सभामुख तथा उपसभामुखद्वारा राजीनामा
काठमाडौँ, २७ असोज । व्यवस्थापिका–संसद्का सभामुख सुवास नेम्बाङ र उपसभामुख ओनसरी घर्तीले आजदेखि लागू हुनेगरी आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
‘नेपालको संविधानको धारा २९९ को कार्यान्वयन गर्न सहज होस्’ भनी उहाँहरुले लिखितरुपमा राजीनामा दिनुभएको हो । संसद् सचिवालयद्वारा आयोजित कार्यक्रममा सभामुख नेम्बाङले उपसभामुख ओन्सरी र उपसभामुख ओन्सरीले सभामुख नेम्बाङसमक्ष आ–आफ्नो पदबाट दिनुभएको राजीनामा पेस गर्नुभयो ।
ती दुवै राजीनामापत्र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको थियो । संविधानअनुसार नयाँ सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया व्यवस्थापिका–संसद्को बैठकमा आजैदेखि सुरु हुँदैछ । संविधान कर्यान्वयन भएको २० दिनभित्र ती पदको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ ।
व्यवस्थापिका–संसद्को आज बस्ने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नुहुने छ । सभामुख नेम्बाङले दिनुभएको राजीनामा पत्रमा ‘सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधिहरुले ऐतिहासिक संविधानसभामार्फत जारी गरेको नेपालको संविधान कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ’ उल्लेख छ ।
सो पत्रमा ‘व्यवस्थापिका–संसद्को बैठकबाट नेपालको संविधानको धारा २९८ बमोजिम सम्पूर्ण राजनीतिक दलको उपस्थिति र सहभागितामा निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयनको ठोस र महत्वपूर्ण सुरुवात भइसकेको सन्दर्भमा संविधानको धारा २९९ को कार्यान्वयन गर्न सहज होस् भनी आजैदेखि लागू हुनेगरी व्यवस्थापिका–संसद्को सभामुखको पदबाट लिखित राजीनामा पेस गरेको छु’ भनिएको छ ।
संविधानसभाको अध्यक्ष तथा व्यवस्थापिका–संसद्को सभामुखको महत्वपूर्ण जिम्मेवारीमा रही संविधान निर्माण, कानुन निर्माण, पारदर्शिता तथा जवाफदेहिताको सुनिश्चितता गर्ने कार्यको नेतृत्व गरी देश र जनताको सेवा गर्ने अवसरका लागि नेपाली जनता, विभिन्न राजनीतिक दल, सांसद तथा संसद्मा कार्यरत कर्मचारीलाई आभार प्रकट गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
0 comments:
Post a Comment