Sunday, October 11, 2015

भावी प्रधानसेनापतिको रोलमा होल र गोलमाल ?

काठमाडौं । नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापालाई २०७२ असोज १४ गते सरकारले रिक्त रथी पदमा बढुवा गरेपछि उनलाई भावी चीफको रुपमा चर्चा गर्न थालिएको छ । तर, २०७५ साल भदौ २४ गते नेपाली सेनाको ४३ औं प्रधानसेनापति को बन्ने भन्ने कुरा अहिले नै किटान गरेर भन्न सकिने अवस्था रहेको छैन । वर्तमान रथी बलदेवराज महत उमेर हदले २०७३ साल चैतमा अवकास पाएपछि रथी पूर्णचन्द्र थापा एक नम्बर रथी बन्नेछन् भने हालका उपरथी विनोज बस्नेत बलदेवराज महतको स्थान रिक्त स्थानमा पदोन्नति हुनेछन् ।

२०६९ चैतमा उपरथीमा बढुवा भएका विनोज बस्नेतको सैनिक ऐन २०६३ अनुसार, उपरथीकै थप हुने दुई वर्षको एक अवधि र रथीको २ बर्षको पदावधिले गर्दा विनोज बस्नेतको सम्भावनालाई पनि सैनिक अधिकृतहरूले नकार्न सकेका छैनन् । यही सैनिक ऐन र नियम २०६९ कायम रहेको खण्डमा रथीमा एकपटकको एक पदावधि थप्नका लागि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सिफारिस गरे मात्र पूर्णचन्द्र थापा र विनोज बस्नेतबीच प्रतिस्पर्धाको स्थिति रहन सक्छ । सैनिक ऐन २०६३ अनुसार रथीको दुई बर्षे कार्यकाल हुन्छ नेपाली सेनामा दोस्रो मर्यादाक्रमका लेफ्टीनेन्ट जनरलको पदावधि नथपिने परम्परा पनि रहेको छ । सोझो हिसावले भन्नुपर्दा यिनी भावी सेनापति भनेर भन्न सकिने अवस्था छैन । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०७५ भदौ २४ गते अवकास पाउनेछन् भने रथी पूर्णचन्द्र चाहिं २०७४ असोज १३ गते नै घर जाने भएपछि ४३ औं प्रधानसेनापति बन्ने अहिलेको हिसावकिताव त गोलमाल हुने देखिन्छ ।

रथीको उमेर ५८ बर्ष नपुगेर बाँकी रहेको अवस्थामा प्रधानसेनापतिले चाहेका पदावधि एक बर्ष थप्ने अधिकार प्रधानसेनापतिसँग रहेको छ । २०१७ सालको जन्ममिति भएका थापाको उमेर बाँकी हुन्छ तर, यसअघि एक बर्ष म्याद थप नभएको दृष्टान्त सेनामा छ । नेपालभूषण चन्दलगायत अन्य रथीको पनि म्याद थप नभएको इतिहास रहेको छ ।
सेनापतिको पहिलो तीरले नक्कलीलाई पीर

ठ्याक्कै एक महिनाअघि प्रधानसेनापतिमा नियुक्त भएका राजेन्द्र क्षेत्रीले सैनिक संगठनलाई सुदृढ गर्ने तथा शिक्षामुखी बनाउने अभियान बमोजिम रक्षाको सल्लाहमा संस्थालाई नक्कली सर्टिफिकेट रहित बनाउन प्रमुख सेनानीदेखि माथिका अधिकृतहरूको एस.एल.सी. माथिका सबै शैक्षिक योग्यताको प्रमाणपत्र जङ्गी अड्डाले छानबिन गर्न लागेको सैनि स्रोत बताउँछ । जुन कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्षौंदेखि भन्दै आइरहेको थियो । यो अभियानको मारमा एअरपोर्ट हवाइ विभागका सहायक रथीमा पदोन्नति हुन लागेका चालक सहायक रथीको पद रिक्त नभएकाले सोही विभागका म.से. शिवकुमार श्रेष्ठलाई जस्तै ‘मानार्थ स.र.’ दिएर बिदावारी गरिने चर्चा छ ।

सेनाका अधिकृतहरूको शैक्षिक प्रमाणपत्र छानबिन क्याम्पेनले नेपाली सेनाका विभिन्न निकायहरू बाहिनी, निर्देशनालय, हवाई विभाग, कारखानामा रहेका अधिकृतको मनमा ढ्याग्रो बज्न थालेको बताइन्छ । सैनिक हेडक्वार्टर स्रोतका अनुसार, कम्तीमा १५५ अधिकृतको नक्कली शैक्षिक प्रमाणपत्र रहेको अनुमान छ । सेनाको वर्तमान नेतृत्वको कदमले संगठनभित्र हौसला, क्षमतामा समेत अभिवृद्धि हुने विश्वास गरिदैछ ।

आर्मी हेडक्वार्टरले विगतमा सेनाको एभ्रो जहाज मर्मत गर्न खर्च भएको करोडौं रुपैयाँको बारेमा समेत अनुसन्धान हुनसक्ने सम्भावना रहेको बताइन्छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सैनिक हे.क्वा.लाई चुस्त तथा परिणाममुखी बनाउन आफ्ना कोर सल्लाहकार ग्रुपमा हालैमात्र चाइनाबाट तालिम गरेर फर्केका सहायक रथी काजी खत्रीलाई सैनिक सहायकमा, खाद्यमा महासेनानी यामु ढकाल, पीएसओमा म.से. निर्मल थापा, जनसम्पर्कमा स. र. तारा कार्की, भर्ना छनौटमा स. र. प्रभुराम शर्मा, अमेरिकाबाट एनडीसी गरेका स. र. पूर्ण सिलवाललाइ सैनिक सचिवमा, कार्यरथीमा उपरथी सुन्दरबहादुर पुडासैनी, स्टाफ कलेजको का.मु. उपरथीमा जगदीशचन्द्र पोख्रेल तथा युएनबाट फर्केका म.से.अनुप थापालाई प्रधानसेनापतिको मुख्य एडीसीमा नियुक्त गरेको थाहा भएको छ ।

– साँघु

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive