Wednesday, October 14, 2015

दोहोरिँदै भूल, दुःख भोग्दै जनता

काठमाडौँ, २७ असोज । यही अक्टोबर ३ मा अफगानिस्तानको कुन्दुज सहरमा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमण एक अस्पतालमा प¥यो । सो अस्पतालका विरामी, बिरामीका चारजना बालबालिकाका साथै स्वास्थ्यकर्मी गरी २२ जना निर्दाेष सर्वसाधारण मारिए । सेनाले भने अस्पतालमा तालिवान लुकेको भन्दै आक्रमण गरेको बताएको थियो ।

बम लागेर अस्पताल क्षतविक्षत छ र हाल सो अस्पतालबाट उपचार सेवा दिन सकिएको छैन । अस्पतालमै भएको यस हमलाको सर्वत्र निन्दा भयो । संयुक्त राष्ट्रसंघले त यस दुर्घटनाको निश्पक्ष छानबीनको माग गरेको छ । सो हवाई आक्रमण विश्व प्रसिद्ध स्वास्थ्य संस्था डाक्टरर्स विदाउट बोर्डर्स्को भगिनी संगठन ‘मेडिकल एड एजेन्सी मेडिसाँ साँ फ्रन्टियर्स् (एमएसएफ)’ द्वारा कुन्दुज प्रान्तमा सञ्चालित अस्पतालमा परेको हो ।

करिब महिनादिन अघि विदेशी संयुक्त सेनाले इराकको एक गाउमा हमला ग¥यो । त्यसमा सो गाउँका निर्दाेष १२ जना गाउँले मरे । एकै घरका र आफ्नै घर आगनमा खेलिरहेका स–साना नानीबाबुहरु त्यसको शिकार बने । सेनाले आकासबाट बर्षाएको बम के र कसका लागि थियो भन्ने थाहै नभएका ती निर्दाेश मारिदा सेनाले भूलबस सो हमला हुन पुगेको भन्यो र त्यो नरसंहार त्यसै हरायो । साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले यमनमा गरेको हवाई कारबाही एक विवाह समारोहमा परेको समाचार छ ।

यही अक्टोबर ८ मा नै साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले आकासबाट गरेको कारबाहीमा परी विवाह समारोहमा सहभागी भइरहेका कम्तीमा पनि १३ जना सर्वसाधारणको ज्यान गयो । यमनको राजधानी सानाबाट करिब १०० किलोमिटर दक्षिणमा पर्ने सानबानमा सो हमला भएको थियो ।
साँझको समयमा दर्जनौँ गाउँले विवाह समारोहमा सहभागी भई मनोरञ्जन गरिरहेका बेला यसरी सेनाले हवाई कारबाही गरेको थियो । उक्त समारोहलाई नै लक्षगरी गरिएको सो सैनिक हमलामा परी अरू पनि कैयौँ नागरिक घाइते भएका बताइएको छ । घाइते भएकामध्ये अधिकांशको अवस्था अत्यन्तै नाजुक रहेको पनि पाइएको समाचारमा जनाइएको छ । अधिकारवादीहरूले साउदी सेनाले यसअघि पनि पटकपटक यसरी निर्दाेष नागरिकमाथि नै हमला गर्ने गरेको पाइएको बताउँदै आएका छन् ।

पश्चिम एसियाली क्षेत्रमा रहेको देश अफगानिस्तान डेढ दशक बर्ष भन्दा बढी समयदेखि अशान्त रहँदै आएको छ । देशमा आतङ्ककारीलाई पराजित गरी जनताले पालिराखेको शान्तिको आकाङ्क्षा पूरा गर्न सन् २००१ देखि नै अमेरिकासँगको सहकार्यमा नेटो सेनाले अफगानिस्तानमा तालिवान आतङ्ककारी विरुद्ध लडाई लड्दै आएका छन् ।
सन् २००१ अक्टोबर ७ बाट अफगान युद्ध आरम्भ भएको थियो । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध “ट्विन टावर” मा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमण र आगलागीबाट सो टावर धराशयी भएपश्चात् सो हमलाका दोषी अल–कायदाका प्रमुख ओसामा बिन लादेनलाई खोज्न अफगानिस्तानमा अमेरिकी सेना भित्रिएको हो ।

चिकित्सालय जस्तो अत्यन्त सम्वेदनशील मानवीय सेवास्थलमा भएको यस हवाई आक्रमणको अन्तर्राष्ट्रिय जगतमा नै आलोचना भएको छ । तर सो आक्रमण भूलबस भएको भनी अफगानिस्तानका लागि अमेरिकी सुरक्षा बलका कमाण्डर जोन क्याम्पवेलले स्विकार गर्नु भएको छ । ‘एक अस्पतालमा गल्तीले हवाई आक्रमण भएको हो, हामी कहिले पनि चिकित्सालय सुविधालाई लक्षित आक्रमण गर्दैनौँ’ क्याम्पबेलले बताउनु भएको थियो ।
तर अफगगान आधिकारीहरुलगायत अन्तर्राष्ट्रिय जगतले नै यस विषयमा आपत्तिजनक रुपमा प्रश्न उठाएका छन् । के यस्तो आक्रमणको गल्ती बारम्बार दोहोरिने हो ? भूलको लागि बारम्बार माफी माग्ने र बालबालिका, विरामीलगायत निर्दोष नागरिकको ज्यान जाने क्रम जारी रहने काम रोकिएको छैन । यस्ता भूलहरु सेनाले बारम्बार गर्ने गरेका छन् र उनीहरुले भूलबस भएको भन्दै उम्किने गर्दछन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अस्पतालमा भएको यस आक्रमणको पूर्ण छानबीन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ भने संयुक्त राष्ट्रसङ्घले पनि यसलाई युद्ध अपराधको संज्ञा दिएको छ । आतङ्ककारीलाई लक्ष्यगरी गरिने सैनिक कारबाहीको रुपमा रहेको यो हवाई आक्रमणमा निर्दोष नागरिकको ज्यान जाँदा अन्तर्राष्ट्रिय जगतमा नै आलोचनाको विषय बन्न पुग्छ । यो निन्दनीय विषय पनि हुने गरेको छ ।

उता आतङ्ककारीलाई लक्ष्यगरेको भन्दै उत्तरपश्चिमी पाकिस्तानको खैबर पाख्तुनख्वा प्रान्तमा पनि बारम्बार हुने गरेको आक्रमणमा कैयौँ पटक सर्वसाधारण नागरिक मारिएका समाचारहरु आइरहन्छन् । यसै विषयलाई लिएर पाकिस्तान र अमेरिकाबीच चिसोपन समेत आउने गरेको छ । तर पाकिस्ताको खैबर, उत्तरी वाजिरिस्तान र कहिलेकाहीँ पेसावरमा पनि आकासबाट हानेको बमबाट सर्वसधारण नागरिक मारिने काम रोकिएको छैन । त्यसैगरी यमनमा पनि आतङ्ककारीलाई लक्ष्यगरी गरिने अमेरिकासंवद्ध हवाई आक्रमणमा पटक पटक नागरिक हताहत हुने गरेका छन् ।

अमेरिकासँग आवद्ध हवाई आक्रमण मात्र नभएर विश्वका अन्य देशसँग आवद्ध हवाई आक्रमणमा पनि सर्वसाधारण नागरिकको ज्यान जाने गरेको हृदय विदारक पीडा बारम्बार सुन्ने गरिन्छ । केही दिन अगाडि मात्र सिरियाको अलेप्पो प्रान्तमा भएको एक हवाई आक्रमणमा एकै परिवारका सातजना बालबालिकाको मृत्यु भएको थियो । अफगानिस्तान, पाकिस्तान, यमन र सिरियालगायतका देशहरुका यस प्रकारका हवाई आक्रमणमा निर्दोष बालबालिबाले ज्यान गुमाएको घटनाको खवर कैयाँै पटक सुनिने गरेको छ ।

हवाई आक्रमणको उद्देश्य निर्दोष बालबालिका र सर्वसाधारणको ज्यान लिने त पक्कै पनि होइन तर पनि आँखा नहुने बम र बन्दुकलाई विवेकपूर्ण प्रयोग गर्न नसक्दा यसको शिकार युद्धको नामै नसुनेका निर्दाेष नागरिक बन्नु कदापि राम्रो कुरा होइन ।

आतङ्ककारीलाई गरिने कारबाहीहरु मध्ये चालक्रहित विमान (ड्रोन) आक्रमण नै सबभन्दा प्रभावकारी कारबाही भएको अमेरिकाले दावी गर्दै आएको छ । अफगानिस्तान, पाकिस्तान, सिरिया, इराक र यमनलगायतका देशहरुमा आतङ्क मच्चाई रहेका सयौँ आतङ्ककारी यस्ता कारबाहीमा मारिने भने गरेका छन् । तालिवान, इस्लामिक स्टेट, हुथी विद्रोही जस्ता आतङ्ककारीको सञ्जालको बलियो प्रभाव यस्तै आक्रमणका माध्यमबाट मत्थर हुने गरेका पनि छन् । तर यसो हुदैमा हवाई कारबाहीलाई नै मुख्य लक्ष्य बनाउदा यसले बन्दुकको अविवेकी प्रयोग बढ्दै जाने खतरा पनि रहन्छ ।

आशा गरौँ यदाकदा हुने गरेका यस्ता अञ्जानका घटनामा आगामी दिनमा सुधार आउने छ । ठूलो सङ्ख्यामा आतङ्ककारी विनाश हुने गरेको हवाई आक्रमणलाई यदाकदा भूलबश हुन गएका केही घटनाका कारण नै गलत वा अन्यायपूर्ण ठहर्याउन पनि मिल्दैन । तर निर्दाेषले यसरी अनायासै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि भने सबै देशले सोच्नु र तुरुन्तै कार्यारम्भ गर्नु अति आवश्यक छ ।
मोहिनी मिश्र /रिसाल रासस/विभिन्न समाचार स्रोतहरू

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive