वामदेवका मान्छेले माओवादी च्यापेपछि…..!
काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमनिकट व्यक्तिहरू कस्ता छन् भन्ने कुरा एकपछि अर्को गर्दै खुल्दै जान थालेको छ । वामदेवका नाममा पार्टीमा स्थान बनाएका वा सरकारमा पुगेका व्यक्तिहरू धमाधम बेइज्जतीपूर्ण बहिर्गमनमा पर्न थालेपछि वामदेवका छनोटका बारेमा गम्भीर प्रश्न उठ्न थालेको छ ।
वामदेवकै कोटाबाट कृषिमन्त्री बन्न सफल भएका हरिप्रसाद पराजुली महिलामाथि यौनजन्य व्यवहार गरेका कारण मन्त्रीबाट हात धुन बाध्य हुनुपरेको केही महिना बित्न नपाउँदै वामदेवकै कोटाबाट ऊर्जामन्त्री बनेकी राधा ज्ञवाली भ्रष्टाचारको आरोपमा बर्खास्त भएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलु करिडोर प्रसारण लाइनको ठेक्का प्रकरणमा ऊर्जामन्त्रीलाई दोषी ठहर गर्दै प्रधानमन्त्रीलाई कारबाही गर्न दबाब दिएको थियो । प्रधानमन्त्रीले उनलाई राजीनामा गर्न दबाब दिए पनि त्यसको अवज्ञा गरेपछि उनी बर्खास्तगीमा परेकी हुन् ।
पुलिसमा जागिर लगाइदिने नाममा एक लाख घुस लिँदालिँदै रंगेहात पक्राउ परेका एमालेका तत्कालीन सभासद् डीबी कार्की पनि वामदेवकै कोटरीका मान्छे थिए । रंगेहात पक्राउ परेपछि उनलाई बचाउने वामदेवको प्रयास असफल भएको थियो र पार्टीले कार्कीलाई सभासद्बाट निलम्बन गरेको थियो । वामदेव निकटका अन्य कतिपय व्यक्तिहरू पनि समाजमा राम्रो छवि भएका व्यक्तिका रुपमा गनिँदैनन् । प्रमाणितै नभए पनि उनीहरूका कर्तुतहरूका बारेमा समाजमा हुने अनौपचारिक टीका–टिप्पणीहरूले उनीहरूका आचरणका बारेमा प्रस्ट पार्छन् ।
उपप्रधान तथा गृहमन्त्रीमा ह्याट्रिक गर्ने अवसर पाएका गौतमले प्रत्येक पटकको आगमनमा केही न केही भाँडभैलो मच्चाउने गरेका छन् । कहिले अवैधानिक रुपमा आईजी हटाउने, कहिले एउटा इन्स्पेक्टरलाई डीआईजीमा ठाडै पदोन्नति गर्ने त कहिले आफूमातहतको संगठनलाई नै कमजोर पार्नेगरी निर्णय गर्ने काम उनले गर्दै आएका छन् । ‘वामदेवको राजमा नियम कानून चाहिँदैन’ भन्ने कुरालाई उनले स्थापित गरिदिएका छन् । अहिले आएर नेपाल प्रहरीको अधिकारलाई कटौती गरी अभियुक्त पक्राउ गर्ने जिम्मा सशस्त्रलाई सुम्पिएपछि प्रहरीमै उनी झनै विवादित र अलोकप्रिय बन्न पुगे ।
वामदेव गौतमसँग राम्रा मान्छे अटाउन सक्दैनन् भन्ने कुरा पनि प्रमाणित जस्तै भएको छ । कुनै बेला घनश्याम भुसाल (हाल पार्टीका उपमहासचिव), योगेश भट्टराई (हाल सचिव), रामकुमारी झाँक्री, ठाकुर गैरे, गणेश पहाडीजस्ता थुप्रै बोनाफाइट नेता–कार्यकर्ता उनको समूहमा थिए तर तिनले वामदेवलाई छोड्न बाध्य हुनुपरेको छ । वामदेव शक्तिमा नभएर उनीहरूले वामदेवलाई छोडेका पक्कै पनि थिएनन् किन कि उनी अहिले पनि पार्टीको उपाध्यक्ष र एमालेका तर्फबाट सरकारको नेतृत्व गरिरहेका छन् ।
वामदेवलाई पार्टीकै र पार्टीइतरका अवसरवादी व्यक्तिहरूले घेरेकै कारणले असल नेता–कार्यकर्ता उनीसँग अटाउन नसकेको स्पष्ट छ । वामदेवसँग अहिले पनि सानो झुण्ड छ तर त्यो अनैतिक र अवसरवादीहरूको झुण्डबाहेक केही होइन भन्ने कुरा त्यहाँ देख्न पाइने अनुहारहरू हेर्दा स्पष्ट हुन्छ । होटलमा महिलासँग रंगेहात पक्राउ परेका, भ्रष्टाचारमा कारबाही भोगेका र एमाले कार्यकर्तालाई भन्दा माओवादी र कांग्ेरसलाई च्यापेर हिँड्नेहरूको नै त्यहाँ बोलवाला रहने गरेको छ । उनी शक्तिबाट हट्नेबित्तिकै त्यो झुण्डले उपियाँले छाडेझैं उनलाई छाड्ने निश्चित छ । त्यस्तो भएपछि पार्टीका असल नेता–कार्यकर्ता बदनाम हुने डरले पनि गृह मन्त्रालय वा गृह क्वार्टरमा जान त्यति रुचि राख्दैनन् ।
वामदेवको गृहजिल्लाकै कुरा गर्ने हो भने पनि अहिले पार्टीभित्र वामदेवविरोधी माहौल सिर्जना हुँदै गएको छ । वामदेवका नाममा बाहिरका अवसरवादीहरूले फाइदा लिने र बर्दियाली एमाले कार्यकर्ता सधैं पीडितको पीडित नै बन्नुपर्ने अवस्था आएपछि त्यस्तो स्थिति सिर्जना भएको हो । यस्तो अवस्थाले समग्र पार्टीलाई नै नोक्सान पुर्याउने काम गरिरहेको छ ।
अहिले आएर वामदेवको समूहबाट माओवादी कार्यकर्तालाई बर्दिया–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बनाउने व्यापक तयारी भइरहेको गुनासो छ । माओवादी कार्यकर्ता भरत सुवेदीलाई अध्यक्ष बनाउने तयारी भएको हो ।सुवेदीलाई मञ्चको अध्यक्ष बनाउने भित्री खेलमा वामदेवकै पुत्र हरिशदेव गौतम र वामदेवको समूहका केही व्यक्तिहरू लागेको स्रोतको भनाइ छ । यस कामको नेतृत्व एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा सभासद् निर्मल सुवेदीले गरिरहेको स्रोतले दाबी गर्यो ।
मञ्चमा आफूअनुकूल नेतृत्व स्थापित गराउनका लागि सभासद् सुवेदीले सम्पर्क मन्चका इमान्दार कार्यकर्तालाई पाखा लगाएर माओवादी कार्यकर्तालाई अगाडि सारेको गुनासो छ । नाताले भरत सभासद् सुवेदीका भतिजा हुन् । बर्दियामा अलोकप्रिय रहेका सुवेदी वामदेवको निगाहबाटै सभासद् बन्न सफल भएका व्यक्ति हुन् ।उपाध्यक्ष गौतमको पदको दुरुपयोग गर्दै कसैलाई जागिर लगाइदिने, कसैलाई विदेश पठाइदिने भन्दै मञ्चका कार्यकर्तालाई प्रलोभन दिने काम समेत भइरहेको थाहा भएको छ । आफैं केन्द्रीय अनुशासन आयोगको सदस्य भएर अनुशासनहीन काम गर्दै हिँडेको आरोप लागेका उनलाई पार्टीबाट कारबाही गरिनुपर्ने माग बर्दियालीको छ । बर्दियाका पुराना एमाले कार्यकर्ता भएपनि भरत विभिन्न समयमा अन्य पार्टीका विभिन्न जनवर्गीय संगठनहरू चाहार्दै हिँडेका व्यक्ति हुन् । लामो समय हिंसाको राजनीति गर्दै आएको माओवादी शान्तिपूर्ण बाटोमा आएपछि भरत माओवादीतिर लागेका थिए । एमालेको नक्कल गर्दै ०६४ सालतिर माओवादीले निर्माण गरेको बर्दिया–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चको कार्यसमितिमा रहेर भरतले काम गरेका थिए । ‘भरत एमाओवादीको तत्कालीन बर्दिया–काठमाडौं गणतान्त्रिक मञ्चको कार्यसमितिका एक सदस्य थिए’– गणतान्त्रिक मञ्चका तत्कालीन एक पदाधिकारीले भने– ‘एमाओवादी विभाजनपछि उनी वैद्य माओवादीतिर लागे भन्ने सुनिएको हो ।’
वैद्य माओवादीमा उनी गणतान्त्रिक सम्पर्क मञ्चका विभिन्न पदमा रहेर काम गरेका थिए भने भरत माओवादीको भ्रातृ संगठन नेवा: राज्य समितिमा समेत डीसीएम रहेका थिए । लामो समय काठमाडौंमै रहे पनि भरत यसअघि एमालेको सम्पर्क मञ्चमा देखिएका थिएनन् । एक महिनाअघि मात्र एमाले सम्पर्क मञ्चमा जोडिन आएका उनको मञ्चको नेतृत्व दाबीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । काका निर्मल सुवेदीले बोकेका कारण भरतले एकाएक मञ्चको अध्यक्ष दाबी गर्ने हैसियत बनाएको सम्पर्कका धेरैको बुझाइ छ ।
0 comments:
Post a Comment