Monday, October 12, 2015

चन्द्रमा ठ्याक्कै लग्नमा, छोरा प्रधानमन्त्री हुन्छ भन्ने लाग्यो – ओलीका पिता

भक्तपुर, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीका ८५ वर्षका पिता मोहनप्रसाद ओलीलाई १५ दिनअघि नै छोरा प्रधानमन्त्री हुन्छ भन्ने लागेको थियो । आइतवार दिउँसो मात्रै झापा पृथ्वीनगरबाट भक्तपुरको बालकोटस्थित ओली निवासमा आइपुग्नुभएका उहाँको ध्यान संसद् भवनमा भएको प्रधानमन्त्रीको चुनावमै केन्द्रित थियो ।

ज्योतिष विद्यामा समेत विश्वास राख्ने उहाँले भन्नुभयो– “१५ दिनअघि छोरा खड्गको कुण्डली हेर्दा ग्रह पनि राम्रो आयो, चन्द्रमा गएर ठ्याक्कै लग्नमा पुग्यो, जे चितायो त्यही पुग्छ भन्ने लाग्यो, मैले भने – अब छोराले चिताएको पुग्छ र देशमा गरिब जनताले न्याय पाउँछन् ।”

नभन्दै संसद् भवनमा भएको निर्वाचनमा ओली प्रधानमन्त्रीमा विजयी भएपछि संसद् भवनमा प्रधानमन्त्रीका उम्मेदवार बन्नुभएका ओलीका पिता झापास्थित घरबाट आइतवार बालकोट आइपुगेलगत्तै टिभी हेर्न थाल्नुभयो, संसद्मा चुनाव भइरहँदा पनि उहाँलाई छोरा प्रधानमन्त्रीमा जित्ने पूर्ण विश्वास थियो ।

“म वैशाखमा यहाँ आउँदा पनि मैले भनेको थिएँ, अब चिताएको पुग्छ”– उहाँ भन्नुहुन्छ– अब ऊ प्रधानमन्त्री भएको छ, अब देशलाई राम्रो हुन्छ, देशका गरिब जनतालाई राम्रो हुन्छ ।”

गाउँमा सानैदेखि प्रधानमन्त्री ओली ठूलाले सानालाई हप्काए गाली गर्ने, धनीले गरिबलाई निचोरे धनीमाथि नै जाइलाग्ने गरेकाले धनी मान्छेले धेरै नै रिस गरेको उहाँ बताउनुहुन्छ । प्रधानमन्त्रीका पिता मदनप्रसादले भन्नुभयो– “उसको सानैदेखि नराम्रो बानी थिएन, ऊ चार वर्षको उमेरमा आमाले हजुरआमाको काखमा छाडेर गएदेखि नै हजुरआमाको प्यारो भएको थियो, कतै गएर आएपछि हजुरआमाको खुट्टामा टाउको राखे पछि ठूलो भएस् भन्दा टाउको नझिक्ने तर ठूलो मन्त्री भएस् भनेपछि मात्रै टाउको झिक्ने बानी थियो ।”

सुरुमा ओलीले राजनीति गरेको उहाँलाई पटक्कै मन पर्दैनथ्यो । उहाँ भन्नुहुन्छ–“सुरुमा राजनीति नगर् भनियो, ठूला धनी मान्छेलाई हेपेपछि समस्या पर्छ भन्थे, त्यसपछि यिनैले त खाए, धनीले गरिबलाई मार्छन् भन्थ्यो, तर जब देश विदेशमा समेत चिनिने भएर निस्किएपछि अब राजनीतिमै अगाडि बढ्नुपर्छ, अब राजनीति चाहिँ छाड्ने होइन भन्ने मलाई लागेर छोराको राजनीतिमा कुनै दख्खल दिइनँ ।”

प्रधानमन्त्री ओलीको बानी सानैदेखि कसैसँग नझुक्ने, अन्यायको विरुद्ध आवाज उठाइहाल्ने, गरिबमाथि हुने थिचोमिचोका विरुद्धमा कराइहाल्ने गरेकाले धेरै धनी मानिसले उहाँलाई मन पराउँदैनथे । प्रधानमन्त्री ओलीका पिता मदनप्रसाद भन्नुहुन्छ– “ऊ सानैदेखि अजिर, कसैसँग नडराउने, कसैसँग नझुक्ने, अन्यायको विरुद्ध कराइहाल्ने बानी थियो, आजसम्म पनि उस्तै छ बानी ।”

उहाँ छोरा ओली प्रधानमन्त्री भएपछि अब देशको विकास हुन्छ, गरिब थिचिएको थिच्यै, धनी झन् धनी भएकाभयै छन्, अब धनी र गरिबबीचको खाडल पुरिन्छ भन्ने लागेको बताउनुहुन्छ । उहाँलाई पनि गरिब धनी हुन्छ र देशले पनि सङ्कटबाट निकास पाउँछ भन्ने लागेको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive