Monday, October 12, 2015

बालिका बलात्कार गर्ने दुई बालकलाई कैद सजाय

इलाम, २५ असोज । नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत इलामले इभाङ–३ का दुई बालकलाई अलग–अलग कैद सजाय सुनाएको छ ।

गत जेठ १७ गते बलात्कार गरेको आरोपमा असार ६ गते प्रहरी गिरफ्तारीमा परेका १४ वर्षीय बालकलाई जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी ऐनको १, ३ (१) नम्बरबमोजिम कसुर ठहर गर्दै बालबालिका ऐन, २०४८ को दफा ११ (२) बमोजिम तीन महिना कैद र पाँच हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

सोही घटनाका अर्का आरोपी १२ वर्षीय बालकलाई पनि जबर्जस्ती करणी ऐनको सोही १, ३ (१) नम्बर बमोजिम नै कसुर ठहर गर्दै १५ दिन कैद सजायको फैसला भएको स्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो । तीनजना बालक आरोपी रहेको उक्त घटनाका अर्का १३ वर्षीय एक बालकलाई भने अदालतले अभियोग दाबीबाट सफाइ दिएको छ । कैद सजाय सुनाइएका बालकलाई यसअघि पुर्पक्षका लागि बाल सुधारगृहमा राखिएको थियो ।

यसैगरी, इलामको कोल्बुङस्थित सानो पाथीभरा मन्दिरको भेटी चोरी गरेको आरोपमा पक्राउ परेका पाँचथर भारपा–८ का ३० वर्षीय दिपेन राईलाई जिल्ला अदालत इलामले आज डेढ महिना कैद र ५५ हजार ३४३ रूपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले राईलाई चोरीको कसुर ठहर गर्दै मुलुकी ऐन चोरी महलको १५ (१) नम्बरबमोजिम उक्त सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो । दुई महिनाअघि राईले पाथीभरा मन्दिरमा रहेको २५ हजार भेटी र तीन तोला सुनचाँदी चोरी गरेका थिए ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive