नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई पूरा सहयोग हुन्छ – सभापति कोइराला
काठमाडौँ, २५ असोज । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो तर्फबाट पूर्ण सहयोग हुने बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्मा आइतवार प्रधानमन्त्रीको निर्वाचन भएलगत्तै बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहँुदै निवर्तमान प्रधानमन्त्री कोइरालाले निर्वाचनमा भएको आफ्नो हारलाई प्रजातान्त्रिक अभ्यास भन्नुभयो ।
राजनीतिमा आफूले हारजित खेप्दै आएको बताउनुहुँदै उहाँले बहुदलीय प्रजातन्त्रमा हारजित सामान्य कुरा भएको धारणा व्यक्त गर्नुभयो ।
प्रजातान्त्रिक प्रणालीअनुसार निर्वाचनमा भाग लिएकोमा आफूलाई गर्व महसुस भएको बताउँदै उहाँले यसअघि दलबीच भएको भद्र सहमति र १६ बुँदे सहमतिको कुनै उल्लङ्घन नभएको स्पष्ट पार्दै राजनीतिमा सबैले इमान्दार हुनुपर्ने जिकिर गर्नुभयो ।
अब पार्टीको भूमिका के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा काँग्रेस संसदीय दलका नेतासमेत रहनुभएका कोइरालाले त्यसबारेमा पार्टीमा छलफल हुने जानकारी दिँदै मधेसमा भइरहेको आन्दोलनको समाधान गर्नुपर्ने बताउनुभयो ।
आन्दोलनको निकासका लागि वार्ताको सुरुवात भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले हिमाल, पहाड र तराई सबैलाई एक बनाएर लैजानुपर्ने बताउनुभयो ।
मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका लागि काँग्रेसले पहलकदमी लिएको बताउँदै उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि आफू उभिएको र त्यो निरन्तर हुने विश्वास दिलाउनुभयो ।
व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीका लागि आइतवार भएको निर्वाचनमा नेकपा (एमाले) अध्यक्ष एवम् संसदीय दलका नेता ओली ३३८ मत प्राप्त गरी प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो भने निवर्तमान प्रधानमन्त्री कोइरालाले २४९ मत प्राप्त गर्नुभएको थियो ।
0 comments:
Post a Comment