ओली प्रधानमन्त्री बनेपछि गृह जिल्लामा खुसियाली
झापा, २५ असोज । नेपालको ३८औँ प्रधानमन्त्रीमा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली निर्वाचित हुनुभएकोमा उहाँको गृहजिल्ला झापामा खुसियाली छाएको छ ।
जिल्लाका राजनीतिकर्मी, बुद्धिजीवी, व्यवसायीलगायत सर्वसाधारणले प्रधानमन्त्री ओलीसँग मुलुकले हाल सामना गरिरहेका समस्याको समाधान गर्ने क्षमता भएको विश्वास गरेका छन् ।
“झापाले पहिलोपटक देशको प्रधानमन्त्री पद पाएको छ”– अध्यक्ष ओली प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएकोमा खुसियाली प्रकट गर्दै अग्रज पत्रकार मदन ढकाल भन्नुहुन्छ– “सबैलाई मिलाएर लैजान सक्ने खुबी उहाँमा छ ।”
नयाँ संविधान कार्यान्वयन गर्नका लागि देशमा ओली प्रधानमन्त्री पदमा निर्वाचित हुनु उचित छनोट भएको उल्लेख गर्दै झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश डाल्मियाले उहाँलाई राष्ट्रियताका लागि कसैसँग नझुक्न र मुलुकलाई आर्थिक क्रान्तिको मार्गमा लैजान सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का केन्द्रीय सदस्य राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओली झापाको मात्र नभएर देशकै नेता भएको बताउँदै तराईको आन्दोलन र भारतीय नाकाबन्दीबाट उत्पन्न समस्याको समाधानमा उहाँको क्षमताको परीक्षा हुने प्रतिक्रिया दिनु भएको छ ।
लोकतान्त्रिक जनआन्दोलन २०६२÷०६३ मा सहिद भएका झापाका सुरज विश्वासका पिता शान्ति विश्वासले एमालेका अध्यक्ष ओली देशकै प्रधानमन्त्री बन्नुभएको घटनाले खुसीको सीमा नभएको जनाउँदै लोकतन्त्रप्राप्तिका विभिन्न आन्दोलनमा सहिद भएका, घाइते भएका र राजनीतिक पीडित भएका परिवारको सपना पूरा गर्न उहाँको नेतृत्व सफल बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
“देशले एउटा सबल र सक्षम नेतृत्व पाएको छ”– अधिवक्ता चन्द्रा श्रेष्ठ प्रधानमन्त्री ओलीका बारेमा भन्नुहुन्छ– “झापावासी यतिबेला गर्व र खुसीमा रमेका छन् ।” उहाँले नयाँ संविधानको कार्यान्वयनका लागि चाहिएको राष्ट्रियताप्रेमी र दूरदर्शी नेता मुलुकले पाएको बताउनुभयो ।
सङ्घीय लिम्बूवान पार्टी नेपालका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाले झापाको एउटा बासिन्दा देशको प्रधानमन्त्री भएकोमा खुसी हुनु स्वाभाविक भए पनि नयाँ सरकारले मुलुकका समस्या समाधानमा देखाउने कार्य क्षमताले नै प्रधानमन्त्री ओलीको वास्तविक मूल्याङ्कन हुने बताउनुभएको छ । उहाँले लिम्बूवान पार्टीका माग र चाहनालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने अपेक्षा गरिएको समेत बताउनुभएको छ ।
अन्तरपार्टी महिला सञ्जाल झापाकी अध्यक्ष माया गुरुङले मुलुकको स्वाभिमान र स्वाधीनताका लागि विदेशी दबाबसामू नझुक्ने नेता ओली देशको प्रधानमन्त्री बन्नुभएकोमा खुसी व्यक्त गर्दै झापावासीले आज घरघरमा दीप प्रज्ज्वलन गर्नुपर्ने बताउनुभयो ।
मधेस आन्दोलन र भारतीय नाकाबन्दीको समाधानमा विदेशीसामू नझुकी निकास खोज्न प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै उहाँले यति धेरै नागरिकले मन पराएको व्यक्ति प्रधानमन्त्री बनेको पहिलोपटक देख्न पाइएको बताउनुभएको छ ।
क्षेत्रवासीमा खुसियाली
यसैबीच, झापा क्षेत्र नं ७ बाट निर्वाचित नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि यहाँका क्षेत्रवासीमा खुसियाली छाएको छ ।
उहाँ निर्वाचित भएको खबर आएसँगै यस क्षेत्रका पार्टी कार्यकर्ता तथा सर्वसाधारणमा स्वतःस्फूर्त रुपमा खुसी छाएको छ । चौसट्ठी वर्षे नेता ओलीको साढे चारदशक लामो राजनीतिक यात्राले देशको महत्वपूर्ण कार्यकारी पदमा निर्वाचित भएकामा समग्र झापावासी खुसी देखिन्छन् ।
झापा लखनपुर–१ की अम्बिका प्याकुरेलले केपी ओलीबाट जनताले धेरै आशा गरेको बताउनुहुन्छ । उहाँले प्रधानमन्त्रीमा ओली निर्वाचित हुनु हामी क्षेत्रवासीका लागि नै खुसीको कुरा भएको बताउनुभयो ।
कुनै पनि विषयमा निर्णय गर्न नअल्मलिने छवि बोकेका दृढ स्वभावका धनी ओलीले अप्ठ्यारो अवस्थामा मुलुकको कार्यकारी नेतृत्व गर्न पुग्नु भएको सहकारीकर्मी उत्तम राई बताउनुहुन्छ ।
पछिल्लो संविधानसभा चुनावमा भोट माग्न आउँदा ओली झापा लखनपुर–१ की जानुका भट्टराईको घरमा पनि पुग्नुभएको थियो । जानुकाका पनि अरू सर्वसाधारणका जस्तै इच्छा छन् – विकास आओस्, गरिखान बिदेसिनु नपरोस् । जानुकाले अब देशमा शान्ति र विकास आउने आशा लिएको बताउनुहुन्छ । ३७ वर्षदेखि वामपन्थी राजनीतिको अग्रस्थानमा रहनुभएका ओलीका पछिल्लो अडानले मुलुकको सार्वभौमिकता माथिको खतरालाई टारेको विश्लेषण गर्ने यहाँ पनि धेरै छन् । बन्न लागेको संविधानमाथिका असन्तुष्टीमा गरिएको आन्दोलनप्रति ओली स्पष्ट हुनुहुन्छ ।
उहाँले पार्टीभित्र र बाहिर निरन्तर कडा चुनौती खेपेको उहाँलाई नजिकबाट चिन्ने एमाले झापाका सचिवालय सदस्य घनश्याम अधिकारीको बुझाइ छ ।
निष्ठा, निरन्तरता र हक्कीपना, केपी ओलीलाई चिन्नेले उहाँमा यीनै तीन चिज छन् भन्छन् । लुला र अनिर्णायक कुरा ओलीका मुखबाट सुनिँदैन तर सर्वाेच्च कार्यकारी पदले संयोजनकारी भूमिका खोज्छ । आउँदा दिनमा ओलीबाट त्यही चिजको अपेक्षा गरिएको छ । काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा देशमा अझै सहमतीय राजनीतिक यात्रा जारी राख्नुपर्ने बताउनुहुन्छ ।
“प्रधानमन्त्रीमा ओली झापावासीकै निम्ति गौरवको कुरा भएको छ”– युवा नेता शर्माले भन्नुभयो, “मुलुक अझै सङ्क्रमणकालबाट मुक्त हुन सकेको छैन, अब पनि सहमतीय राजनीतिक यात्रा कायम राख्नुपर्छ ।”
0 comments:
Post a Comment