Monday, October 12, 2015

जमानीमा छुटेका कमलनयनाचार्यका सहयोगी फेरि पक्राउ

चितवन, २५ असोज । चितवन राष्ट्रिय निकुञ्जको वन अतिक्रमण र अवैधानिक रुपमा निकुञ्जको वन क्षेत्रमा भौतिक निर्माण गरेको आरोपमा पक्राउ परी तारेखमा छुटेका स्वामी कमलनयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई पुनःनियन्त्रणमा लिइएको छ ।

तारेखमा अनियमितता भएकाले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको चितवन निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो ।

“तारेखमा उपस्थित हुनेगरी छाडिएको थियो तर नियमित भएन, कहिले आउने, कहिले नआउने, पाँच÷छ दिन गुजारेर आउने गर्न थालेपछि हिरासतमै राखिएको हो”– पौडेलले भन्नुभयो ।

अनुसन्धान प्रक्रिया चलिरहेका बेला साउनमा चितवनकी सांसद गीता वाग्लेको जिम्मा जमानीमा स्वामी कमलनयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई छाडिएको थियो ।

बिरामी भएकाले आवश्यक परेका खण्डमा ल्याउन भनी निकुञ्जले पठाएको थियो । नवलपरासीबाट पक्राउ गरी उनलाई पहिलो पटक चितवन निकुञ्जले असार २९ गते हिरासतमा ल्याइएको थियो ।

निकुञ्जका सूचना अधिकारी टीकाराम पौडेलले निकुञ्जको पश्चिम सेक्टर त्रिवेणीधामस्थित गजग्राह क्षेत्रमा ऐनविपरीत भौतिक संरचना निर्माण गरेको र वन फँडानी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रको भू–भाग पर्ने उक्त संरक्षित क्षेत्रमा मठमन्दिर, गोठ तथा बाटोघाटो निर्माण र वन फँडानी गर्न रोक छ ।

पटक पटक सो क्षेत्रमा भौतिक निर्माण नगर्न पत्राचार र चेतावनी दिँदादिँदै पनि नमानेकाले पक्राउ गरी कानुनी कारबाही सुरु गरिएको निकुञ्जले जनाएको छ । उनलाई निकुञ्ज ऐन–२०२९ अनुसार अनुसन्धान थालिएको निकुञ्जको भनाइ छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive