भित्रभित्रै बार्गेनिड्ड चलिरहेछ:हाम्रा नेताहरू दोषी छन् – डा.भेषबहादुर थापा
(नेपालले संविधानसभा मार्फत २०७२ असोज ३ गते संविधान जारी गर्यो । जनताले चुनेका दुई ९१ प्रतिशत प्रतिनिधिले सहमति गरेर संविधान जारी गरे पनि भारत भने सन्तुष्ट हुन सकेन । त्यसकै असरले नेपालमा अघोषित नाकाबन्दी गर्यो । यो नाकाबन्दीको असर र अन्तर्राष्ट्रिय जगत्मा यसले खेल्ने भूमिकाका विषयमा परराष्ट्रविद् डा. भेषवहादुर थापासंग गरेको कुराकानीको मुख्य अंश–सम्पादक ।)
०भारतको अघोषित नाकाबन्दीलाई कसरी लिनुहुन्छ ?
–पहिलो पटक नेपाली जनताले आफूले चुनेको प्रतिनिधिमार्फत संविधान पाए । त्यसबाट हर्षित भएर नेपाली जनताले दीपावली गर्नेदेखि विभिन्न खुसीयालीका कार्यक्रम गर्ने जमर्को कसेका थिए । त्योभन्दा अगाडि जाने हो भने भारतीय नयाा प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु भयो । उहााले त्यही संविधान सभालाई संवोधन गरी नेपालीको मन छुने गरेर भाषण गर्दै ताली खानुभयो । ठूलो सम्मान पाउनु भयो । भारतीय प्रधानमन्त्रीहरू अरु पनि आएको इतिहास छ । तर मोदीले जत्तिको छाप छाडेर कुनै पनि भारतीय प्रधानमन्त्री नेपालबाट फर्केका थिएनन् । तर, संविधान जारी हुन नपाउँदै केही राजनीतिक दलहरूले विरोध गर्दै बहिस्कार गरे । यो सबै कुरा नेपालको आन्तरिक हरहिसाबको कुरा हो ।
० भारतले स्वतन्त्र मुलुक नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु कस्तो कूटनीति ठान्नु हुन्छ ?
–कुन समूहलाई कसरी संवोधन गर्ने र नेपालीहरूलाई देशको अखण्डता र राष्ट्रियतामा कसरी आवद्ध गरेर मुलुकलाई समृद्धशाली बनाउने पट्टि लाग्ने भन्ने चरणमा पुगेका बेलामा पहिलो गाँसमै ढुङ्गा भने जस्तो भारत बाहेक बाँकी विश्वले समर्थन जनाएको छ । तर, छिमेकी भारतले नेपालको आन्तरिक मामिलालाई मुद्दाको विषय बनाएर जुन प्रतिक्रिया र स्वभाव देखाएको छ यो कूटनीतिक हिसाबबाट अमर्यादित मात्र होइन अवान्छनीय पनि हो ।
० भारतले चाहेको चाहिं के हो जस्तो लाग्छ ?
–जे चाहे पनि प्रत्यक्ष रुपमा कसैले नि दबाबको प्रक्रिया सुरु गर्दा चाहिं आफ्ना लक्ष्यहरूलाई अगाडि सार्दैन । फेरि नेपाल र भारतको सम्बन्ध लामो छ । यसमा हामीहरू पनि दोषी छौं । हामीहरू पनि भुक्तबैरागी पनि भएका छौं । धेरै कूटनीतिक कुरा पारदर्शी रुपले जनतालाई सुसूचित गर्ने नभएर कानेखुसीमा आधारित पनि हुन सक्छ । अवान्छनीय माध्यमबाट भएका हुनाले कसले कहाँ गएर कस्तो सम्झौता गर्यो भन्ने थाहा पाउन नसकिने । कस्तो बाचा गरेको थियो र कुन कुराको पूर्ति भएन भन्ने कुरा पनि गोप्य नै रहने । अहिले त्यही गोप्य अप्राकृतिक सम्झौता भारतले अड्को थाप्ने माध्यम बन्यो ।
० जसरी भारतले आफ्ना एजेन्डा घुमाउरो रुपले प्रस्तुत गर्यो विभिन्न माध्यमबाट के नेपालको अहिले जारी संविधान भारतको भन्दा संकुचित ठान्नु हुन्छ ?
–यो संविधानले सम्पूर्ण नागरिकलाई समान अधिकार दिएको छ । समान स्तरमा राखेको छ । अवसर र अधिकारका लागि भेदभाव गरेको छैन । विगतमा हामी पछाडि पर्यौं, हेपियौं भनेको सुन्दा मलाई केटाकेटी छादाको स्मरण आउाछ । म त्यो बेलामा पहाडबाट काठमाडौंमा पढ्न आएको । मलाई काठमाडौंका नेवार समुदायका साथीहरू ‘ए ख्याँचा’ भन्थे । अब कसैले के भन्ला अनि कसैले के भन्ला । अब के मैले त्यो विगतको विषयलाई लिएर हेपिएा भन्ने ? तर यहाँ त भविष्यका लागि बार्गेन गर्ने सूत्र बन्यो । अहिले त संविधानले नागरिक नागरिक बीचमा र समूह समूह बीचमा भेदभाव गरेको छ कि छैन भन्ने हेर्ने हो । त्यो हिसाबबाट संविधान उत्कृष्ट छ । तर त्यो भन्दैमा पहिले अधिकार पाउनेवालाहरू पछाडि बस अब हाम्रो पालो त भन्न सुहाएन नि । संविधानमा सबैलाई सबैकुरा चित्त बुझ्छ भन्ने होइन । बुझ्दैन पनि । मलाई पनि धेरै कुरा चित्त बुझेको छैन । तर मलाई समान रुपमा समान स्तरमा राखेर समान अवसर दिएको छ भने भोलि गएर त्यसको प्रयोग गरेर स्वतन्त्र नागरिक बन्ने छुट सबैलाई छ ।
० अहिले भेदभावको कुरा खुब उठिरहेको छ नि त ?
–अहिले भेदभावको कुरा बाहिर ल्याएर नेपाली र नेपालीबीचको सम्बन्धको खाडल गहिरो पार्ने जुन अभ्यास भएको छ त्यो गलत हो । खासगरी नेपालमाथि भारतले नाकाबन्दी जस्तो काम गरेर गंभीर परिस्थितिको सिर्जना गरिएको छ यसले नेपालीको चित्त दुख्ने मात्र होइन कताकता छिमेकीमा हुनुपर्ने सुमधुर सम्बन्धमा पनि प्रतिकूल असर पर्ने संभावना छ । त्यसबाट दुवै मुलुक उम्कनु पर्छ ।
० यो भारतको चाहिनेभन्दा बढी हस्तक्षेप हो कि होइन त ?
–यो आन्तरिक मामिलामा खुल्ला हस्तक्षेप नै हो । अरुको विकृतिको उपमा दिएर हामी शक्तिशाली राष्ट्रले जे पनि गर्न सक्छौं भन्ने धारणा चाहिं ठीक होइन । जुन परिस्थिति अहिले सिर्जना भएको छ यसका बारेमा सबै कुरा जगजाहेर छ । कहाँबाट ढुङ्गा आएको छ । कहाँबाट ट्रक आएन । के भयो भन्ने कुरा । र, नेपाल र भारतको सम्बन्धको कुरा गरिरहँदा यो पहिलो पटक भएको पनि होइन । दुई पटक पहिले पनि भएको थियो नाकाबन्दी । एक पटक इन्दिरा गान्धी प्रधानमन्त्री हँुदा र अर्को पटक राजीव गान्धी प्रधानमन्त्री हुँदा । यति हुँदाहुँदै पनि हामी अन्यायमा पर्यौं भनेर बाँकी विश्वलाई गुहार्न जाँदाजाँदै पनि त्यो बाँकी विश्वले तिमीहरू मिलेर काम गर न भन्छ । त्यो बाँकी विश्व उद्धारमा पनि आउँदैन । विकल्प दिंदैन । तसर्थ सैद्धान्तिक अवधारणा एक ठाउँमा हँुदाहुँदै पनि जुन विकृतिले प्रश्रय पाएको छ दु:ख त नेपाली जनताले पाएका छन् । नेपाली जनताले पाएको दु:ख र पीडालाई नहेरेर गलत प्रवृत्तिले ठाउँ पायो भने नेपाल र भारतको मात्र होइन छिमेकमै पनि सन्तुलन र सही कूटनीतिक प्रक्रियाले ठाउँ पाउँदैन । छिमेकीसंगको सम्बन्ध पनि बिग्रदै जान्छ । केही समयअघि भारतीय गृहमन्त्री राजनाथ सिंहले ‘यति जनसंख्या नेपालको छ ती भारतीय मूलका हुन् तिनीहरूको हित र सुरक्षाप्रति हाम्रो पनि चासो छ’ भन्नु भएको थियो । तर उहाँले के बिर्सनु भयो भने नेपालको भूमिमा बसेका चाहे नागरिक हुन् वा पाहुना हुन् तिनीहरूको सुरक्षाको जिम्मेवारी त हाम्रो हो नि । नेपाल र भारतको सम्बन्धमा कुनै बेला पनि भारतमा कति नेपाली छन् कति नागरिक होलान् कति अनागरिक होलान् । सन्धिको कारणले गएर काम गरेर बसेका व्यक्तिहरू होलान् । त्यसको सुरक्षाको जिम्मेवारी दिने काम भारतको हो, हाम्रो हैन भनेर हामीले कहिल्यै प्रश्न उठाएनौं त । तर उहाँहरू उठाइरहनु हुन्छ । यसको संकेत के हो भने एक त एउटै मुलुकको नागरिकलाई उहाँहरू एकातिर नजिकबाट हेर्नुहुन्छ भने अर्कोतिर त्यही मुलुकको नागरिकलाई टाढाबाट हेर्नुहुन्छ । यी सबै कुराले देखाएको वास्तविकता के हो भने आफू घरमा बलियो भएन भने आफू संगठित भएन भने अरुले हेप्ने, थिच्ने गर्छन् । आफ्नो देशभित्रको समस्या समाधान गर्ने, विकृति सुधार गर्ने जिम्मेवारी नेपालमा चुनिएका नागरिकको हो । त्यो जसले जिम्मा पाएको छ, त्यो वास्तविकतालाई बेवास्ता गरेर म ठूलो तँ सानो, मैले भन्या तैले मान्नुपर्छ, मेरा मान्छेलाई प्रश्रय दिनुपर्छ भन्न मिल्दैन । किन कि हामीले नेपाली र नेपालीबीच असमान व्यवहार त गरेका छैनौं नि । यो अर्थमा संविधान मै भविष्यमा शंकास्पद धारणा उत्पन्न हुने प्रवृत्तिले असल छिमेकीको परिचय दिंदैन । भारतले यो कुरा बुझ्न जरुरी छ ।
० भनेपछि नरेन्द्र मोदीलाई नाकाबन्दी गर्दा कुनै पीडा हुँदैन ?
–ब्यक्तिगत कसले कस्तो धारणा राखेको छ त्यो भित्र नजाऔं । तर उहाँले प्रशासकीय पद्धतिमा प्रवेश गरेपछि जुन कूटनीतिक अभ्यासमा नेपालसहित भुटान, बंगलादेश, श्रीलंकालगायतका मुलुकमा गएर दक्षिण एसियामा ऐक्यवद्धताको आवास दिनुभयो । अहिले गएर कताकता संरचना भङ्ग भएर पुरानै प्रशासकीय शैलीले छिमेकीलाई दबाउन खोजेको भावना प्रेरित भएको देखियो । भारतमा पनि दुई चारजना लेखकले यो क्रियाकलाप ठीक भएन भनेर लेखेका छन् । अभाव नेपालमा छ, दु:ख नेपालीले पाइरहेका छन् । तर यसको अन्त्य हुने प्रक्रियामा भित्रभित्र बार्गेनिङ्ग चलिरहेको छ । जनतालाई सुसूचित नराख्ने कुरामा हाम्रा नेताहरू पनि दोषी छन् । समस्या परेका बेलामा नेपाली नेताहरूलाई पनि शंकाले हेर्ने माहोल उत्पन्न भएको छ । त्यसबाट उनीहरू पनि पार लाग्नु पर्यो । र, अहिले भएको संविधानलाई खुल्ला किताबजस्तो जे पनि गर्न सक्छौं भन्ने आवास दिएको छ नि त्यसले पनि संविधानप्रति जनताको आस्थालाई कमी पार्छ । होसियार सबैले हुनुपर्छ । तर सम्झौता गर्दा नेपालको अखण्डता, स्वाधीनता र सार्वभौम हैसियतमा अवधारणा नपुग्ने आधार समेटियो र त्यसमा हामी पछि हट्यौं भने २००७ सालदेखि अहिलेसम्म चलेको विकृतिले निरन्तरता पाउँछ । अनि नेपाल एउटा स्वाभिमानी राष्ट्र भएर विश्वमा लामो अवधिदेखि ओगटेको स्थानमा पनि आघात पुग्न सक्छ । होसियार हुनु जरुरी छ ।
० पहिले पनि नेपाललाई त्यसै गरी हेप्थें हो ?
–२००७ सालदेखि अहिलेसम्मका परिवर्तनमा भारतले प्रभुत्व जमाउन खोजेकै हो । आत्मविश्वास राजनीतिक तहमा नहुँदा यसो भएको हो । अरुलाई खुसी पारेर यहाँ आफूले आधिपत्य जमाउछु भन्ने राणाकालीन प्रवृत्ति थियो अर्थात् अंग्रेजलाई रिझाएर नेपालीलाई कजाउने प्रवृत्ति राणाकालीन अभ्यास थियो । त्यो प्रवृत्ति नेपाली नेताहरूले अहिले पनि देखाएको पाइन्छ । २००७ सालदेखि बीचबीचमा स्वाभिमानी चरित्र पनि देखायौं तर भारतीयहरूको नीति पहिलेदेखि अहिलेसम्म बदलिएको छैन । मैले त्यही कुरा धेरै पटक भोगें पनि ।
० के चीनतिर लचिलो हुनु पर्ने अवस्था आएको हो ?
–त्यो सही बाटो होइन । भारतसंग सम्वन्ध सुधार गर्नुपर्छ । विकल्पको खोजी गर्नुपर्छ । सत्रसय किलोमिटर खुला सीमाना भएको देशसंग सम्बन्ध बिगार्नु नेपालको हितमा हुँदैन । तर बाँकी देशसंग सम्बन्ध राम्रो बनाउन पनि नेपालीहरू चुक्नु हुन्न । त्यसलाई विकल्पको रुपमा लिनु हुन्न । अन्तर्राष्ट्रिय स्तरको अभ्यासमा जोडिएर सबै देशसंग राम्रो सम्बन्ध राख्न सक्नुपर्छ ।
० अबको समाधान के छ त ?
–हेर्नुस् १७ हजार नेपाली मार्नका लागि सघाउने त उही भारत नै रहेछ । अब फेरि त्यही अवस्था दोहोरिन दिनु हुँदैन । सबै नेपाली एकजुट भएर अगाडि बढ्नु पर्छ । समाधान हामी आफैले मिलेर खोज्नुपर्छ । यो सम्भव पनि छ । यही नै बाटो नेपालको हितमा पनि छ ।
0 comments:
Post a Comment