Sunday, October 11, 2015

कार्यकर्ताको कोटामा नेता विदेश

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको २०७२ फागुन २७ देखि २९ गतेसम्म नेपालगंजमा हुने नवौं महाधिवेशन आउन ६ महिनाअघि नै नेतृत्वका लागि तीव्र दौडधूप सुरु भएको छ । ट्ेरड युनियनहरूमा सबैभन्दा सशक्त संगठनको अध्यक्षको पदमा पुगेपछि देश विदेश घुम्नेदेखि स्वदेशका जिल्लामा जाँदा पाउने सानसौकत र सचिव, मुख्य सचिव र मन्त्रीहरूकै जस्तो हुन्छ । संगठनको अध्यक्षका लागि त्यही अनुसारको प्रतिस्पर्धा हुने भएको छ ।

संगठनको अध्यक्षका लागि दुई गुट स्पष्ट देखिएको छ । एमाले निकट कर्मचारी संगठन भएकाले त्यसको गुटगत छायाँ संगठनमा पनि देखिएको छ । पार्टीको महाधिवेशनमा कर्मचारीहरू संगठित भएको पेशागत महासंघबाट सतप्रतिशत मत माधव नेपालको पक्षमा गएकाले पनि संगठनमा नेपाल पक्ष मजबुत रहेको संगठनका एक केन्द्रीय सदस्य बताउँछन् । अध्यक्षका सशक्त प्रत्यासी महासचिव मोहन घिमिरे देखिएका छन् । उनी तलदेखि नै नेतृत्व गरेर आएको र गुटभन्दा संगठनका लागि खट्ने भनेर चिनिएकाले पनि नवौं महाधिवेशनमा उनी सशक्त उम्मेदवारका रुपमा चिनिएको ती केन्द्रीय सदस्यहरू दावी गर्छन् । घिमिरे समूहबाट बरिष्ठ उपाध्यक्षमा निर्विकल्प उम्मेदवारका रुपमा सिन्धु पाण्डे हुन् भने महासचिवमा रेवन्त गौतमको नाम छ । घिमिरे समूहबाट उपत्यका उपाध्यक्षमा शेखर दाहाल, मुकुन्द पराजुली, युवराज खरेल वा लेखनाथ कोइरालालाई नै निरन्तरता दिने बिषयमा छलफल भइरहेको छ ।

माधव नेपालको निकट भन्ने तर कार्यकालभरी पुण्य ढकालका गुटगत र संगठनका हितविरोधी क्रियाकलापलाई साथ दिएको भनेर घिमिरे समूहले कोइरालालाई आशंकाको दृष्टिले हेर्ने गरेको छ । तर नवौं महाधिवेशनको संघारमा उनी एकाएक ढकालको विरुद्ध बोल्न थालेपछि सो समूहबाट पनि तिरस्कृत भएका छन् । ढकाल समूहबाट तिरस्कृत भएपछि घिमिरेको समूहमा पद पाउने आशामा उनी पूर्वअध्यक्षहरूसँग हारगुहार गरिरहेका छन् । तर उनलाई उपत्यका उपाध्यक्षमै निरन्तरता दिने सवालमा पनि घिमिरे समूह सकारात्मक नभएको बताइन्छ ।

संगठनको कोटा काट्दै चीन सयर
निजामती कर्मचारी संगठनमा आवद्ध धनुषा र दोलखा जिल्लाका कर्मचारीका लागि छुट्याएको चीन भ्रमणको कोटामा संगठनका बरिष्ठ उपाध्यक्ष केदार देवकोटा आफैं घुमेर २०७२ असोज १२ गते फर्किएका छन् । कृषि विकास मन्त्रालयबाट दुई कर्मचारीका लागि आएको चीन भ्रमणको एक महिने भ्रमणको कोटामा अर्थ मन्त्रालयमा कार्यरत देवकोटा गएका थिए । अर्थमा बसेर संगठनको कोटा काटेर उनी चीन गएपछि संगठनभित्रै पनि बहसको बिषय बनेको छ ।

२०७२ भदौ २५ र २६ गते संगठनको नवौं महाधिवेशनको तयारी र नीतिगत छलफलको बैठक नै छोडेर देवकोटा चीन सयरमा रमाएका थिए । देवकोटा नभएपछि संगठनका अध्यक्ष पुण्य ढकालले बैठक रोक्न जोरजुलुम गरेका थिए । अध्यक्ष ढकालले रोक्न खोजे पनि भदौ २५ र २६ गतेको बैठकमा यसअघिको भन्दा भव्य सहभागिता भएको  थियो । अध्यक्ष ढकालले एक्लै पर्ने भएपछि देवकोटा विनाको रोक्न खोजे पनि बैठकले ब्यापक सहभागिताका साथ महत्वपूर्ण निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive