त्री भए । अंगीकृत नागरिक आरनोल्ड स्वाइजेन बर्गर ठूलो प्रान्त क्यालिफोर्नियाका गभर्नर भए, बबि जिन्दल नामको भारतीय मूलका व्यक्ति पनि न्यूजर्सी प्रान्तका गभर्नर भए । तर, अमेरिका जस्तो संसारकै प्रजातान्त्रिक मुलुकको राष्ट्रपतिको निर्वाचन लड्न र हुन् उनी(अंगीकृत नागरिक)हरूले पाउँदैनन् । किनभने उनीहरू अमेरिकाका जन्मसिद्ध नागरिक होइनन् । तर, बाराक हुसेन ओबामा एउटा मुसलमान केन्याको नागरिकको छोरा तर अमेरिकामा जन्मेको जन्मसिद्ध नागरिक हुँदा आज अमेरिकाको राष्ट्रपति बन्ने मौका पाएका छन् । उनी पहिले पनि अमेरिकाको सिनेटमा निर्वाचित सिनेटर थिए । विश्वकै अर्को बढी प्रजातान्त्रिक मुलुक नेपालमा भने कयौं महिलाहरू बिहार र भारतका अरु प्रान्तमा जन्मे पनि नेपालीसँग विवाह गरेकाले पनि नेपालको संविधानसभा सदस्य हुन पाएकै छन् । मिर्जा दिलसाद् वेगजस्ता भारतको उत्तरप्रदेशबाट नेपाल छिरेका व्यक्ति र राजेन्द्र महतोजस्ता २०२८ मा बिहारबाट नेपाल छिरेर नागरिकता पाएर मन्त्री हुन पाएकै छन् । तर पनि राजेन्द्र महतोजस्ता व्यक्तिहरू यो संविधान २०७२ ले नेपालमा जन्मिएका व्यक्तिमात्र राष्ट्रपति र प्रधानमन्त्री इत्यादि हुन पाउने प्रँवधानका विरुद्धमा लाज पचाएर लागेकै छन् ।

आज हामी नेपालीहरू विश्वका जनताले स्वतन्त्रपूर्वक बाँच्न र खाना, औषधि मूलो गर्न पाउने हक खोसिएर, नाकाबन्दी सहँदै छौं, खेप्दैछौं र बेहोर्दैछौं । मित्रराष्ट्र भारतसँग भएको ब्यापार, पारवहन सन्धि र अन्तर्राष्ट्रिय कानूनले पनि हाम्रो समुन्द्रसम्म आउजाउ गर्न पाउने पारवहन हक जबर्जस्ती खोसियो । हाम्रा नेताहरूले भारतसँग आत्मसमर्पण गरी आफैंले भर्खर बनाएको संविधानमा हस्ताक्षर गरेको मसी पनि नसुक्दै संविधान संशोधन गरेर भारतलाई रिझाउन खोज्दैछन् । संविधान संशोधन उचित वा अनुचित जे भएपनि हामी नेपालका जनताले यति हतारो गरेर नेताहरूले संशोधन प्रस्ताव पेश गर्दा दु:खी बनेका छन् । जनताले प्रश्न गर्दैछन्, यति साह्रो हतारमा संविधान संशोधन गर्नु थियो भने संविधानमा त्यस्तो प्रावधान किन राख्यौंै र १५ दिन पनि नटिक्ने संविधान किन जारी गर्‍यौ ?

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive