Monday, October 12, 2015

कैदीले बाँसका मुढा बेचेर दसैँका लागि घर खर्च पठाउन थाले

दमौली, २५ असोज । तनहुँ कारागारका कैदीबन्दीले बाँसका मुढा बिक्री गरेर जम्मा भएको रकम दसैँका लागि घर खर्च पठाउन थालेका छन् ।

कारागारमा रहेका ५० भन्दा बढी कैदीबन्दीले मुढा बेचेर आएको रकम दसैँका लागि घर खर्च पठाउन थालेका हुन् । बन्दीका चौकीदार प्रेम परियारले कैदीबन्दीले मुढा बेचेर आएको रकम दसैँका लागि घर खर्च पठाउन थालेको बताउनुभयो । प्रत्येक कैदीले रु चार हजारदेखि रु पाँच हजारसम्म घर खर्च पठाउन थालेका हुन् उहाँले भन्नुभयो ।

कारागारका प्रमुख तीर्थनाथ खनालले पनि कैदीबन्दीले मुढा बेचेर दसैँका लागि घरखर्च पठाउन सुरु गरेको जानकारी दिनुभयो ।कैदीहरु भुलबहादुर थापा, टीकाराम विक, हुमानसिंह थापा, सन्तबहादुर भट्ट, मनबहादुर घर्ती, वीरबहादुर विकलगायतका कैदीबन्दीले मुढा बेचेर राम्रो आम्दानी गर्दै आएको कारागारले जनाएको छ ।

कैदीहरुका ठेकेदार गोविन्द सेढाईंले मुढा बेचेर बर्सेनि रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । कैदीले बुनेका मुढा खरिद गरी उहाँले बजारमा पठाउने गर्नुहुन्छ ।

पोखरा, बागलुङ, दमौली, भिमाद, खैरेनीटार, बेँसीसहर, गोरखालगायतका बजारमा मुढा राम्रो बिक्री हुने गरेको कारागारका प्रमुख खनालले बताउनुभयो ।

हेर्दा पनि आकर्षकका साथै टिकाउ र गुणस्तरीय भएकाले कैदीबन्दीले बुनेका मुढाको माग अत्यधिक रहेको बताइएको छ । बाँस, दुई लाइनको रड, धागो, टायर, इनामेललगायतका सामग्री मुढा बुन्नका लागि प्रयोग गरिने कैदीहरु बताउँछन् ।

न्यूनतम रु २३५ देखि रु ५५० सम्ममा मुढा बिक्री हुने गरेको र कैदीले अर्डर बमोजिम बुनेका टी टेबुल एक हजारदेखि रु दुई हजार ५०० सम्म र डाइनिङ टेबल रु आठदेखि रु १२ हजारसम्ममा बेच्दै आएका छन् ।

भूकम्प गएपछि सामान अभावका कारण मुढा कम उत्पादन भई मागअनुसार पु¥याउन नसकिएको बन्दीका चौकीदार परियारको भनाइ छ । कारागारभित्रकै केही कैदीले जाल र नाम्लोसमेत बुन्ने गरेको चौकीदार परियारले बताउनुभयो । गतवर्ष पनि तनहुँ कारागारका कैदीबन्दीले दसैँका लागि घर खर्च पठाएका थिए ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive