अनावश्यक कर्मचारी भर्तीका कारण डुब्यो साझा प्रकाशन – राष्ट्रकवि घिमिरे
काठमाडौँ, २५ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरेले साझा प्रकाशनलाई अनावश्यक कर्मचारी भर्ती गरेर डुबाइएको बताउनुभएको छ ।
आइतवार आयोजित ‘साझा प्रकाशन ः वर्तमान सन्दर्भ र भविष्यको बाटो’ विषयक अन्तरक्रियामा उहाँले कानुनीरुपमा संस्थालाई सही ढङ्गबाट सञ्चालन नगरेका कारण संस्था धराशायी भएको बताउनुभयो ।
शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले साझा आफैँ नभई यसलाई सञ्चालन गर्न विभिन्न समयमा आएका सञ्चालकहरूले अनावश्यक रुपमा कर्मचारी राखेर आर्थिक भार बढाएको बताउनुभयो । उहाँले सरकारले साहित्य र संस्कृतिलाई अनुत्पादक भनेर पछाडि पारेको पनि बताउनुभयो ।
साहित्यकारहरू डा वासुदेव त्रिपाठी, दीनानाथ शर्मा, मदनमणि दीक्षित, डा ध्रुवचन्द्र गौतम, डा विष्णुबिभू घिमिरेलगायतले पनि साझा प्रकाशन बचाउनुपर्नेमा जोड दिनुभयो । प्रकाशनको रु ३३ करोड २३ लाख २५ हजार ८२ ऋण भएको जानकारी दिँदै प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले उक्त ऋृण चुक्ता गर्नका लागि सहयोग गर्न सरकारसँग आग्रह गर्नुभयो । दुई हजार ८८ सेयर सदस्य भएको संस्थाको नियमित खर्च रु ६९ लाख रहेको उहाँले बताउनुभयो ।
सहकारी ऐन, (२) १६ मङ्सिर १७ गते स्थापना भएको साझा प्रकाशनले भाषा, साहित्य, संस्कृति एवम् वाङ्मय विकासका लागि कार्य गर्दै आएको बताउँदै अध्यक्ष शर्माले कार्यपत्र प्रस्तुत गर्दै प्रकाशन ऋणमा डुबेका कारण दसैँको बेला पनि अंशियार र कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउन नसकेको बताउनुभयो ।
प्रकाशनले आर्थिक पारदर्शीता बनाउन आर्थिक अपचलन सुल्झाउन आव २०६४÷६५ देखि २०७१÷७२ सम्मको आर्थिक कारोबार छानबिन गर्न संस्थाका अध्यक्ष तथा महाप्रबन्धकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको छ ।
0 comments:
Post a Comment