रत्ननगर अस्पतालको सेवा सोलारबाट सञ्चालन
चितवन, २७ असोज । चितवन जिल्लामा नियमित विद्युत् अभावमा कतिपय उद्योग धरासायी छन् भने ठूला अस्पताल बाहेकका अस्पताल तथा स्वास्थ्य संस्था प्रभावित हुँदै आएका छन् ।
कतिपय स्वास्थ्य संस्थामा विभिन्न परीक्षणका लागि मेसिन चलाउन बिजुली कुर्नुपर्ने बाध्यता छ । चिसोमा राख्नुपर्ने सामग्री सुरक्षित राख्न सकिएको छैन । तर चितवन रत्ननगरको एक अस्पतालमा भने विद्युत् कहिले आउला भनेर कुरिरहनु पर्ने छैन ।
चितवनको रत्ननगर अस्पतालमा भने सौर्य उर्जाबाट सबै काम हुन्छ । ‘शान्ति मेड’ नेपालको सहयोगमा रत्ननगर अस्पतालमा सोलार प्यानल जोडेपछि विद्युत् कुरिरहनु नपर्ने भएको अस्पताल सञ्चालक समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रत्ननगर अस्पतालमा शान्ति मेडको पहलमा करिब रु ६५ लाख र नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ३५ लाख गरी रु एक करोडको लागतमा सोलार जोडिएको छ जसले गर्दा यहाँका ठूला मेसिन चलाउनसमेत सहज छ, कुनै समस्या छैन ।
सोलार जडान गरिएपछि अस्पतालको सेवासमेत प्रभावकारी भइरहेको अस्पतालका कर्मचारीहरु बताउँछन् । शान्ति मेड नेपालकी अध्यक्ष तथा सोही अस्पतालमा स्वयम्सेवा गर्दै आउनुभएकी छालारोग विशेषज्ञ डा रुथ गोन्सेथले आगामी दिनमा पनि अस्पताललाई सहयोग गर्ने बताउनुभयो ।
उक्त अस्पतालमा शान्ति मेडकै पहलमा यहाँ मिर्गौलाको डायलाइसिस मेसिन तथा दर्जन सुविधायुक्त शय्यासमेत सञ्चालनमा ल्याइएको गोन्सेथले बताउनुभयो ।
यसअघि रत्ननगरकै पिठुवा र चैनपुरको स्वास्थ्य संस्थामा तथा गुञ्जमानसिंह अस्पतालमा समेत सोलार प्यानल जोडिसकिएको उहाँले बताउनुभयो । यी तीनवटा संस्थामा करिब रु ८० लाख लगानी भएको बताइएको छ । यस्तै, बर्दियाको कमैया गाउँका १७० घरधुरीमा समेत सोलार उपलब्ध गराएको डा गोन्सेथले बताउनुभयो ।
रत्ननगर अस्पतालमा अहिले दैनिक करिब २०० बिरामीले सेवा लिने गरेका छन् । पूर्वी चितवनका अधिकांश बिरामीका लागि सेवा पाउने यो एक मात्रै अस्पताल हो ।
0 comments:
Post a Comment