Wednesday, October 14, 2015

आन्दोलनका कार्यक्रम यथावत – मोर्चा

काठमाडौँ, २७ असोज । गत दुई महिनादेखि तराईमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना कार्यक्रमहरु निरन्तर जारी राख्ने बताएको छ।

दशैं जस्ता चाडबाडमा सर्वसाधारणलाई पर्ने असरलाई विचार गरी बन्द अवरोधका कार्यक्रम फिर्ता लिन दबाब बढिरहेको भनिएको बेला मोर्चाका नेताहरुले तत्काल आफ्ना कार्यक्रम फिर्ता नहुने बताए।

संसदमा प्रधानमन्त्रीको चुनावी प्रकृयामा सहभागी हुन आएपछिको परिस्थिति र धेरै नेपालीहरुको चाड बडा दशैं शुरु भइसकेको अवस्थामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मंगलबार दिंउसो बसेको बैठकले आन्दोलनको स्वरुप परिवर्तन गर्ने खबरहरु बाहिर आएका थिए। तर बैठक लगत्तै आयोजित पत्रकार सम्मेलनमा उनीहरुले उक्त कुरालाई अस्वीकार गरे।

मोर्चामा रहेको एक प्रमुख पार्टी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, “जबसम्म मधेसी, आदिवासी, जनजाती लगायतका जनताले अधिकार पाउँदैनन् र संवैधानिक रुपले त्यो अधिकारलाई सम्बोधन गरिंदैन या प्रतिगमनलाई सच्याइँदैन, यो आन्दोलन जारी रहन्छ। अझ बढी सशक्त रुपमा अगाडी बढ्छ।”

पत्रकार सम्मेलनमा धेरैको प्रश्न दशैंमा आन्दोलन खुकुलो हुन्छ वा हुंदैन भन्नेमा नै केन्द्रित देखिएको थियो। जसको जवाफमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने, “जनताबाट त्यो माग आएपछि हामी विचार गर्नेछौं। आन्दोलनकारीहरुले पनि त दशैं मनाएको छैन नी।”

नयाँ सरकारले वार्ताको लागि आह्वान गरेपनि औपचारिक जानकारी नभएकोले आफुहरु वार्ताका लागि प्रतिक्षारत रहेको मोर्चाले बताएको छ।
नयाँ सरकार गठन भएसंगै प्रधानमन्त्री केपी ओलीले आफु मधेस विरोधी नभएको बताएका थिए। सोमबार सरकारले आन्दोलनकारीहरुलाई वार्तामा आउन आह्वान गरेको थियो। तर अध्यक्ष ठाकुरले आफुहरुलाई त्यस्तो वार्ता प्रस्ताव औपचारिक रुपमा नआएको पनि बताए।

यद्यपि आफैंले विरोध गरेको संविधान अन्तर्गत भएको प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएकोमा मोर्चाभित्रै असन्तुष्टी चर्किएको छ भने चाडको बेला आन्दोलनलाई खुकुलो बनाउनुपर्ने मागपनि कतिपयबाट आएको बताइएको छ।
बीबीसी

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive