एकान्तकुमारीलाई आज कुमारी घर भित्र्याइयो, तलेजु जात्रा सुरु
भक्तपुर, २६ असोज । जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी जेनिशा शाक्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवम् तलेजु जात्रा सुरु भएको छ ।
घटस्थापनादेखि दसैँभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई आज तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका– ३ क्वाठण्डौस्थित कुमारी घरमा विराजमान गराई पूजा गरिएको हो ।
तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । यो अवधिमा टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीको समेत तलेजु ल्याएर पूजा गरिन्छ ।
कुमारीलाई आजै दरबारस्क्वायरस्थित चर्तुब्रह्म महाविहारमा लगेर पूजा गरी पुनः कुमारी घरमा लगेर विराजमान गराएपछि आजैदेखि दशमीसम्म कुमारीको पूजा गर्न सर्वसाधारण आउने तलेजुका मूल नाइके जोशीले बताउनुभयो ।
त्यसैगरी नेपालकै मूल तलेजुमा बैद्धिक एवम् तान्त्रिक पद्धतिअनुसार पूजा गरी दसैँघरमा जमरा राखिएको छ । राजा हरिसिंहदेव र देवलदेवीले नेपाल सम्वत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा सुरु भएको हो ।
घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ ।
तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बलि दिई कालरात्रि गरी जात्रा मनाइने तलेजुका मूल नाइके जोशीले बताउनुभयो ।
तलेजुमा मूल पुरोहितले मांसाहुति होम सम्पन्न गरेपछि तलेजुमा बलि दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराई जात्रा मनाउने परम्परा रहेको छ ।
विगत तीन वर्षदेखि पञ्चायन निर्णायक समितिले तुलजा यात्राको साइत दिन रोकेकामा यसवर्ष भने सप्तमीको दिन बिहान ७ बजेर ३५ मिनेटमा साइत दिएको जोशीले बताउनुभयो ।
0 comments:
Post a Comment