देशले दुई वर्षभित्रमा ऊर्जामा फड्को मार्ने – डा वाग्ले
रुपन्देही, २४ असोज । राष्ट्रिय योजना आयोगका सदस्य डा स्वर्णिम वाग्लेले नेपालमा जलविद्युत् योजनाहरूको काम सरकारी र निजी क्षेत्रबाट धमाधम भइरहेकाले दुई वर्षभित्रमा नेपालले ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने बताउनुभएको छ ।
उहाँले सरकारी र निजी क्षेत्र दुवैबाट ऊर्जा उत्पादनका लागि लगानी भइरहेकाले अब ऊर्जाकै कारण नेपालको भविष्य बन्ने भन्दै ऊर्जा विकासको काम निजी क्षेत्रले निकै राम्रोसँग गरेको बताउनुभयो ।
उहाँले पञ्चायतकालयता ८०० मेगावाट विद्युत् थप भएकोमा अबको दुई वर्षमा १२ सय मेगावाट बिजुली थपिने बताउनुभयो । रुपन्देही उद्योग सङ्घको बुटवलमा भएको ३७औँ साधारणसभा तथा १९औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा वाग्लेले यस्तो बताउनुभएको हो ।
“अब निराश हुनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो – “दुई वर्षपछि नेपाल एउटा समुन्नत राष्ट्र हुनेछ ।” उहाँले निजी क्षेत्रले विशिष्टीकृत खालको उद्योगमा लगानी बढाउनुपर्ने बताउनुभयो उहाँले एउटै उद्योगबाट सबै काम गर्छु भनेर सोच्न नहुने बताउँदै एकअर्कामा परिपूरक भएर उत्पादन गरेमा धेरै सामान उत्पादन गर्न सकिने बताउनुभयो ।उहाँले कृषि, पर्यटन र सेवामूलक उद्योगका लागि लुम्बिनी क्षेत्र निकै राम्रो देखिएको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका केन्द्रीय उपाध्यक्ष वासुदेव गोल्यानले आर्थिक समृद्धिका लागि स्पष्ट औद्योगिक नीति र ऐनहरूको आवश्यकता रहेको बताउनुभयो । संविधान आएपछि उद्योग फस्टाउने अपेक्षा गरिएको समयमा भूकम्प र संविधानपछिको आन्दोलनले उद्योगहरू जर्जर अवस्थामा पुगेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका केन्द्रीय सदस्य एजाज आलमले नेपालका उद्योगधन्दाका निम्ति सोचिदिने राजनीतिक दल र सरकार नहुँदा भएका उद्योगधन्दा पनि बन्द हुने अवस्थामा पुगेको बताउनुभयो ।
उद्योग सङ्घको अधिवेशनसमेत भएकाले केही पदमा शनिबार मतदानसमेत भएको छ । सङ्घको अध्यक्षमा दिनेशराज रेग्मी निर्विरोध निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष, सचिव र केही सदस्य पदमा मतदान हुने भएको छ । उद्योग सङ्घमा कुल ८९० मतदाता रहेका छन् ।
0 comments:
Post a Comment