माग फारम बुझाउन ढिलो गर्दा तलब निकासामा समस्या
पाँचथर, २६ असोज । विद्यालयले ढिलो गरी माग फारम बुझाउँदा शिक्षकको तलब निकासामा समस्या भएको छ । भदौ मसान्तसम्ममा माग फारम बुझाइसक्नुपर्ने भए पनि जिल्लाका कतिपय विद्यालयले तोकिएको समयमा फारम नबुझाउँदा तलब निकासामा समस्या भएको हो ।
विद्यालयले माग फारम बुझाउन ढिलासुस्ती गरेपछि जिल्ला शिक्षा कार्यालयले ढिलो निकासा पठाउँदा जिल्लाका शिक्षकले सोमबारदेखि मात्रै तलब निकासा पाउन थालेका छन् ।
सोमबार दिनभरि नेपाल बैंक लिमिटेडको फिदिम शाखामा शिक्षकको भीड लागेको थियो । जिल्लाका सबै विद्यालयले समयमै माग फारम नबुझाएको भन्दै जिशिकाले शिक्षकको तलब निकासा गर्न रोक लगाएको थियो ।
केही विद्यालयले माग फारम नबुझाएकामा सबै विद्यालयको निकासा रोकेर जिशिकाले दुःख दिएको लुम्फाबुङका शिक्षक केशव घिमिरेले दुःखेसो गर्नुभयो ।
केही विद्यालय र जिशिकाका कारण सबैले सास्ती खेप्नुपरेको इम्बुङका शिक्षक महेन्द्र नेम्वाङको गुनासो छ । उहाँले भन्नुभयो – “बिहान १० बजेदेखि लाइनमा उभिनुपरेको छ, कतिबेला पालो आउने हो थाहा छैन ।” बैंकमा भीड बढेपछि कर्मचारीलाई काम गर्नसमेत असहज भएको छ ।
जिशिकाको लेखा प्रणाली सफ्टवेयरमार्फत सञ्चालन हुने भएकाले सबै विद्यालयका शिक्षकको एकैपटक भुक्तानी पठाउनुपर्ने भएकाले केही विद्यालयले ढिलासुस्ती गर्दा सबैको तलब निकासा पठाउन ढिलो भएको जिशिअ राजकुमार विश्वकर्माले बताउनुभयो ।
0 comments:
Post a Comment