Thursday, October 15, 2015

घन्टौं लाइनमा बसेर पेट्रोल नपाउँदाको पीडा समाजिक सञ्जालमार्फत पोखे सर्वसाधारणले

काठमाडौँ, २७ असोज । बजारमा देखिएको पेट्रोलियम पदार्थको चरम अभावसँगै घन्टौंसम्म लाइनमा बसेर पनि तेल नपाउँदा सर्वसाधारणमा चिन्ता थपिएको छ ।

नेपालीहरूको महान चाड दसैं भित्रिसक्दा पनि तेलको चरम अभावमा पिल्सिनु यतिखेर नेपालीको नियती बनेको छ । दसैंका अवसरमा बिगतमा विभिन्न शक्तिपीठमा देखिने भीडभाड यतिखेर पेट्रोल पम्पमा देखिन्छ भने त्यो अभावको पीडालाई विभिन्न समाजिक सञ्जालमार्फत पोख्ने गरिएको छ ।

पेट्रोल पम्पमा तेल भर्न जाँदादेखि कुर्दा र पाउँदासम्मका विषयलाई कविता तथा गीतका माध्यमबाट व्यक्त भावना यतिखेर समाजिक सञ्जालमा निकै छाएका छन् । हिजो बिहान ४ बजे ललितपुरको पुल्चोकमा तेल भर्न गएका पवन ढकालले आफ्नो फेसवकु पृष्ठमा लेख्नुभएको छ,

“चार बजेदेखि आज, लाईन बस्न आको ।

दुई बजे बल्ल तल्ल, मैले कुपन पाको ।।

दङ्ग भाछु म त त्यसै , कुपन पाउँदा पनि ।

पालो कुरि वसेको छु, पेट्रोल हाल्न भनि ।।

विहान ४ बजे लाइन बसेका ढकाल बेलुका ७ बजेसम्म पनि पेट्रोल नपाउँदाको पीडा यसरी व्यक्त गर्नुहुन्छ,

“पन्ध्र घन्टा भईसक्यो, लाइन बस्न लाको ।

अझै पनि पेट्रोल पम्पमा छैन ट्याङ्कर आको ।।

असम्भव नै हुन्छ क्या हो, आज तेल भर्न ।

जनताले छोड्छन अब, तिम्रो विश्वास गर्न ।।

लगभग २० घन्टाको कुराईपछि रातको १२ बजे मात्र आपूmले पेट्रोल पाएको ढकालले बताउनुभयो ।

ढकालजस्ता धेरै युवा यतिखेर पेट्रोलका लागि घन्टौं लाइनमा बसेका छन् भने कतिले त लाइन बसेर पनि नपाउँदा निराश बनेर फर्कन बाध्य छन् ।

यतिखेर सामाजिक सञ्जालमा दसैंको शुभकामना आदानप्रदानभन्दा पनि पेट्रोल नपाउँदाका पीडा पोखिएका छन् । ढकालजस्तै मङ्गलबार बिहान ६ बजेदेखि कुमारीपाटीमा पेट्रोलका लागि लाइनमा बसेका सुदिप मानन्धर राति ११ बजेसम्म बसेर पनि अन्ततः रित्तै फर्केको दुःखेसो गर्नुहुन्छ ।

“पेट्रोल भर्नका लागि कुपन पाउँदा सुरुमा त पाइन्छ की भन्ने लाग्यो,” उहाँले भन्नुभयो, “दिनभरी आशा गरियो रातमा रित्तै फर्कनुपर्दा निकै दुःख लाग्यो ।”

हिजो बिहान ६ बजेदेखि हलचोकस्थित सशस्त्रको पेट्रोल पम्पमा लाम लागेका काठमाडौँका रविन श्रेष्ठ पनि राती १० बजेसम्म बसेर पनि रित्तै फर्कनुपरेको बताउनुहुन्छ । उहाँका अनुसार पेट्रोल पम्पमा स्थानीयका नाममा तथा चिनेजानेका आधारमा विभेद गरिएका कारण पनि सर्वसाधारण मर्कामा परेका छन् । घन्टौंसम्म लाइनमा बस्नुपर्दा किन्ने खानेपानी तथा चाउचाउ विस्कुटमा पनि सर्वसाधारण ठगिने गरेको उहाँले बताउनुभयो ।

पेट्रोलियम पदार्थको वितरणमा हुनसक्ने अनियमिततालाई रोक्न वाणिज्य तथा आपूर्ति विभागको सहकार्यमा निगमले निरन्तर अनुगमन गरिरहेको निगमका प्रवक्ता दिपक बरालले जानकारी गराउनुभयो । पेट्रोल पम्पले सुरक्षाकर्मीको सहयोगमा उपलब्ध पेट्रोलियम पदार्थको वितरण गरिरहेका छन् ।

बरालका अनुसार बजारमा पेट्रोलियम पदार्थको माग अत्याधिक रहेको र आपूर्तिको मात्रा अत्यन्त न्युन रहेका कारण समस्या देखिएको हो । पेट्रोलियम पदार्थको मागलाई सहज बनाउन सरकारले प्रयास जारी राखेको निगमले जनाएको छ ।
वासुदेव पौडेल रासस

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive