सबै पार्टीसँग मिलेर अगाडि बढ्छु – नवनिर्वाचित प्रधानमन्त्री ओली
काठमाडौँ, २५ असोज । प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सबै पार्टीसँग मिलेर अघि बढ्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै आइतवार व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै नवनिर्वाचित प्रधानमन्त्री ओलीले सबै पार्टीसँग मिलेर सबैको साथ समर्थन जुटाएर अगाडि बढ्ने सोच बनाएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको निर्वाचनमा एमालेले संसद्को विश्वास प्राप्त गरेको बताउँदै उहाँले आफूलाई निर्वाचनमा विजयी बनाउन मतदान गर्ने एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबैलाई धन्यवाद दिनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ जिम्मेवीलाई अवसर, सम्मान र चुनौतीको रुपमा लिएको छु ।” संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र अघोषित नाकाबन्दीको कारण आपूर्ति व्यवस्थामा भइरहेको कठिनाइ समाधान गर्ने विषय प्राथमिकतामा रहेको उहाँको धारणा थियो ।
देशको विकास निर्माणलाई अगाडि बढाएर समृद्धितर्फको यात्रालाई तीव्रताका साथ अगाडि बढाउने बताउनु हुँदै नवनिर्वाचित प्रधानमन्त्री ओलीले शान्ति सुव्यवस्था कायम गर्ने र त्यससँगै विभिन्न रचनात्मक कामका साथ देशलाई अगाडि बढाउने कुरामा आफ्नो ध्यान जाने विश्वास दिलाउनुभयो । उहाँले सबैलाई सँगै लिएर जाने आफनो उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।
एमाले संसदीय दलका नेतासमेत रहनुभएका ओली व्यवस्थापिका–संसद्मा ३३८ मत प्राप्त गरी प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभएको थियो ।
0 comments:
Post a Comment