बढी भाडा लिने सवारीलाई कारबाही गर्न विभाग सक्रिय
काठमाडौँ, २७ असोज । दसैँमा घर जाने यात्रुसँग बढी भाडा लिएको गुनासो आउन थालेपछि यातायात व्यवस्था विभागले पाँचवटा अनुगमन समूह बनाई काम सुरु गरेको छ ।
राजधानीबाट लामो दूरीमा जाने सवारी साधनले नयाँ बसपार्कबाट टिकट काट्दा बढी भाडा नलिएपनि टिकट नकाट्ने यात्रुसँग र छोटो दूरीमा चल्ने सवारी साधनले मनपरी भाडा असुलेका छन् । काठमाडौँबाट हेटौँडा, चितवन, भैरहवा, पोखरालगायत छोटो दूरी र काठमाडौँ आसपासका जिल्लामा चल्ने सवारी साधनले विभागले तोकेभन्दा तेब्बर चौबरसम्म बढी भाडा लिएको पीडितको गुनासो आएको विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।
“बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्न राजधानीका पाँच स्थानमा सहयोग कक्ष स्थापना गरिएको छ । बल्खु, गोङ्गबु, कोटेश्वर, गौशाला र कलङ्कीमा स्थापना गरिएका ती कक्षमा बढी भाडा लिने सवारी साधनको सूचना दिन यात्रुसँग अनुरोध गरेका छौँ, यी स्थानमा अनुगमन गर्न आज विभागका पाँचजना उपसचिवको नेतृत्वमा पाँच वटा समूह परिचालन गरिएको छ”–प्रवक्ता अधिकारीले भन्नुभयो ।
विभागले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै बढी भाडा लिने सवारी साधनको अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको जनाएको छ ।
पेट्रोलियम पदार्थको अभावसँगै उपत्यकाका सडकमा सवारी साधनको सङ्ख्या घटी छतमा चढी गन्तव्यमा पुगिरहेका यात्रुलाई तीनदिनदेखिको सामान्य मौसम परिवर्तनले प्रभाव पारेको छ । मौसम परिवर्तनसँगै बढेको चिसोले छतमा बसेर यात्रा गर्न कठिन भएको लगनखेलको बसको छतमा यात्रा गर्दै पुरानो बसपार्क, भृकुटीमण्डपमा झरेपछि रामबहादुर सुनारले भन्नुभयो ।
भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भई कम सवारी साधन सञ्चालन भएपछि पेसा व्यवसायमा निस्कनेहरु दुई सातादेखि बसको छतमा बसी यात्रा गर्न बाध्य भएका छन् । सङ्कटका समयमा सहुलियतको डिजेल लिने सवारी साधनले बढी मूल्यमा तेल किनेको भन्दै उपत्यकामै पनि बढी भाडा लिइरहेको उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
“काम सकी घर जाने बेलामा पुरानो बसपार्कमा पुग्दा पानी पर्न थाल्छ, प्रत्येक सवारी साधन भरिएर आउँछन्, भित्र पस्न सकिँदैन, वर्षासँगै हल्का जाडोसमेत बढ्ने भएकाले छतमा बसेर जान नसकिने भएको छ, अब कसरी आवतजावत गर्ने भन्ने चिन्ताले सताउन थालेको छ”–थानकोटबाट दैनिक रत्नपार्कसम्म छतमा यात्रा गर्दै आउनुभएका विजेश महर्जनले भन्नुभयो ।
थोरै मात्रामा सञ्चालनमा आएका सवारी साधनले कालोबजारमा डिजेल किनेकाले सरकारले तोकेको भाडामा बस चलाउन नसकिने भन्दै बढी भाडा असुल्न थालेको पनि यात्रुको गुनासो छ । साँखुबाट रत्नपार्क आउनुभएकी निकिता श्रेष्ठ बसका सहयोगीले रु २५ भाडाको ठाउँमा रु ५० लिएको बताउनुहन्छ । विभागका प्रवक्ता अधिकारी भने ब्ल्याकमा तेल किनी बढी भाडामा यात्रा गराउन नपाइने बताउनुहुन्छ । अनुगमनका क्रममा यस्तो भेटिएमा न्यूनतम रु पाँच हजार जरिवाना गरिने उहाँले जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागले भने अहिले भइरहेको वर्षा धेरै दिन नचल्ने र ठूलो पानी पनि नपर्ने भएकाले आत्तिनुनपर्ने जनाएको छ । “यस वर्षको वर्षा सकियो, अहिलेको वर्षा सामान्य हो दुई दिनमा मौसम सफा हुने भएकाले बसमा यात्रा गर्नेका लागि वर्षाद्ले समस्या बनाउँदैन”–विभागका मौसमविद् वरुण पौडेलले भन्नुभयो ।
0 comments:
Post a Comment