पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिवमा नेपाल, टन्डन अदालत जाने
काठमाडौँ, २५ असोज । पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्यसचिव सुरेश नेपालले आइतवार पदभार ग्रहण गर्नुभएको छ ।
नेपाललाई कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपासुर शेर्पाको असोज २० गतेको मन्त्रिस्तरीय निर्णयअनुसार सदस्यसचिवमा नियुक्त गरिएको हो । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अनुसार सदस्य–सचिवको कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।
पदभार ग्रहण गर्दै सदस्यसचिव नेपालले पशुपति क्षेत्रको विकास निर्माणमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “विश्वका हिन्दूको शिरस्थलका रुपमा विख्यात पशुपतिनाथलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनका लागि लाग्नेछु, पवित्र तीर्थस्थल भईकन पनि धेरै कुरामा पछि परेको पशुपति क्षेत्रलाई आधुनिकीकरण गर्नु मेरो कार्यकालको उद्देश्य हुनेछ”–पदभार ग्रहण गरेपछि उहाँले भन्नुभयो ।
नेपाल जिल्ला विकास समिति सिन्धुपाल्चोकका पूर्वसभापति हुनुहुन्छ । यसअघिका सदस्य सचिव संस्कृतिविद् डा गोविन्द टन्डनलाई विसं २०७० असार २५ गतेको निर्णयअनुसार चार वर्षका लागि नियुक्त गरिएकामा असोज २० गतेको मन्त्रिस्तरीय निर्णयअनुसार अवकाश दिइएको छ ।
मन्त्रालयले सत्यतथ्य पेस गर्नु भनी असोज १३ गते पत्र पठाएकामा १५ गते सम्पूर्ण विवरण बुझाई व्यक्तिगत काममा बिदा लिएर नेपालबाहिर गएका बेला अवकाश दिइएको टन्डनले जानकारी दिनुभयो ।
“पशुपति क्षेत्रको विकासका लागि तलब भत्ता र गाडी सुविधासमेत नलिई काम गरेकामा मन्त्रीले खल्तीबाट झिकेको मानिस जस्तै गरी हटाएकाले न्यायको ढोका ढक्ढक्याउनेछु, जाँदाजाँदै मन्त्रीले ऐननियम विपरीत मनोनीत सातजना सदस्य हुनुपर्नेमा आठजना पु¥याएर विधि र प्रक्रियाको उल्लाङ्घन गर्नुभएको छ, यसका विरुद्ध न्याय माग्नेछु”–उहाँले भन्नुभयो । मन्त्रीले कार्यकालको अन्तिम समयमा नियमविपरीत केशवप्रसाद घिमिरेलाई सदस्यमा मनोनयन गर्नुभएको हो ।
टन्डनकै संयोजकत्वमा रहेको कोषको कार्यसम्पादन समितिले असोज १५ गतेको निर्णयअनुसार सिफारिस गरेका आधारमा कोषको कार्यकारी निर्देशकमा रमेशकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय असोज १८ गतेको सञ्चालक परिषद्को बैठकले गरेको पनि कोषले जनाएको छ ।
0 comments:
Post a Comment