Wednesday, October 14, 2015

कालोबजारी गर्न ल्याइएको पेट्रोल प्रहरीद्वारा नष्ट

कपिलवस्तु, २७ असोज । कपिलवस्तु प्रहरीले भारतबाट ल्याएर महँगो मूल्यमा बिक्री गर्न राखिएको ५० लिटर जति पेट्रोल नष्ट गरेको छ ।

जिल्ला प्रहरी उपरीक्षक विक्रम गुरुङको नेतृत्वमा गएको प्रहरी टोलीले आज जिल्लाको तौलिहवा बजार ४ नम्बर जितपुर र पिपरा बजारमा मिनरलवाटरमा बिक्रीका लागि राखिएको ५० लिटरभन्दा बढी नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

जिल्लाका विभिन्न ठाउँबाट आम सर्वसाधारणले कालोबजारी गर्ने गिरोहले भारतबाट पेट्रोल ल्याएर महँगो मूल्यमा बिक्री गरेको गुनासो तीव्ररूपमा गरेको हुनाले आफूहरू बजार अनुगमनमा लागेको प्रहरी उपरीक्षक विक्रम गुरुङले बताउनुभयो ।

पैंसठ्ठी दिनदेखि लगातार रूपमा मधेसी मोर्चाले गरेको बन्द र भारतले गरेको अघोषित नाकाबन्दीको मौका छोपी कपिलवस्तुमा पेट्रोलियम पदार्थमा कालोबजारी बढेको सर्वत्र रूपमा फैलिएपछि प्रहरीले यो काम गर्न आफूहरू लागेको उहाँले बताउनुभयो । उहाँले यसरी बेच्ने पेट्रोलियम पदार्थमा मिसावटसमेत भएको बताउनुभयो । कपिलवस्तुमा आजभोलि पेट्रोलियम पदार्थको कालोबजारीको कारण सर्वसाधारण बढी मूल्य तिरेर पेट्रोलियम पदार्थ किन्न बाध्य भएका छन् ।

अघोषित रूपमा भएको नाकाबन्दीले नेपाल अधिराज्यभर पेट्रोलियम पदार्थ, ग्यास र खाद्य पदार्थको चरम अभाव भइरहेको बेला कपिलवस्तु जिल्लामा भने भारतसँग जोडिएका सीमानाकाबाट दैनिकजसो नेपाली नम्बर प्लेटका सयौँ मोटरसाइकल भारतीय बजारमा पुगेर तेल भरेर ल्याउने एउटा गिरोह नै लागेको प्रहरीको बुझाइ छ ।

उनीहरूले भारतीय बजारबाट पेट्रोल र डिजल ल्याएर कपिलवस्तुका विभिन्न बजारमा खुलेआम रूपमा पेट्रोल १८० रुपैयाँदेखि २५० रुपैयाँसम्म र डिजल १६० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive