केपी ओलीलाई रोकेमा दुर्भाग्य हुने ! – ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
नेकपा एमालेका अध्यक्ष तथा प्रभावशाली नेता केपी अर्थात् खड्गप्रसाद ओलीको नाम यतिबेला चर्चाको शिखरमा छ । चर्चा यस मानेमा कि तीन दलको भद्र सहमतिअनुसार अब उहाँको प्रधानमन्त्री बन्ने पालो आएको छ भने उहाँको तीक्ष्ण र व्यङ्ग्यपूर्ण बोलीको कारण उहाँमाथि प्रशस्त तघारा तेर्सिएका पनि छन् । बोलीको कारण विशेष चर्चित ओली ०५१ मा गृहमन्त्री हुँदा क्लिन छवि बनाएका तथा कार्यव्यवहारमा कडा भएका कारण उहाँलाई प्रधानमन्त्री बनाएमा अरू दलको वर्चस्व खस्कने डरले पनि उहाँलाई प्रधानमन्त्री बन्न नदिने खेलमा सत्तासाझेदारी दलहरू उद्यत् रहेका छन् । तर, ओलीको प्रधानमन्त्री भएरै छाड्ने ग्रह भएकाले यसरी रोक्दैमा नरोकिने अवस्था छ । यदि अहिले रोकिएमा चुनावमा एमालेको बहुमत आएर पनि प्रधानमन्त्री हुने बलियो सम्भावना भएकाले उहाँलाई अहिले रोक्नु काङ्ग्रेस वा एमाओवादीका पार्टीको भविष्यका लागि घातकसिद्ध हुने, काङ्ग्रेसको छवि पनि बिग्रने भएकाले अहिले ओलीमाथि भइरहेका खेल बन्द गर्नुपर्ने ज्योतिषीय दृष्टिमा देखिन्छ ।
ओलीको २००८ साल फागुन ११ गते शनिबार फागुन कृष्ण त्रयोदशीका दिन मकर राशि, श्रवण नक्षत्र, वरियन योग, वणिजकरणमा जन्म भएको देखिन्छ । ओलीको जन्मकालमा सूर्य १०।१०।४७।४४, चन्द्रमा ९।१६।३०।४, मंगल ६।२०।१७।२१, बुध १०।१२।५।१७, गुरु ११।२१।३७।२६, शुक्र ९।९।५०।३, शनि ५।२१।१।२२ र राहु १०।७।३३।२६ डिग्रीमा रहेका छन् । जन्मकालमा शनि बक्री भई गुरुसाथ परस्पर दृष्टि भएकाले उच्च पदका लागि व्यवधान पैदा भएको हो । ओली अत्यन्त कम उमेरमा झापा विद्रोहको अभियोगमा सर्वस्वसहित जन्मकैदमा पर्नुभएका नेता हुनुहुन्छ । ०२८ देखि ०४५ सम्म १७ वर्ष जेल पर्नुमा केन्द्रको मंगल र शनि–गुरुको परस्पर सम्बन्ध हो भन्न सकिन्छ । केन्द्रको मंगलकै कारण उहाँ गृहमन्त्री पनि बन्नुभएको हो र केन्द्रकै मंगलका कारण पदप्राप्तिमा कठिनाइ र ढिलाइ हुने गरेको हो । अहिले फेरि मंगल सिंहको भई गुरुसाथ रही कारक ग्रह शनिको पूर्ण दृष्टि अर्थात् शनि, मंगलको परस्पर दृष्टि रहेकाले ओलीको प्रधानमन्त्री बन्ने सम्भावना अत्यधिक रहेको हो । तर, शनि, मंगलले हेराहेर गरेकाले काममा ढिलाइ, घर या दलभित्रै वैरीको उपस्थिति बलियो रहेकाले महिलाबाट लबिङ गर्नुपर्ने वा साझेदारी दलका महिलामार्फत काम गराएमा त्यति असहज हुने छैन । महिला वा विधवासाथ सहकार्य भएमा ओलीलाई फाप्नेछ । मीनमा गुरु रहेकाले मीन राशिका मानिसबाट ओलीलाई उच्चपद प्राप्तिमा बाधा हुने देखिन्छ । सुशील दा’को कुम्भ राशि भएको र जन्मकालमा ओलीको कुम्भमा सूर्य बुध भएकाले अन्तत: सुशील दा’ गल्ने सम्भावना धेरै छ । नेपालको कुण्डलीअनुसार मकर, तुला वा मेष राशिबाट मात्र देशको भलाइ भएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मकर राशि र ओलीको पनि मकर राशि नै भएकाले उहाँको प्रधानमन्त्रित्व भए नेपाललाई धेरै फाइदा हुने देखिन्छ, साथै कानुनको पनि पालना हुनेछ ।
नेता ओलीको कुण्डली
बीपीको मेष र किशुनजीको तुला राशि भएकाले उहाँहरूबाट देशको कल्याण हुन सकेको हो । नेपालको मीन राशि भएकाले कुम्भ व्ययेश (सुशील दा’को पालामा धेरै ठूलो क्षति), चौथोमा व्ययेश शनि मिथुनमा रहेकाले मिथुन र धनु राशिको नेतृत्व नफाप्ने, प्रचण्ड, गिरिजा, कीर्तिनिधि विष्टको मिथुन र मरिचमान सिंहको धनु राशि भएकाले उनीहरूका पालामा उपद्रव भएको देखिन्छ । किनकि पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दा मिथुन राशिमा शनि बसेको र त्यसको पूर्णदृष्टि धनुमा रहेकाले दुवै राशि अहितकारी सिद्ध भएका हुन् । सिंह र कुम्भ राशि भने मध्यम मानिन्छ । माधवकुमार नेपाल र बाबुरामको सिंह राशि तथा सूर्यबहादुर थापा, शेरबहादुर देउवा र सुशील कोइरालाको कुम्भ राशि भएकाले उनीहरूको प्रधानमन्त्रित्व साधारण रह्यो । मकर राशिचाहिँ अत्यन्त उत्तम सावित भइआएको छ । मलाई लाग्छ, श्री ओलीको मकर राशि भएकाले उहाँकै सक्रियतामा संविधान बन्न सकेको हुँदा अब उहाँको प्रधानमन्त्रित्वबाट देशको लागि हितकारी र विकास निर्माणका लागि सहायकसिद्ध हुनेछ । उहाँलाई रोक्नु भनेको एमालेलाई चुनावमा बहुमत ल्याउन दिनु हो । यसतर्फ अरू दलले बेलैमा सोचुन् भन्ने मेरो आशय हो ।
ओलीको केन्द्रमा मंगल भएकाले बिहान नित्य १ घन्टा व्यायाम गर्नु र गुलिया, अमिला वा पिरा वस्तुको उपयोग नगर्नु श्रेयस्कर हुनेछ । शनि र गुरुको परस्पर सम्बन्ध रहेकाले बिहान–बेलुका पूजा गर्दा घरमा शङ्ख बजाउनु राम्रो हुनेछ । यति गरेमा उहाँको आयुसमेत लामो हुन सक्नेछ । विशेष गरी उहाँले राम्रो ज्योतिष पढेको मानिस सल्लाहकार राख्नसके एक चक्की औषधि पनि खानुपर्ने छैन । उहाँलाई नेपालको योग्य प्रधानमन्त्रीका रूपमा हेर्नु अन्यथा हुन्छजस्तो मलाई लाग्दैन । जीवनको अन्तिम अवस्थामा उहाँ धेरै लोकप्रिय बन्नुहुनेछ ।
स्मरण रहोस्, एमालेको स्थापनाकालमा रोहिणी नक्षत्र र वृष राशि भएकाले आगामी साउनभित्र चुनाव भएमा केन्द्रमा गुरु भएकाले एमालेको पकड मजबुत हुने तथा काङ्ग्रेस र एमाओवादीको धनु राशि भएकाले ०७३ को भदौपछि मात्र चुनाव अनुकूल हुने देखिन्छ । अहिले ओलीलाई रोक्ने प्रयासले मुलुक चुनावतिर जानेछ, यसबाट काङ्ग्रेस र एमाओवादीलाई ठूलो घाटा लाग्ने भएकाले पनि ओलीलाई रोक्नुहुँदैन । तर, ओलीबाट चुनाव घोषणा भए काङ्ग्रेसलाई बढी फाइदा हुनेछ । उता मङ्सिरमा काङ्ग्रेसको अधिवेशन भएमा शेरबहादुर देउवा पार्टी सभापति हुने निश्चितप्राय: छ । अतएव भद्रसहमति अनुसार सुशील दा’ले ‘राष्ट्रपति’ भएर बस्नु काङ्ग्रेस र नेपालका लागि श्रेयस्कर हुनेछ ।
0 comments:
Post a Comment