Tuesday, October 13, 2015

विजयादशमीको पहिलो दिन आज घटस्थापना,यसपाली दशैंको साईत यस्तो छ

काठमाडौँ, २६ असोज । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी गराउनुभयो ।

कलशको स्थापना गरी यस दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको गौतमले बताउनुभयो ।यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।

यसपालीको दशैंको टीकाको साईत यस्तो छ

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ । घटस्थापनाको साइत असोज २६ गते मंगलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १ गते आइतबार पचली भैरवको यात्रा परेको छ । कात्तिक ३ गते मंगलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।

फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताए । कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेका छन् । ‘त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ,’ अध्यक्ष गौतमले भने । कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पारेका छन् । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उनले जानकारी दिए । विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिरासनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ ।

खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ । दुर्गापक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ । पूर्णिमा व्रत भने कात्तिक १० गते मंगलबार परेको छ ।

आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मंगलबार नै गर्नुपर्नेछ । यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रूपमा दुर्गा देवीको पूजापाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तो योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो ।

चैतको नवरात्रभन्दा ठूलो पर्वका रूपमा मनाइने भएकाले शरद् ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ । दसैँका लागि समितिले निकालेको साइत विभिन्न व्यक्ति र संस्थाले आफूले निकालेझैँ गरी सञ्चारमाध्यममा प्रवाह गर्ने गरेकाले सरकारको आधिकारिक निकायका रूपमा रहेको समितिका माध्यमबाट भनिने साइतको मात्र जिम्मेवारी लिइने अध्यक्ष गौतमले सबैमा जानकारी गराएका छन् ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive