संविधान कार्यान्वयनका लागि कोइरालाको उम्मेदवारी – महामन्त्री सिंह
काठमाडौँ, २७ असोज । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन गर्न सभापतिले उम्मेदवार दिएको बताउनुभएको छ ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले मंगलवार आयोजना गरेको विजया दशमी तथा शुभदीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री सिंहले संविधानलाई कार्यान्वयन गर्न काँग्रेसले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशका ठूला परिवर्तन र संविधान निर्माण नेपाली काँग्रेसकै नेतृत्वमा भएको हो संविधानलाई कार्यान्वयन गर्न आफ्नो पार्टी दृढ छ ।” महामन्त्री सिंहले नयाँ संविधानले महिला, जनजाति, दलित, आदिवासी सबैको भावनालाई समेटेको बताउनुभयो ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धरले नेपाली काँग्रेसभित्र देखिएको ६०÷४० को भागबन्डालाई चिरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सो अवसरमा संविधान निर्माण गरेको भन्दै नेपाली काँग्रेस काठमाडौँका १५ सांसदलाई सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेमा प्रकाशमान सिंह, भीमसेनदास प्रधान, ध्यानगोविन्द रञ्जित, दीपक कुइँकेल, गगनकुमार थापा, नरहरि आचार्य, राजन केसी, कौशर शाह, राज्यलक्ष्मी श्रेष्ठ, अम्बिका बस्नेत, ओमदेवी मल्ल, मोहन राई, राधेश्याम अधिकारी र उमेश श्रेष्ठ रहनुभएको छ ।
राप्रपा नेपाल समानान्तर समितिद्वारा शुभकामना आदनप्रदान
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर समितिले विजयादशमी, नेपाल संवत्, दीपावली, छठ पर्वको अवसरमा आज चियापान तथा शुभकामना आदानप्रदान गरेको छ ।
पार्टी कार्यालय बिजुलीबजारमा आयोजना गरिएको कार्यक्रममा पार्टीका उपाध्यक्ष रमा थापाले मुलुकमा सम्पूर्ण जाति समुदायका संस्कृतिका फरकफरक मौलिकता र विशेषता रहेकाले तीनको संरक्षण गर्न खाँचो औँल्याउनुभयो ।
पार्टीका नेता सपना अर्याल र कर्णप्रखर धितालले विभिन्न जातिका मानिसको बसोबास रहेको मुलुकमा सामाजिक सद्भाव तथा सहअस्तित्व कायम गर्न विभिन्न पर्व संस्कृति तथा परम्पराले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै मुलुकमा अस्तित्वमा रहेका सबै संस्कृतिको विकासमा सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
0 comments:
Post a Comment