Wednesday, October 14, 2015

भारत र चीनसँग नेपालको कस्तो सम्बन्ध ? – वीरेन्द्रमणि पौडेल

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता लिएपछि यो मुलुकको सम्बन्ध संसारका प्राय: सबै मुलुकसँग गाँसियो । सन् १९५५ पछि संसारका मुलुकसँग सम्बन्ध त गाँसियो, तर जति घनिष्ट र नजिकको सम्बन्ध छिमेकी भारत र चीनसँग गाँसियो त्यसको तुलनामा अरू देशसँगको सम्बन्ध एकप्रकारले पातलै रहन गयो । सत्तरीको दशक प्रारम्भ हुँदादेखि नेपालले संसारका विभिन्न मुलुकसँग दौत्य सम्बन्ध गाँस्ने क्रम चलायो । जुन–जुन राष्ट्रसँग दौत्य सम्बन्ध स्थापित भयो ती मुलुकमा नेपालले दूतावास खोलेर राजदूतको रूपमा आफ्नो प्रतिनिधि राख्न सुरु गर्‍यो भने अन्य मुलुकले पनि नेपालमा राजदूतावास सञ्चालन गरेर आफ्ना प्रतिनिधि राख्न थाले । दौत्य सम्बन्ध स्थापना भएका मुलुकसँग नेपालले विभिन्न प्रकारका सहयोगको आदानप्रदान प्रक्रियासमेत अगाडि बढायो । तर, संसारका जतिसुकै मुलुकसँग नाता गाँसे पनि असरदार नातासम्बन्ध भने नजिकका दुई छिमेकी भारत र चीनसँग नै रहन गएको देखियो, त्यसमा पनि सीधा सम्पर्क भारतसँग र छड्के सम्पर्क चीनसँग रहन गयो ।

भारतसँग नेपालको के–कस्तो रूप र आवरणमा सम्बन्ध स्थापित छ र चीनसँग सिमाना जोडिए पनि किन असरदार एवम् सीधा सम्पर्क, सम्बन्ध भएन त ? बुँदागत रूपमा यसरी व्याख्या गर्ने जमर्को गरिएको छ ।
१. खुला सिमाना र बन्द सिमाना :
लामो समय अघिदेखि चीन र नेपालबीच उत्तरतर्फ एक तातोपानी नाका मात्र खुला छ । बढी से बढी नेपाली चीनको खासा बजारसम्म मात्र आउने जाने गर्छन् । त्यसभन्दा पर जान नेपालीलाई अनुमति छैन भने चिनियाँ भिसा लिएर मात्र नेपाल प्रवेश गर्न सक्छन् । एकप्रकारले चीनसँग नेपालको जमिन जोडिए पनि आवतजावतका लागि भिसा नै चाहिने हुँदा नेपाली जनता र चिनियाँबीच मानवताका हिसाबले सौहार्दपूर्ण सम्बन्ध भए पनि प्रत्यक्ष भेटघाट, कुराकानी, सुखदुख बाँड्ने काम भएको छैन । यसो हुनुको मुख्य कारण नेपाल र चीनको जटिल भौगोलिक सिमाना हो भन्दा हुन्छ भने भारतसँग जोडिएको पूर्व, पश्चिम र दक्षिण सिमाना (करिब १६ सय किलोमिटर) खुला छ । खुला सिमानाका कारण नेपाली भारत जान्छन् र भारतीय पनि सजिलै नेपाल आउँछन् ।
२. साठी लाख नेपालीको भारत बसाइ :
सन् १९५० को नेपाल–भारतबीचको मैत्रीपूर्ण सन्धिलाई आधार मानेर नेपालीको करिब साठी लाख जनसङ्ख्या भारतमा विभिन्न पेसामा आबद्ध रही लामो समयदेखि स्थायी रूपले बसोबास गरिरहेका छन् । अस्थायी रूपले काम गरेर नेपाल फर्किनेको सङ्ख्या जोड्दा अझै बढी नेपाली भारतमा काम गर्छन् भन्न सकिन्छ । भारतीय पनि नेपाल आएर श्रम र व्यापार गर्छन् र केही समयपछि फर्किन्छन् ।
३. धर्म, संस्कृति र चाडपर्वमा एकरूपता :
नेपाल र भारतका जनताले मान्ने धर्म, संस्कृति र चाडपर्वमा समानता पाइन्छ । भारतका हिन्दू धर्म मान्ने जनता र नेपालका हिन्दू धर्म मान्ने जनताको रहनसहन, संस्कृति र चाडपर्वमध्ये दसैँ, तिहारजस्ता चाड एकैप्रकारले मनाइने चलन छ भने भारतीय मुस्लिम धर्म मान्ने र नेपाली मुस्लिम धर्म मान्नेबीच समानता देखिन्छ भने बौद्ध धर्म मान्नेहरूले पनि एकैखाले प्रक्रिया अपनाउँछन् । भारतीयले बोल्ने हिन्दी भाषा नेपालीले बुझ्छन् र नेपाली भाषा भारतीयले बुझ्छन् । अक्षरलिपि उस्तै छ । तर, अर्को छिमेकी चीनका जनताको रीतिरिवाज र भाषा नेपालीसँग मेल खाँदैन । चिनियाँहरू बोले नेपाली सुनेर बस्ने हो र नेपाली बोले चिनियाँ टोलाएर हेर्ने हो । भाषा प्रयोग र बुझाइका कारणले नेपालीको सम्पर्क र सम्बन्ध चिनियाँभन्दा भारतीयसँग बढी भएको देखिन्छ ।
४. राजनीतिक सम्बन्ध :
नेपाल र भारत देश अलग भए पनि भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीले भारतको पक्षमा लडे । अङ्ग्रेजलाई भारतबाट लखेट्न गरिएको आन्दोलनमा भारतीय नेतासँगै नेपाली नेता भारतीय जेलमा बसे । नेपाली राजनीतिकर्मीको यो सहयोग भारतीय नेताले बिर्सिने सम्भावना थिएन । सन् १९४७ मा भारत अङ्ग्रेजको पञ्जाबाट मुक्त भएपछि नयाँ राजनीतिक माहोल सिर्जना भयो । महात्मा गान्धी, मोहम्मद अलि जिन्ना, सरदार बल्लभभाइ पटेल, सुवासचन्द्र बोस, जवाहरलाल नेहरू, जयप्रकाश नारायण, डा. राजेन्द्रप्रसाद, लालबहादुर शास्त्रीलगायतका नेताले भारतीय राजनीतिको वागडोर सम्हाल्दै गर्दा नेपाली राजनीतिज्ञसँग पनि आत्मीय सम्बन्ध विस्तार भयो । त्यसको परिणाम भारतीय राजनीतिज्ञले नेपालको राजनीतिमा ज्यादा चासो र अनावश्यक चिन्ता लिन थाले, तर भारत स्वतन्त्र भएको दुई वर्षपछि सन् १९४९ मा माओत्सेतुङले चीनमा शासनसत्ता कब्जा गर्दा त्यो खालको आन्दोलनमा नेपालीको प्रत्यक्ष–अप्रत्यक्ष सहयोग र संलग्नता भएको थिएन । त्यसैले पनि राजनीतिक रूपमा कम र कूटनीतिक रूपमा मात्र निरन्तरको सम्बन्ध चीनसँग हुन गयो भने भारतसँग कूटनीतिक सम्बन्धभन्दा राजनीतिक र व्यावहारिक सम्बन्ध ज्यादा हुन गयो ।
५. दलीय शासनका लागि भारतीय नेताहरूको सहयोग :
भारतीय स्वतन्त्रताका लागि सहयोग पुर्‍याएका नेपाली राजनीतिज्ञका शिष्यहरूले मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनका लागि सहयोग माग्दा छिमेकी मुलुक नेपालको राजधानीमा आएरै भाषणबाजी गरिदिए । गुन तिर्ने तरिका ठीक थियो थिएन फेरि पनि छलफल र बहस गर्न सकिएला, तर भारतीय राजनीतिज्ञले स्वतन्त्र छिमेकी मुलुकको राजधानीमै आएर भाषणमार्फत पुरानो गुन तिर्दै दलहरूलाई ०४६ मा सहयोग गरे ।
६. भारतलाई नेपालको सहयोग :
भारतलाई नेपालले सहयोगस्वरूप पानी र रगत दिँदै आएको छ । भारतीय सेनामा नेपाली हजारौँको सङ्ख्यामा कार्यरत छन् । कस्मिरको युद्ध होस् वा गारगिलको नेपाली रगत भारतका लागि पोखिएकै छ भने सम्झौतामार्फत नेपालले कोसी, गण्डकीलगायत नदीका पानी भारतलाई निरन्तर दिएकै छ ।
७. नेपाललाई भारतको सहयोग :
भारतले नेपाललाई स्कुल, अस्पताल र बाटोघाटो बनाउन मद्दत गरेको छ । नेपाली विद्यार्थीलाई पढाइतर्फ छात्रवृत्ति दिएको छ । एम्बुलेन्स र केही गाडी दिएको छ । नेपाली सेनालाई यदाकदा हतियारसम्बन्धी सहयोगसमेत गरेको छ ।
८. चिनियाँ सहयोग :
चीनले नेपालको भौतिक विकासमा सहयोग गर्दै आएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायत बाटो, पुल, विद्यालय भवन बनाउन मद्दत गरेको छ भने पहाडी नौवटा जिल्लाका नेपालीलाई आधारभूत आवश्यकता निरन्तर पूरा गरिरहेको छ । तर, नेपालको तर्फबाट चीनलाई सहयोग गर्नुपर्ने कुनै खास अवस्था सिर्जना नभएकाले होला नेपालले चीनलाई कुनै विशेष सहयोग गरेको आँकडा उपलब्ध छैन ।
९. राजनीतिक हस्तक्षेप :
नेपाली राजनीतिमा चीनले खास चासो नदिने गरेको बताइए पनि परोक्ष तवरमा उत्तिकै चासो राखेर व्यवहार गरिरहेको विज्ञहरू बताउँछन् भने भारतले चाहिँ सल्लाह माग्दा पनि दिने नमाग्दा पनि दिने गरेको स्थितिलाई नेपाली राजनीतिमाथि हस्तक्षेप गरिएको रूपमा चर्चा र बहस चलाइने गरिन्छ ।
१०. भारतीय चाहना :
नेपालसँग प्रशस्त पानी भएको र भारतलाई सिँचाइका लागि पानी अत्यावश्यक रहेकाले नेपालको पानी हासिल गर्नु भारतीय मूल चाहना हो भन्ने बुझाइ छ ।
११. चिनियाँ चाहना :
नेपालबाट चीनले खासै केही आशा गरेको छैन भनिए पनि नेपाली भूमिमा तिब्बत स्वतन्त्रताको आन्दोलन वा त्यससँग सम्बन्धित कुनै पनि खालको गतिविधि नहोस् भन्ने उसको प्रस्ट आकाङ्क्षा बेलाबेला सार्वजनिक हुने गरेको छ ।
निष्कर्ष :
जनसङ्ख्या र क्षेत्रफलका हिसाबले चीन र भारत नेपालभन्दा धेरै ठूला छन् । आर्थिक विकासका दृष्टिले पनि ज्यादै शक्तिशाली छन् । छिमेकी भएपछि यदाकदा एकले अर्काको ‘घच्चा’ सहनुपर्छ भनेझैँ विगतमा यदाकदा ‘घच्चा’ महसुस गरे पनि सदैव छिमेकीप्रति नरम र सकारात्मक हुने प्रयास गर्नुपर्छ । ठूलाको समस्या ठूलै हुन्छ, सानाको समस्या सानै । ‘हात्तीलाई सय किलो दानाको पीर, कमिलालाई एक गेडा चिनीको पीर’ भनेजस्तै भारत र चीन हात्तीजत्रै हुन् भने तिनलाई समस्या पनि त्यत्रै छ भनेर बुझ्न सकिन्छ । नेपालले चीनको समस्या बुझेर सहयोग गर्नुपर्छ । हामीले सहयोग गर्‍यौँ भने उसलाई अझै ठूलो सहयोग गर्न कर लाग्छ । भारतसँगको मामला पनि त्यस्तै हो । भौगोलिक क्षेत्रफल र जनसङ्ख्यामा सानो भए पनि हामीबाट भारतलाई सहयोग प्राप्त भइरहेको छ भन्ने स्पष्ट भनाइ नेपालले भारतसमक्ष राख्नुपर्छ । हामीले भारतलाई अनुशासित तरिकाले सहयोगी भावना प्रदर्शन गर्‍यौँ भने भारतले हामीलाई हरेक कोणबाट सहयोग गर्नैपर्ने हुन्छ, मानवताको नाताले । त्यसकारण भारत र चीनलाई नेपालले ठूलो वा शक्तिशाली नसोचेर असल छिमेकी हुन् भनी सोहीअनुसारको सहयोग लिने र दिने वातावरण तयार गर्नुपर्छ । त्यसका लागि सरकारमा रहेकाहरूले कुनै छिमेकी नजिक र कुनै टाढा छन् जस्तो बोली र व्यवहारले देखाउनुहुँदैन ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive