वन्यजन्तुको छालासहित विदेशी पक्राउ
काठमाडौँ, २५ असोज । प्रहरीले वन्यजन्तुका छाला तथा अवैध सामग्री ओसारपसार गर्ने थाई नागरिक मेटान्ध लखनपियालाई पक्राउ गरेको छ ।
थाई एअरवेजको उडानद्वारा काठमाडौँबाट बैङ्कक जान लागेका पासपोर्ट नम्बर एए ४९८०९८० की लखनपियालाई प्रहरीले बाघको जस्तो देखिने छाला, वन्यजन्तुको हड्डीबाट निर्मित बाला, औँठी, माला, वनस्पति रुद्राक्षको मालासहित पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज परीक्षण क्षेत्रमा शनिबार लखनपियाको झोला चेकजाँच गर्दा पाटेबाघको जस्तो छाला एक टुक्रा, ५० थान रुद्राक्षको माला, तीन थान हातमा लगाउने बन्यजन्तुको हड्डीबाट निर्मित बाला फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै तीन थान वन्यजन्तुको हड्डी जडित औँठी, एक थान वन्यजन्तुको हड्डीबाट निर्मित घाँटीमा लगाउने माला र एक थान पाटेबाघको छालाजडित झोला प्रहरीबाट बरामद गरिएको छ । पक्राउ परेका लखनपिया थप आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा आज पठाइएको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment