तीन दर्जनभन्दा बढी विद्यालयको खाता अझै रोक्का
दमौली, २६ असोज । जिल्ला शिक्षा कार्यालय तनहुँले गत वर्षको भौतिक पूर्वाधार कार्यक्रमअन्तर्गतको काम समयमै पूरा नगर्ने तीन दर्जनभन्दा बढी सामुदायिक विद्यालयको खाता अझै रोक्का गरेको छ ।
कार्यालयका शव इन्जिनियर शम्भु पौडेलले भौतिक पूर्वाधारको काम समयमै पूरा नगर्ने ती विद्यालयको खाता अझै रोक्का रहेको जानकारी दिनुभयो ।
असार मसान्तसम्ममा काम सकेर आउन भनिए पनि अहिलेसम्म पूर्वाधारको काम पूरा नगर्ने ती विद्यालयको खाता रोक्का गरिएको हो उहाँले भन्नुभयो ।
पुराना १० वटा र नयाँ योजना पाएका २० वटा विद्यालयले काम पूरा नगरेको उहाँले बताउनुभयो । असोज मसान्तसम्ममा काम सकेर नआउने विद्यालयका प्रधानाध्यापकको दसैँको समेत तलब रोक्का गरिने सो कार्यालयले जनाएको छ ।
गत वर्ष भौतिक पूर्वाधार कार्यक्रमका लागि सवा चार करोड रुपैयाँ बराबरको कार्यक्रम वितरण गरिएको थियो । जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले भौतिक पूर्वाधारको काम सम्पन्न नगर्ने ती विद्यालयको खाता रोक्का गरिएको जानकारी दिनुभयो ।अघिल्लो आवमा पनि भौतिक पूर्वाधार निर्माणको काम समयमै पूरा नगर्ने पाँच दर्जन बढी विद्यालयको खाता त्यसरी नै रोक्का गरिएको थियो ।
0 comments:
Post a Comment