राजनेताको प्रतीक्षामा मुलुक – स्वयम्भूनाथ कार्की
सौभाग्य हो वा दुर्भाग्य हो, वर्तमानमा निवृत्त हुन लागेको पिँढीले आफ्नो जीवनकालमा धेरै परिवर्तन देख्न–भोग्न पायो । अझ भन्ने हो भने यो पिँढीलाई परिवर्तनको लत लागेको छ भने पनि फरक पर्दैन । श्री ३ को हुकुम नै कानुन हुने र त्यसको पालना राजादेखि रङ्कसम्मले गर्नुपर्ने अवस्था परिवर्तन भएर नेपालले करिब–करिब छाडातन्त्रजत्तिकैको स्वतन्त्रता उपभोग गर्यो । त्यसबेलाको अन्तरिमकालमा अनेकौँ प्रयोगहरू भए । हरेक प्रयोगसँगै सुरुमा राणा शासन हटाउन सहयोग गरेर लगाएको गुनको पुँजी लिएर भारत नेपालको सानोभन्दा सानो मामिलामा पनि थप सहयोग गर्न तत्पर भयो ।
बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा यस्तो सहयोगको चर्चा धेरै स्थानमा गरेका छन् । शासन–प्रशासनको नयाँ ढाँचाको जग राख्न भारतबाटै अधिकारीहरू बोलाइएको थियो । यस्तो भारतीय अधिकारीको राजदरबारमा पनि महत्त्वपूर्ण उपस्थिति रहने गरेको थियो । मोहनशमशेरको लेखिसकेको राजीनामा पनि रद्द गराउन सफल हुने गरेर भारतको पैठ भएको कुरा पच्न गाह्रो भए पनि बीपीले नै उल्लेख गरेका छन् । भगवान सहाय नामका राजदूतले त कार्यालयमा भेटछु भन्दा पनि नमानेर बिहान बगैँचामै आएर छोरीसँग खेलिरहेका प्रधानमन्त्रीलाई पत्रिकामा छापिएको लेखको आक्रोश पोखेका छन् ।
त्यसपछिको परिवर्तन कालमा भने सहयोग गर्ने मित्रराष्ट्र केवल भारत मात्र रहेन । निश्चय नै अरू मित्रहरू पनि नेपालको सहयोगमा रुचि लिने भएपछि आन्तरिक मामिलामा भारतबाट गरिने सहयोगको मात्रा घटेको पाइन्छ । तर, यो मात्रा फेरि अर्को परिवर्तनपछि पहिलेको भन्दा बढेर गएको अवस्था पनि यो पिँढीले देख्न–भोग्न पाएको छ । अति सर्वत्र बर्जियत भनेझैँ वर्तमानमा भारतको चासो र चिन्ता नेपालीका निमित्त भारी हुँदै गएको छ । राणा, सङ्क्रमण, बहुदलीय प्रजातन्त्र, पञ्चायत, पुन: बहुदलीय प्रजातन्त्रमा रहेको स–सानो कुरामा पनि सहयोगको प्रवृत्ति कहिले कम र कहिले ज्यादा भएको थियो । त्यसपछिको सङ्क्रमणमा नेपाली नेतृत्वले खुलेरै भारतको सदाशयताबेगर नेपालमा केही हुन पनि सम्भव छैन भन्न थाले ।
यही सङ्क्रमणकालमा नेपालको इतिहासलाई संशोधन गर्ने गरेर केही बुद्धिजीवी अनि नेताहरूले नेपाल अर्धउपनिवेश हो सम्म पनि भन्न थाले । समय परिस्थितिले कुनै कुरामा केही मानेर अरू कुरामा केही लाभ लिएका उदाहरण विश्वभर पाइन्छन् । त्यस अवस्थालाई अहिले व्याख्या गर्नेगरेझैँ उपनिवेश भनिँदैन । लिच्छविकालमा स्रोङचङ गम्पोसँग भृकुटीको विवाह गर्दा पराजयले स्वतन्त्रताको मोल तिर्न नपरोस् भनेर लिइएको कदम थियो, अर्धउपनिवेश होइन । नेपाल हमेसा स्वतन्त्र रह्यो भन्ने कुरालाई गणतन्त्र सुरु हुने सङ्क्रमणकालमा अर्धउपनिवेश हो भनेर भनियो ।
यस कुराले चोट पुर्याएको नेपालीको आत्मबलको कारण नै हो कि संविधानसभाले गणतान्त्रिक संविधान दिनेबित्तिकै उपनिवेश भएकोजस्तो अनुभूति गर्न नेपाली बाध्य छन् । लागू भएको संविधानको सुतक पनि नसकिँदै संशोधनको प्रस्ताव जाँदै छ भन्ने खबर सुन्नुपरेको छ । चाहे संशोधन होस् वा नहोस् कसैको कुनै कुरा नसुनेर नियम परिवर्तन गरेर ल्याएको संविधान कमजोर रहेछ भन्ने उदाहरण हो यो ।संविधान कमजोर, नेतृत्व विवश, बुद्धिजीवी विकल्पहीन जनता उद्वेलित अवस्था एक मुलुकको निमित्त जीवन संरक्षण प्रणालीमा (भ्यान्टिलेटर) राखिएको बिरामीसरह हो । यस अवस्थामा हुने सानोभन्दा सानो चुक पनि बिमारीको इहलीला समाप्त गर्ने हुन्छ । यस्तो अवस्थामा बिमारीलाई अतिकुशल चिकित्सकको आवश्यकता हुन्छ भने मुलुकलाई एक राजनेताको । मुुलुकलाई अहिले प्रतीक्षा छ त्यस्तो राजनेताको जो आफ्नो जीवनको, साखको पर्वाह नगरी मृत्युको पनि भय नराखी मुलुकको उद्धार गर्न अग्रसर होस् ।
यत्रो परिवर्तनहरूको साक्षी भएको वर्तमान पिँढीले के त्यस्तो राजनेता आफ्नै जीवनकालमा देख्न–पाउला त ? भनिन्छ सास छउन्जेल आश हुन्छ, त्यसैले सकारात्मक सोच राखेर आफ्नै जीवनकालमा फेरि अर्को राजनेताको प्रतीक्षा यो पिँढीले गर्दै छ । जुरेको छ वा छैन त्यो त भविष्यले बताउला, इतिहासमा यस्तै महासङ्कटले नै विश्व हल्लाउने राजनेता पैदा गरेको छ । के नेपालले मात्र नपाउला त ?
0 comments:
Post a Comment